चुनावको टिकटले मुख्य दलमा असन्तुष्टि

काठमाण्डु टुडे २०७० असोज १६ गते ६:५५ मा प्रकाशित

काठमाण्डु, १६ असोज–आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट बाँड्न शुरु भएसँगै मुख्य दलहरुभित्र असन्तुष्टि बढेको छ । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेभित्र असन्तुष्टि बढेको हो । पार्टीले टिकट नदिएको भन्दै कतिपयले वागी उम्मेदवार घोषणा समेत गरिसकेका छन् ।

रसुवामा एकीकृत नेकपा माओवादी जिल्ला पार्टीले ईन्द्र गौतमलाई सिफारिस गरे पनि केन्द्रले प्रेम तामाङलाई टिकट दिएको भन्दै असन्तुष्टि बढेको छ । यसअघिको संविधानसभामा तामाङले चुनाव जिते पनि जिल्ला पार्टीले यसपाली गौतमको नाम सिफारिस गरेको थियो । तर, डा. बाबुराम भट्टराईको दवावमा तामाङलाई नै टिकट दिइएको स्रोत बताउँछ । सिफारिसमा नपरेको व्यक्तिलाई टिकट दिइएकोमा असन्तुष्टि जनाउँदै गौतमले वागी उम्मेदवार दिने घोषणा गरेका छन् ।

पर्सामा नायीका रेखा थापा, उर्मिला अर्याल लगायत नवप्रवेशीलाई टिकट दिन लागेको भन्दै स्थानीय एमाओवादी कार्यकर्ताहरुले विरोध जनाएका छन् । उनीहरुले वीरगन्जमा पत्रकार सम्मेलन गरी निर्णय सच्याउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । एमाओवादीले पर्सा क्षेत्र नम्बर १ मा नायीका रेखा थापा, क्षेत्रनम्बर ५ मा एमालेबाट प्रवेश गरेकी उर्मीला अर्याल र क्षेत्रनम्बर ४ मा प्रल्हाद गिरीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

सिराहा क्षेत्रनम्बर ५ बाट चुनाव लड्न लागेका एमाओवादी अध्यक्ष प्रचण्डलाई हराउने भन्दै मातृका यादव नेतृत्वको माओवादीका नेता जगत यादवले आफूले उम्मेदवारी दिने घोषणा गरेका छन् । चुनाव बहिस्कारको घोषणा गरेको ३३ दलीय मोर्चामा आबद्ध घटकको नेताले चुनाव लड्ने बताएपछि यादवले जगतलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

काँग्रेसमा पनि विवाद

तनहुँ क्षेत्र नम्बर २ बाट काँग्रेस उपसभापति रामचन्द्र पौडेल विरुद्ध तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले वागी उम्मेदवारी दिने घोषणा गरेका छन् । गुरुङले बिहीबार जिल्ला निर्वाचन कार्यालयमा स्वतन्त्र उम्मेदवारी दिने बताए ।

रोल्पा क्षेत्र नम्बर २ भीम कुमारी बुढाको सट्टा अर्को उम्मेदवार उठाउन स्थानीय काँग्रेस नेताहरुले माग गरेका छन् । काँग्रेस रोल्पाका सचिव झक्कुप्रसाद घर्ति र क्षेत्रीय सभापति खड्कबहादुर खत्रीले संयुक्तरुपमा विज्ञप्ति निकालेर बुढालाई जनताले नरुचाएकाले अर्को उम्मेदवार बनाउन माग गरेका हुन् । उनीहरुले निर्णय नसच्याए सचिव घर्तिलाई स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी दिएका छन् ।

यसअघि जिल्लाले अमरसिं पुन, खगेन्द्र हमाल र भीम कुमारी बुढामध्ये एकजनालाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा काँग्रेसले बुढालाई टिकट दिएको बताइएको छ ।

कपिलवस्तुका अतहर कमाललाई टिकट नदिएको भन्दै क्षेत्र नम्बर २ का काँग्रेस कार्यकर्ताहरुले कार्यालयमा रहेका पदाधिकारीका ८ वटा नेमप्लेट र दुईवटा कुर्सी जलाएका छन् । कमालको जित निश्चित हुँदाहुँदै पनि षड्यन्त्र गरेर पूर्व जिल्ला सभापति राजेश आचार्यलाई टिकट दिने तयारी गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।  निर्णय सच्याउन माग गर्दै प्लेकार्ड लिएर नेता कार्यकर्ता जिल्ला पार्टी कार्यालयमा तालावन्दी गरी धर्नामा बसेका छन् ।

