राउटे युवतीमाथि दुर्व्यवहार गर्ने युवा दैलेखमा पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ १८ गते १२:२२ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– प्रहरीले राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने एक युवालाई दैलेखबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठविस नगरपालिका दैलेखका तपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिएका छन ।

केही दिन अगाडी गुडिरहेको ट्रकमा चार जना युवतीलाई राखेर ती युवाले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए ।

सोही भिडियोको आधारमा उनलाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख बरालले जानकारी दिएका छन । इलाका प्रहरी कार्यालय राकम कर्णालीको टोलीलाई तपेन्द्रलाई नियन्त्रणमा लिएको र थप विवरण आउन बाँकी नै रहेको दैलेख प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि सुर्खेत पठाइने प्रहरीले जानकारी दिएको छ ।

केही दिन अघि ‘घर्ती जगत’ नाम भएका फेसबुक प्रयोगकर्ताले १५ सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए । भिडियो सार्वजनिक गर्दै ‘समाजमा के सन्देश जान्छ, पक्कै राम्रो हैन रु’ भन्दै भिडियो सार्वजनिक गरिएको थियो ।

त्यसपछि प्रहरीले भिडियो सार्वजनिक गर्ने व्यक्तिको खोजी थालेको थियो । चार जना राउटे युवतीको बिचमा बसेका तपेन्द्रले गलत हर्कत गरिरहेको भिडियो क्लिपमा देख्न सकिन्छ ।

अँगालोमा हालेर ताजा ताजा भनेपछि राउटे युवतीहरूले असहज मानिरहेको भिडियोमा देखिन्छ । भिडियो भाइरले गराउने बहानामा अनावश्यक दुःख दिने र अश्लील हर्कतले राउटे युवतीहरू असुरक्षित बनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us