कारबम बिष्फोटबाट बग्दादमा ५० जनाको मृत्यु

काठमाण्डु टुडे २०७० असोज १५ गते ७:५५ मा प्रकाशित

बग्दाद, १५ असोज–इराकको राजधानी बग्दादमा सिया मुसलमान समूहको बढी प्रभाव रहेको क्षेत्रमा सोमबार भएका कारबम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।
यस आक्रमणमा एकसय ४० भन्दा बढी व्यक्ति घाइते भएको सुरक्षा स्रोतले मङ्गलबार जनाएको छ । विभिन्न अस्पतालमा घाइतेको उपचार जारी रहेको छ ।
राजधानी बग्दाद र उत्तरी इराकका ११ वटा क्षेत्रमा कारबम विस्फोट गराइएको बताइएको छ । ती विस्फोट घातक एवम् शक्तिशाली रहेका पनि समाचारमा उल्लेख छ ।
उत्तरी इराकको काधिमियाह क्षेत्रमा भएको दुईवटा कारबम आक्रमण कम्तीमा नौं व्यक्तिको मृत्यु हुनुको साथै अन्य १९ व्यक्तिको मृत्यु भएको थियो ।
नौवटा विभिन्न इलाकामा भएको सो कारबम विस्फोटमा ६ वटा सिया र दुईवटा सुन्नी मुसलमानको इलाका भएको पनि समाचारमा जनाइएको छ । सयुक्तराज्य अमेरिकाले सोमबार भएको यस आक्रमणको घोर निन्दा गर्दै सो आक्रमण  कायरतापूर्ण भएको पनि बताएको छ ।
यो आक्रमण दक्षिणी बग्दादको एक मस्जिदमा भइरहेको एक अन्त्येष्टि समारोहलाई लक्ष्यगरी गरिएको थियो । सो आक्रमणमा ४७ व्यक्तिले ज्यान गुमाएका  थिए  ।
गत सेप्टेम्बर २३ का दिनमा सुन्नी मुसलमान समुदायको अन्त्येष्टि भइरहेको स्थानमा गरिएको एक आक्रमणमा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको थियो । यसैगरी एक दिन अगाडि पनि यस्तै अन्त्येष्टि समारोहमा गरिएको आक्रमणमा १२ व्यक्तिको मृत्यु भएको थियो ।
इराकमा सेप्टेम्बर महिनामा मात्र भएका शङ्खलावद्ध आक्रमणमा ८७० भन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले प्रकाशन गरेको एक तथ्याङ्कमा जनाइएको छ ।
त्यसैगरी यस वर्षको सुरुदेखि हालसम्म इराकमा भएका बमलगायतका विभिन्न आक्रमणमा चार हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us