कैलालीमा टिकट वितरण न्यायसंगत नभएको भन्दै असन्तुष्ट काँग्रेस कार्यकताले क्षेत्र नम्बर १ स्थित कार्यालयमा तालावन्दी गरेका छन् । फकिरसिंह कठायतले टिकट पाउनुपर्ने माग उनीहरुको छ । सो क्षेत्रबाट केन्द्रले रणबहादुर रावललाई टिकट दिने भएको छ ।

काठमाण्डु क्षेत्रनम्बर ४ मा काँग्रेस युवा नेता गगन थापालाई टिकट दिइएको भन्दै नेतृ सुप्रभा घिमिरेले आपत्ति जनाएकी छन् । अघिल्लो चुनावमा सो क्षेत्रबाट आफूले चुनाव जितेकोले यसपाली पनि आफूलाई नै टिकट दिन उनले माग गर्दै आएकी छन् ।

चितवन क्षेत्र नम्बर ३ मा काँग्रेस नेता विकास कोइरालालाई टिकट नदिएको भन्दै उनका समर्थकहरुले विरोध जारी राखेका छन् । जिल्लाले कोइरालालाई सिफारिस गरे पनि भिमबहादुर श्रेष्ठलाई टिकट दिइएकोमा उनीहरु रुष्ट छन् ।

एमालेमा पनि उस्तै

काठमाण्डु क्षेत्रनम्बर १ मा टिकट नपाएपछि पूर्वउपमेयर तथा कानुनविद विदुर मैनालीले विद्रोह गर्ने चेतावनी दिएका छन् । अघिल्लो संविधानसभा चुनावमा काठमाण्डुका १० वटै क्षेत्रमा हारेको एमालेले यसपाली १ नम्बर क्षेत्रमा अभिनेता भुवन केसीलाई टिकट दिएको छ । केसी राप्रपा नेपालमा प्रवेश गर्न खोजेपछि उनैलाई टिकट दिइएको हो । केसीलाई टिकट दिइएको विरोधमा क्षेत्रीय सभापति भानुभक्त घिमिरे, उपाध्यक्ष कृष्ण खरेललगायतका २९ जनाले क्षेत्रीय समितिबाट राजीनामा दिएका छन्।

काठमाण्डुकै क्षेत्रनम्बर १० मा रामकृष्ण दुवाललाई उम्मेदवार बनाउन खोजिए पनि नेता माधव नेपालको दवावमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाइएको छ । यसबाट दुवालपक्ष असन्तुष्ट छ । एमाओवादीले काठमाण्डु १० बाट अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको छ ।

सप्तरी जिल्ला कमिटीले गरेको सिफारिस र अञ्चल कमिटीले गरेको अनुमोदन विपरित केन्द्रीय कमिटिले उम्मेदवारहरुको नाम परिवर्तन गरेको भन्दै एमाले कार्यकर्ता विरोधमा उत्रिएका छन्। एमाले सप्तरी जिल्ला कमिटीले अध्यक्ष झलनाथ खनाललाई ध्यानाकर्षण पत्र पठाएको छ । सप्तरी जिल्ला अध्यक्ष गोविन्द न्यौपाने लगायत पदाधिकारी, जिल्ला कमिटिका २६ सदस्य, राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य लगायतले सिफारिस अनुसार उम्मेदवार छनौट नभए राजीनामा दिने चेतावनीसमेत दिएका छन् ।

सिन्धुपाल्चोकको क्षेत्रनम्बर १ मा अरुण नेपाललाई उम्मेदवार बनाइएको भन्दै असन्तुष्टि बढेको छ । सो क्षेत्रबाट चरेस नेपालले उम्मेदवारमा दावी गर्दै आएका थिए । अरुण र चरेस नातेदार हुन् ।

चितवन क्षेत्र नम्बर–१ बाट पोलिट्ब्युरो सदस्य सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाइएको विरोधमा वागी उम्मेदवारी घोषणा भएको छ । चितवनका एमाले नेता जागृतप्रसाद भेटवालले मंगलबार पार्टीको  आधिकारिक उम्मेदवारविरुद्ध आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । एमाले चितवन क्षेत्र नम्बर–१ ले पत्रकार सम्मेलनमार्फत् आफूहरुको आधिकारिक उम्मेदवार भेटवाल भएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us