‘हामीले आँसु झारेपछि कार्यक्रम सफल हुन्छ’

काठमाण्डु टुडे २०७० असोज २० गते ४:०० मा प्रकाशित

बाँके, २० असोज । द्वन्द्वपीडितलाई न्याय दिलाउन सहयोग पुर्‍याउने उद्देश्य राखी आयोजना गरिने गोष्ठी, अन्तक्र्रियालगायतका औपचारिक कार्यक्रम द्वन्द्वपीडितका लागि नै थप पीडादायक बन्न पुगेको छ । बाँकेका सरकारी तथा गैरसरकारी निकायले पटक—पटक आयोजना गर्ने कार्यक्रममा सहभागी बनाइएका बेपत्ता परिवारका सदस्य तथा द्वन्द्वपीडित यस्तै पीडाबाट गुज्रिनुपरेको अवस्था सिर्जना हुने गरेको छ ।

सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका आफ्ना श्रीमान्, छोराछोरीलगायत परिवारका सदस्य फर्कने आश गरेकाहरु अहिले त्यस्ता कार्यक्रममा सञ्चार माध्यम र सरोकारवालाका लागि आकर्षकको केन्द्रबिन्दुमा त रहन्छन्, तर उनीहरुको पीडामा मल्हम भने लाग्न सकेको पाइँदैन । ‘हामीले आँसु झारेपछि आयोजकको कार्यक्रम सफल हुन्छ, तर हामीले भने न्याय पाउन सकेका छैनौं’, एक द्वन्द्वपीडित महिलाको रोदन थियो । कतिपय कार्यक्रममा आफ्नो पीडा पोख्ने क्रममा द्वन्द्वपीडित भक्कानो छाडेर रुने र बेहोस हुने गर्दछन्, तर उनीहरुको यो अवस्था फोटो खिच्ने र समाचार लेख्नेका लागि राम्रो ‘खुराक’ मात्र हुने गरेको छ ।

कार्यक्रममा सहभागी भएका द्वन्द्वपीडितले आयोजकलाई नै प्रश्न गर्छन्, ‘द्वन्द्वपीडितका लागि भनी आयोजना गरिने कार्यक्रमहरु हाम्रा लागि घाउ कोट्याउने ठाउँमात्र किन बन्छ, के हाम्रो नियति कार्यक्रममा आएर तपार्इंहरुका लागि ‘डलर’ कमाउने माध्यममात्र बन्नु हो ?’    द्वन्द्वपीडितले आफ्नो पीडा जति सुनाए पनि ‘द्वन्द्वपीडितको न्यायका लागि’ भनी गरिने त्यस्ता कार्यक्रमहरु औपचारिकतामा मात्र सीमित हुने गरेको छ भन्दा दुईमत नहोला । किनभने, जबसम्म द्वन्द्वपीडितका लागि राज्य जिम्मेवार हँुदैन उनीहरुले अरुबाट सहयोग र न्याय पाउँछन् भन्ने अपेक्षा गर्नु पनि त्यति सान्दर्भिक नहोला । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us