
काठमाण्डु, १३ कात्तिक–भारत आन्ध्र प्रदेशको महबूबनगर जिल्लामा बुधबार विहान बसमा आगो लाग्दा ४० जनाको मृत्यु भएको छ । हैदरावाद जाँदै गरेको बसमा महबूबनगरको कोथाकोटा इलाकामा विहान पाँच बजे आगो लागेको हो ।
जिल्ला प्रहरी प्रमुख डी नागेन्द्र कुमारले बसमा सवार ४० जनाको जलेर मृत्यु भएको पुष्टि गरेका छन् । बस चालक र हेल्पर भने बसबाट बाहिर निस्केर बाँच्न सफल भएका छन् । बसमा कति यात्रु सवार थिए भन्ने एकिन भैसकेको छैन । ट्राभल एजेन्सीसँग बसका सबै यात्रुहरुको विवरण मगाएर यात्रुहरुको संख्या एकिन गर्ने काम भैरहेको छ । यात्रुहरु विहानपख सुतिरहेकोबेला बसमा आगो लागेको बताइएको छ ।
सडक किनारको कल्भर्टमा बसको इन्धन ट्याङ्की ठोक्किएपछि आगो लाग्न शुरु भएको अनुमान गरिएको छ । जलेका शवहरुलाई हैदरावादस्थित सरकारी अस्पतालमा राखिएको छ ।