विप्लवका विश्वासपात्र रामदीप भन्छन्: प्रचण्ड निशाना नम्बर १

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते २:१३ मा प्रकाशित

रामदीप आचार्य मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य हुन् । १० वर्षे सशस्त्र जनयुद्धताका सैन्य फाँटको समेत अनुभव सम्हालेका उनी विद्यार्थी आन्दोलनमा चिनिएका व्यक्ति हुन् । खरो स्वभावका आचार्य पार्टीभित्र ‘हार्डलाइनर’ मानिने सचिव नेत्रविक्रम चन्दका ‘विप्लव’विश्वासपात्र हुन् । उनै आचार्यसँग काठमाण्डु टुडेले संविधानसभा निर्वाचन बहिस्कार अभियान, देशव्यापी रुपमा उम्मेदवारहरु र चुनावी प्रचार टोलीमाथि भइरहेका आक्रमण र नेकपा–माओवादीको भावी योजनाका बारेमा लामो संवाद गरेको छ । प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंश–

ramdip-acharya

चुनाव बहिस्कार अभियान कसरी अगाडि बढ्दैछ ?
संघर्षका दुईटा रुप हुन्छ, एउटा शान्तिपूर्ण र अर्को हिंसात्मक । देशभर नै शान्तिपूर्ण ढंगले अभियान अगाडि गइरहेको छ ।
रुख ढालेर सडक अवरुद्ध गर्नुभएको छ, त्यसबाट जनताले सास्ती पाएका छन्, भोट माग्न गएका उम्मेदवारमाथि मरणासन्न हुने गरी कुटपिट गर्नुहुन्छ अनि शान्तिपूर्ण बहिस्कार भन्न मिल्छ ?
रुख ढालेर बाटो छेक्ने कुरा शान्तिपूर्ण नै हो । चुनावी कार्यक्रम नगर भनेर आह्वान गर्ने र गाउँ जान रोक्ने कुरा पनि शान्तिपूर्ण संघर्षकै रुप हो । योभन्दा पहिला हामी प्रष्ट हुनुपर्ने कुरा के छ भने हामीले निर्वाचन बहिस्कार घोषणा गर्नुभन्दा अगाडि चारवटा कुुरा राखेका थियौं । अघिल्लो संविधानसभा किन असफल भयो त्यसको समीक्षा गरौं र नयाँ बन्ने संविधानसभाले संविधान दिने कुराको ग्यारेण्टीका लागि संविधानका अन्तरवस्तुमाथि छलफल गरौं । त्यो प्रक्रियाका लागि राष्ट्रिय राजनीतिक सहमति जुटाउन गोलमेच सम्मेलन गरौं । अर्को कुरा पञ्चायत निर्दलीय भयो भनेर हिजो आन्दोलन गरेका दलहरूले नै आज निर्दलीय सरकार बनाए । यो कुरा अन्त्य गरेर दलीय प्रणाली कायम गरौं । यी कुरा नकार्नुपर्ने कुनै कारण थिएन । हाम्रो यस्तो जिम्मेवार पहललाई लत्याएर केही दलले बलपूर्वक सेना लगाएर निर्वाचन गराउने परिस्थिति सिर्जना भएपछि हामीले बाध्य भएर बहिस्कारको बाटो रोजेका हौं । जवर्जस्ती गरेपछि जनताले स्वैच्छिक रुपमा प्रतिकार गरेका छन् र गर्नेछन् ।
आक्रमण गर्ने चाहिं जनता, घटनास्थलबाट पक्राउ पर्ने चाहिं तपाईंका कार्यकर्ता कति रमाइलो तर्क गर्नुभएको ?
जनता भनेका हामी पनि हौं । दलीय प्रणालीमा जनताको नेतृत्व र प्रतिनिधित्व राजनीतिक दलहरुले गर्ने हो । त्यसो भए त चुनावका पक्षमा पनि त एक जना पनि जनता छैनन् भन्नुपर्‍यो, हामीले त्यो भनेका त छैनौं । राजनीतिक पार्टीका नेता नै चुनाव लडेका छन् । उनीहरुले नै चुनावी प्रचार गरेका छन् । त्यसो भए त यसलाई जनता–जनताबीचको द्वन्द्व भनिदिए भयो । जनतालाई किन बीचमा ल्याउने त ? हामीले राष्ट्रिय स्वाधिनता र सार्थक संविधान चाहने जनताको प्रतिनिधित्व गरेका छौं ।
तपाईंहरू सबै जनताका हाम्रै पक्षमा छन् भन्ने दाबी गर्नुहुन्छ । दलहरूका चुनावीसभामा जनताले भाषण सुनेकै देखिन्छ । जनताले त अहिले कहाँ तपाईंको बहिस्कारलाई समर्थन गरेको छ र ? जनता त आफ्नो मताधिकार दिन चाहान्छ ।
जनसमुदाय पनि विभक्त छन्, हाम्रो बुझाइमा चुनावका पक्षमा रहेका जनता भ्रममा छन् । हिजो पञ्चायत कालमा ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भन्दा पनि पञ्चायतविरोधी आन्दोलनमा त जनसागर नै उठेको हो नि । दरबारले सब भ्रष्ट भए, सब आतंकवादी भए भनेर शक्ति हातमा लिएका बेला  दरबारका विरुद्धको आन्दोलनमा लाखौंलाखको जनसागर सडकमा उर्लिएको हो ।  विशेष अवस्थामा ठूलो संख्यामा जनता सडकमा आउँछ र आन्दोलन सफल हुन्छ । सामान्य अवस्थामा जनताले नैतिक समर्थन गर्छ । अहिले हामी जनताकै बीचमा बसेर आन्दोलनको नेतृत्व गरिरहका छौं । हाम्रो पक्षमा जनता छैनन भन्नुहुन्छ भने त हामी कहाँ बसेका छौं, देखाइदिनुस् न त ।

