अपहरित पोलिस फोटोपत्रकार भागेर घर पुगे

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते १२:५५ मा प्रकाशित

वार्साव, १४ कात्तिक– सिरियामा गत जुलाईमा अपहरणमा परेका फोटोपत्रकार मार्चिन सुडेर अपहरणकारीबाट भागेर घर फर्केका पोलिस विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ । मार्चिन सुडेर घर फर्किसकेका विदेश मन्त्रालय अधिकारी राडोस्ल सुर्कोसि ट्वीटरमार्फत जानकारी दिनुभएको समाचारमा उल्लेख छ ।

‘उनी भाग्यमानी थिए, उनले भाग्ने बन्दोबस्त मिलाउन सफल भए’ विदेश मन्त्रालयका प्रवक्ता मार्चिन वोज्चिएचोउकीले एएफपीलाई बताएको छ । सुडेर ३४ वर्षीय स्वतन्त्र फोटो पत्रकार हुन् । उनलाई गत जुलाई २४ का दिनमा सिरियाको उत्तरपश्चिम प्रान्त इद्लिबाट बन्दुकधारीहरूले अपहरण गरेका थिए ।

यस अपहरणको कुनै कारण प्रष्ट नभएको र अपहरणका कुनै पनि समूहले जिम्मेवारीे नलिएको पनि समाचारमा प्रष्ट पारिएको छ । अन्तर्राष्ट्रिय प्रेस मानवअधिकार समाचारदाताका अनुसार सिरिया विश्वकै तुलनामा पत्रकारको लागि अत्यन्त खतरनाक मुलुक हो ।

सिरियामा सन् २०११ को मार्चबाट सुरु भएको जनआन्दोलनको क्रममा कम्तीमा २६ पत्रकारको मृत्यु भईसकेको समाचारमा उल्लेख छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us