धान काट्दै भोट माग्दै पूर्वउपसभामुख

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ४:०० मा प्रकाशित

कञ्चनपुर, १२ कात्तिक–अर्काे संविधानसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारले धान काट्दै भोट मागेका छन् ।

नेकपा एमालेबाट कञ्चनपुर क्षेत्र नं ३ का उम्मेदवार नरबहादुर धामीले सोमबार सुडा गाविसका स्थानीय कृषकको धान काट्दै आफूलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरेको एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्टले जानकारी दिए । सचिव विष्टका अनुसार उम्मेदवार धामीले चुनावी प्रचारप्रसारका क्रममा सुडास्थित सुनौलो शिविरमा धान काटेका हुन् ।

धामी नेतृत्वमा पूर्वउपसभामुख भोजराज जोशी, जिल्ला कमिटी सदस्य लालबहादुर खड्कालगायत नेता पनि सहभागी थिए । उम्मेदवारसहितका एमाले नेताहरु एकाक्सि खेतमा आउँदा खेतधनीहरु अचम्म परेका थिए । खेतधनी राम सार्कीले भने, ‘म खेतमा धान काट्दै थिएँ, एक्कासि १०–१२ जनाको हुल आयो, नमस्कार हामी नेकपा एमालेका उम्मेदवारसहित आएका छौं, हामी पनि तपाईंलाई धान काटेर सहयोग गर्छौं भन्दै मेरो एक कट्ठाको धान काटिदियो ।’ धान काट्दाकाट्दै उम्मेदवारलाई आफूले पछि चिनेको सार्कीले बताए ।

आचारसंहिता उल्लङ्घन

कन्चनपुरका राजनीतिक दलले निर्वाचन आयोगको आग्रहलाई लत्याउँदै आचारसंहिता उल्लङ्घन गरेका छन् । दलहरुले आयोगको आचारसंहिता विपरीत जिल्लाका विभिन्न स्थानमा चुनावी कार्यक्रम तथा प्रचारप्रसार गरेका छन् ।

सार्वजनिकस्थलमा उम्मेदवारको तस्बिरसहितको चुनाव चिह्न अङ्कित पर्चा पम्प्लेट टाँस्न नपाउने प्रावधान भए पनि राजनीतिक दलले त्यो प्रावधानलाई लत्याउँदै सार्वजनिक स्थलमै पर्चा पम्प्लेट टाँसेका छन् । प्रमुख दाबेदारका रुपमा रहेका एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले), अखण्ड सुदूरपश्चिम, नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टीलगायतले आचारसंहिता उल्लङ्घन गर्दै जिल्लाका विभिन्न सार्वजनिक स्थानमा प्रचारप्रसार सामग्री टाँसेका हुन् ।

मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले त्यस क्षेत्र अनुगमन गरी चाँडै सम्बन्धित पार्टीलाई पर्चा पम्प्लेट हटाउन लगाइने बताए । उनका अनुसार निर्वाचन आयोगको कार्यतालिका अनुसार दलहरुलाई पहिले सुझाव दिने र नमाने दण्डसमेत गरिनेछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us