तपाईंहरुलाई अन्तिम समयसम्म पनि सरकार र दलहरुले निर्वाचनमा ल्याउन प्रयास गरेकै हो । सबै जनता आफ्नो पक्षमा छन भन्नेले त चुनावमा आएर अरुलाई हराएर देखाइदिएको भए हुने थिएन र ?  
अघि मैले भनेका चारवटा कुरामा सहमत हुने हो भने नेकपा–माओवादी आफैं निर्वाचनमा आउँछ नि । नेपाललाई सिक्किमीकरण गर्ने कुरालाई अनुमोदन गर्न र राष्ट्रिय स्वाधिनता सङ्कुचन गर्न लाहाछाप लगाउने निर्वाचन नेकपा–माओवादीलाई चाहिएको छैन । दलहरुले सार्वजनिक गरेका घोषणापत्र हेर्नुस् न विगतमा जुन कुरामा गाँठो परेर संविधान जारी हुन सकेको थिएन । फेरि त्यही कुरा दोहोरिएका छन् । हामीले मात्र होइन दुनियाँले भनिरहेको छ । चुनाव भइहालेछ भने पनि संविधान बन्दैन । दलहरु आफ्ना एजेण्डाबाट कोही टसमस हुने छाटकाँट छैन । हामीले उठाएको यो कुरालाई त संसारले अनुमोदन गरिसकेको छ । फेरि ४ मंसिरको निर्वाचन हुन्छ भन्ने विश्वास त ठूला दलका ठूला नेतालाई पनि छैन । यस्तो अवस्थामा गर्न लागिएको चुनावको कुनै औचित्य नै छैन । मुलुकको अरबौं रकम ब्रम्हलुट गर्ने, जनसमुदायलाई आतंकित र विभाजित गर्ने र कार्यकर्तालाई आपसमा भिडाउनेबाहेक यो निर्वाचनले केही परिणाम दिनेवाला छैन ।

