काँग्रेस–एमालेको आमसभामा स्रोता एउटै वक्ता फरक

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ६:५० मा प्रकाशित

बेनी–काँग्रेस–एमालेले केन्द्रमा आफना बरिष्ठ नेताहरुलाई जिताउन गठबन्धन बनाए थिए,अव स्थानीयस्तरमा पनि एउटै मञ्चमा भाषण गर्न थालेका छन् ।
म्याग्दीको निस्कोटमा नेपाली काँग्रेस र नेकपा (एमाले)ले सोमबार एकै मञ्च प्रयोग गरेर चुनावी सभा सम्पन्न गरेका हुन् । दिउँसो १ बजेदेखि सुरु भएको

एमालेको आमसभा सम्पन्न भएपछि नेपाली काँग्रेसले पनि सोही मञ्चमा कार्यक्रम गरेको नेकपा (एमाले)का एरिया इञ्चार्ज मोतीराज गौतमले जानकारी दिए । मञ्च बनाउन सामान जुटाउने काम एमालेका कार्यकर्ताले गरेका थिए भने मञ्च भत्काएर सामान थन्क्याउने काम काँग्रेस कार्यकर्ताले गरेका थिए ।
“दिउँसो हाम्रो कार्यक्रम सम्पन्न भयो, त्यसपछि नेपाली काँग्रेसको टोलीले सोही मञ्चमा कार्यक्रम ग¥यो”, गौतमले भने “सबै गाउँलेले हाम्रा र काँग्रेसका उम्मेदवारलगायत नेताहरुको विचार सुन्नुभयो । कार्यक्रम सौहार्द्रपूर्वक रुपमा सम्पन्न भएको छ ।” प्रतिस्पर्धी दलहरुबीच चुनावी कार्यतालिका जुधेपछि पालैपालो आमसभा सम्पन्न गर्ने सहमति गरिएको हो । एमालेका नेताहरुले भाषण गरेर हिडेपछि काँग्रेसका नेताहरु आएर भाषण गरेका थिए । एमालेका नेताहरुले भाषण गरुन्जेल काँग्रेसका वक्ताहरु स्थानीय गाउँलेको घरमा बसेका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका उम्मेदवार खम्बिर गर्बुजाले सात वटा प्रदेश बनाउने, सबैको पहिचान हुने, संविधान सुनिश्चित गर्ने, देशमा शान्ति सुरक्षा र समृद्धिका लागि सबैलाई समेटेर अगाडि बढ्ने र ७५ जिल्लाको भौगोलिक सीमाङ्कन नटुक्रिने गरी सङ्घीय राज्य स्थापना गरिने बताएका थिए ।

यस्तै नेकपा (एमाले)का उम्मेदवार नवराज शर्माले संविधान निर्माणमा जिल्लाको प्रतिनिधिको रुपमा इमानदार भएर खटिने, म्याग्दीको विकासका लागि सिंहदरबार र जिल्लाको पुलका रुपमा काम गर्ने प्रतिबद्धता जनाएका थिए । चुनाव प्रचारका क्रममा प्रतिस्पर्धी दलहरुबीच कुटपिट र झडपका घटना भएका समाचारहरु सार्वजनिक भइरहेका बेला म्याग्दीमा भने दुई वटा दलले एकै मञ्च प्रयोग गरेर चुनावी सभा सम्पन्न गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us