
काठमाण्डु– ठूला दलका अधिकांश शीर्ष नेताले संविधानसभा निर्वाचनमा प्रत्यक्षमा उम्मेदवार दिएका बेला साना दलका शीर्ष नेताले भने समानुपातिक रोजेका छन् ।
तीन ठूला दल एकीकृत माओवादी, कांग्रेस र एमालेबाट समानुपातिकमा लड्ने केन्द्रीयस्तरका नेताको संख्या न्यून छ । राप्रपा अध्यक्ष सूर्यबहादुर थापा र राप्रपा नेपालका अध्यक्ष कमल थापा समानुपातिकमा गएका छन् । यसअघि काठमाण्डु ५ र मकवानपुर १ बाट चुनाव लड्ने बताउँदै आएका राप्रपा नेपालका अध्यक्ष थापाले उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिन मात्र समानुपातिकमा जाने निर्णय लिएका थिए । थापा उठ्ने भनिएको क्षेत्रमा राजाराम श्रेष्ठले उम्मेदवारी दिएका छन् । ८७ वर्षीय राप्रपा अध्यक्ष थापा उमेरका कारण समानुपातिकतर्फ नेताहरूको दाबी छ । उनी अघिल्लो संविधानसभा निर्वाचनमा धनकुटा–२ बाट
चुनाव लडेर एकीकृत माओवादीका हेमराज भण्डारीसँग पराजित भएका थिए । सो क्षेत्रमा यसपटक अमेरिकाबाट फर्किएका थापा पुत्र सुनीलले उम्मेदवारी दिएका छन् ।
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पनि समानुपातिकमा उम्मेदवारी दिएका छन् । उनी अघिल्लो संविधानसभा चुनावमा एमालेका तर्फबाट उम्मेदवार रहेका उनी उदयपुर– १ बाट पराजित भएका थिए । यस्तै, उपाध्यक्ष विजय सुब्बा, महासचिव राजेन्द्र श्रेष्ठ, उपमहासचिव राधा तिमिल्सिना, सचिवहरू मीना गुरुङ, डीबी नेपाल, धीरेन्द्रबहादुर श्रेष्ठ, केन्द्रीय सल्लाहकार समिति सभापति प्रा. डा. मंगलसिद्धि मानन्धर, केन्द्रीय अनुशासन समिति सभापति रणध्वज कन्दङ्वा, स्थायी समिति सदस्य आङदेन्डी शेर्पाको नाम समानुपातिक सूचीमा राखिएको छ ।
यस्तै, संघीय समाजवादीका हेमराज राई, गोपाल ठाकुर, दुर्गामणि देवान, वीरबहादुर लामा, दानबहादुर विश्वकर्मा, नोर्साङ शेर्पा, महेन्द्र थापामगर, कृष्णबहादुर घ:जू, जुद्ध ढाक्रे, नवीन रोकामगर, मानबहादुर राई, रमेश राई, सुरेन्द्र थापामगरलगायतको नाम पनि समानुपातिकमा छ । ‘पार्टीका शीर्षस्थ नेताको नाम समानुपातिकमा समावेश गरिएको छ । केही पदाधिकारी प्रत्यक्षतर्फ पनि उठेका छन्,’ महासचिव श्रेष्ठले भने ।
प्रत्यक्षतर्फ तीनजना मात्रै शीर्ष नेता मैदानमा देखिएका छन् । उपाध्यक्ष रकम चेम्जोङ धनकुटा–१ र अर्का उपाध्यक्ष रिजवान अन्सारीले सर्लाही–२ तथा सचिव अजम्बर काङमाङ राईले भोजपुर–१ बाट प्रतिस्पर्धा गर्दै छन् ।
नेकपा मालेका महासचिव सिपी मैनाली यसपटक पनि समानुपातिकमा गएका छन् । उनी झापा–२ बाट समानुपातिकमा सिफारिस भएका छन् । अघिल्लो संविधानसभामा समानुपातिकतर्फ एक सिट पाएको परिवार दलका अध्यक्ष एकनाथ ढकाल यसपटक पनि समानुपातिकमै गएका छन् । तर, उनको दलले भने दुई सय ४० वटै क्षेत्रमा प्रत्यक्षमा उम्मेदवारी दिएको छ । ‘देशव्यापी रूपमा निर्वाचन परिचालन गर्न मैले समानुपातिकमा जाने निर्णय गरेको हुँ,’ ढकालले भने, ‘पार्टीका साथीहरूको सल्लाहबमोजिम यस्तो निर्णय भएको हो ।’
यसैगरी अघिल्लो संविधानसभामा एक सिट ल्याएको समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले पनि समानुपातिकमा उम्मेदवारी दिएका छन् । संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको सिफारिस समानुपातिकबाटै भएको छ । उनको पार्टीले देशव्यापी रूपमा प्रत्यक्षमा उम्मेदवारी दिएको छ । अघिल्लो निर्वाचनमा भने केसी बाग्लुङ–१ बाट २१ हजार २ सय ९४ मत ल्याएर विजयी भएका थिए ।
लोकतान्त्रिक फोरमका महासचिव जितेन्द्र देव पनि समानुपातिकमै गएका छन् । लोकतान्त्रिक फोरमले शुक्रबार पार्टीबाट तीन सय ३४ जनाको बन्दसूची निर्वाचन आयोगमा पठाएको छ । फोरम उपाध्यक्ष नरिर सिद्धिकी पनि समानुपातिकमै गएका छन् । ‘पार्टीले गरेको निर्णयअनुसार मेरो नाम समानुपातिकबाट सिफारिस भएको हो,’ महासचिव देवले भने ।
यस्तै, फोरम नेपालले भरतविमल यादव र अर्जुन थापाको नाम समानुपातिकमा सिफारिस गरेको छ । सद्भावना पार्टीले सह–अध्यक्ष लक्ष्मणलाल कर्ण र महासचिव मनीष सुमनको नाम समानुपातिकमा सिफारिस गरेको छ ।