सिरियाली शरणार्थीलाई १७ मुलुक शरण दिन सहमत

काठमाण्डु टुडे २०७० असोज १६ गते १७:१६ मा प्रकाशित

बेरुत, १६ असोज–अमेरिका, फ्रान्स, अस्ट्रेलियासहित १७ मुलुक सिरियामा रक्तपातपूर्ण सङ्घर्षबाट भागेका शरणार्थीलाई कोटा उपलब्ध गराउन सहमत भएका छन ।
संयुक्त राष्ट्र सङ्घ शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयका अनुसार हालसम्म सिरिया पुनस्र्थापना÷मानवीय स्वीकार कार्यक्रमको प्रयासमा उच्चायुक्तको कार्यालयले १७ मुलुकबाट सहमति प्राप्त गरेको छ ।
सो संस्थाका क्षेत्रीय प्रवक्ता पिटर केसलरले यी मुलुकले सन् २०१४ का लागि केही कार्यक्रममा १० हजार व्यक्तिलाई शरण दिन प्रस्ताव राखेको बताए । सिरियाबाट करिब २० लाख जनता शरण लिन बाध्य भएको अवस्थामा केही पश्चिमी मुलुकले यसको बोझ बोक्न अस्वीकार गरेको भनी आलोचना आएपछि यो निर्णय आएको हो ।
हालसम्म सिरियाका छिमेकी लेबनान, टर्की, जोर्डन तथा इराकले सिरियाली शरणार्थीको ठूलो भाग लिएका छन् तर त्यहाँ शरणार्थीको भीडका कारण स्रोतको आपूर्तिमा समस्या उत्पन्न भएको छ र यसका कारण तनाव देखिएको छ ।
हाल लेबनानले औपचारिक रुपमा सात लाख ६० हजार शरणार्थी धानेको छ र उसले निकै समस्या भोगेको अनुमान गरिएको छ । लेबनानको आफ्नै जनसङ्ख्या ४० लाख रहेको छ र यहाँ पुगेका सिरियाली शरणार्थीको वास्तविक सङ्ख्या १० लाख भएको अनुमान गरिएको छ ।
केसलरले हाल सिरियाली शरणार्थीको सङ्ख्या २१ लाख भन्दा बढी भएको बताए । उनले  समुद्रपारिका मुलुकमा पुनस्र्थापना महत्वपूर्ण भए पनि दश हजार निकै थोरै सङ्ख्या भएको बताए । उनले यस सहमतिअनुसार उच्चायुक्तको कार्यालयले यी १७ मुलुकमा पुनस्र्थापना गर्ने शरणार्थीहरूको मूल्याङ्कन गर्ने र सबैभन्दा बढी प्रभावितलाई प्राथमिकता दिइने बताए ।
प्रभावित हुनसक्ने अवस्थामा, अशक्तपना, एकल परिवार तथा यौनजन्य तथा अन्य प्रकारका दुव्र्यवहारबाट पीडित व्यक्ति पर्ने उनले बताए । कुन मुलुकले कति शरणार्थी लिने भन्ने निर्णय नभए पनि फ्रान्सले एक हजार दुई सय शरणार्थी लिने उल्लेख छ ।
सिरियामा सन् २०११ को मार्च महिनामा सरकारविरोधी प्रदर्शन आरम्भ भएको हो र हालसम्म यहाँ भएका हिंसामा एक लाख १५ हजार व्यक्तिको मृत्यु भएको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us