तपाईंहरुकै पूर्वनेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन प्रक्रियामा सघाए संसदले चुन्ने २६ सिटमा तपाईंहरुका प्रतिनिधिलाई मनोनित गर्न सकिन्छ भनेका छन् । यसमा के भन्नुहुन्छ ?
यो कुनै पनि अर्थमा राजनीतिक कुरा हो जस्तो मलाई लाग्दैन । बल प्रयोग गरेर मुलुकलाई जवर्जस्ती यो निर्वाचनमा धकेल्ने अनि दया, माया, निहागाका कुरा गर्ने ?  नेकपा–माओवादी कसैले दयाले दिउको भिख खाने शक्ति होइन । एमाओवादी, काँग्रेस र एमाले जनताबाट अनुमोदित हुनुपर्ने अनि नेकपा–माओवादीले चाहिं उनीहरुले दया राखेर दिएको भिख खाएर चित्त बुझाउनुपर्ने ?
सरकारका गृहमन्त्रीले तपाईंहरुका व्यवहारका कारण राजनीतिक शक्ति मान्न नसकिने टिप्पणी गरेछन् नि ?
उनलाई राजनीतिका नाममा र थाहा छैन । उनी त सरकारको जागिरे हो । कसैले टपक्क टिपेर ल्याएर सत्तामा राखिदियो । एउटा ‘रिटायर्ड’ कर्मचारीले हामीलाई राजनीतिक सिकाउने ? उनी को हुन् ? के उनी राजनीतिज्ञ हुन् ? उनलाई के थाहा छ राजनीतिका बारेमा ? जसलाई राजनीति भन्ने को हो थाहै छैन उसले हामीलाई राजनीतिक पाठ पढाउन खोज्नुको कुनै तुक छैन ।
गृहमन्त्रीले चुनावविरोधी गतिविधि गर्नेलाई सरकारले नछाड्ने चेतावनीसहित छिट्टै कडा कारबाही गर्न लागेको पनि बताएका छन् नि ?
नेकपा–माओवादी कसैको धम्कीसँग डराउने शक्ति होइन । नेकपा–माओवादीका कार्यकर्ताका शरीर फलाम र स्पातले बनेका हुन् । उनीहरु जस्तोसुकै जोखिम उठाउन तयार छन् , बढी भयो भने हामीमाथि गोली हानिन्छ । जनयुद्धबाट आएका हामी नाफाको जिन्दगी बाँचिरहेका छौं । धम्काएर नेकपा–माओवादी तर्सिन्छ वा आतंकित हुन्छ भन्ने भ्रममा परेर कसैले त्यस्तो धम्की नदिए हुन्छ । त्यस्तो अभिव्यक्तिले हाम्रो एउटा रौं पनि हल्लिन सक्दैन । हामी हिजो भैरवनाथ गणको अँध्यारा दिनहरु व्यहोरेर आएका हौं । नेकपा–माओवादी जनता र राष्ट्रको मुक्तिका निम्ति जस्तोसुकै जोखिम उठाउन पनि तयार छ ।
उसो भए तपाईंहरु सेनासँग भिड्ने तयारीमा हुनुहुन्छ ?
सेनासँग हामी भिड्दैनौं र सेना हामीसँग भिड्दैन । सेनाले पनि त राजनीतिक पार्टीहरुले गरेको बेइमानीका बारेमा बुझेको छ । देशलाई मुख्य चार दलका नेता र कर्मचारीको सरकारले अन्धारमा धकेलेको कुरा त सेनादेखि, प्रहरी, कर्मचारी र सबै जनतालाई थाहा छ । त्यसैले हामी किन भिड्ने ? जसले विदेशको दलाली गरेर देशलाई अप्ठेरो अवस्थामा धकेलिरहेको छ । जसले भ्रष्टाचार गरिरहेको छ, जसले जनतालाई गुलिया नारा बाँडेर आफ्ना निजी स्वार्थहरु पूरा गरिरहेको छ । हामीले त उनीहरुसँग पो लडिरहेका छौं । हामीले सेना–प्रहरीसँग त लडिराखेका छैनौं । dam-dip-2
यही कुरा तपाईंहरुले १० वर्षे सशस्त्र युद्धका बेला पनि गर्नुहुन्थ्यो, तर पनि सरकारी सुरक्षा संयन्त्रले तपाईंहरुलाई छाडेको त थिएन ?
तर यतिखेर स्थिति धेरै फेरिएको छ । म तपाईंलाई भित्रि कुरा गरिरहेको छु । सेना–प्रहरी हामी नेकपा–माओवादीका नेता–कार्यकर्तालाई ठोक्नुपर्छ, दमन गर्नुपर्छ भन्ने मनस्थितिमा छैनन् ।
तपाईंहरुचाहिं उम्मेदवार कुटेर गाउँबाट लखेट्ने चुनावको बाक्सा फाल्ने अनि चुनावी सुरक्षाको जिम्मेवारी पाएको सेनाचाहिं गान्धी जसरी हात बाँधेर बस्नुपर्ने ?
हामीले अहिले पनि अर्घेल्याईं गरिरहेका छैनौं । हामी भनिरहेका छौं कि राष्ट्रिय सहमतिबिना गर्न लागिएको मंसिर चार गतेको निर्वाचन स्थगन गरौं । राष्ट्रिय सहमतिका आधारमा अर्को निर्वाचन मिति तय गरौं र सबै मिलेर निर्वाचन सफल पारौं । त्यसमा कसैको आपत्ति हुनुपर्ने के कुरा छ ?
तर तयारी यतिधेरै अघि बढिसक्यो कि तपाइंले भनेजस्तो निर्वाचन स्थगन गर्न सम्भव छ र ?
के संविधानसभाको उद्देश्य मुलुकलाई शान्ति, संविधान, स्थायित्व र विकास दिनु होइन ? संविधानसभा निर्वाचनले यी कुनै पनि उद्देश्य पूरा गर्दैन मुलुक थप द्वन्द्वमा जान्छ भने त्यस्तो निरर्थक संविधानसभाको औचित्य के छ ? तत्कालीन नेकपा माओवादी र सात दलबीच भएको १२ बुँदे सहमतिमार्फत जनआन्दोलनमा जानुको मुल उद्देश्य भनेको शान्ति कायम गर्नु र संविधान जारी गर्नु हो । जनयुद्धबाट आएको विशाल पंक्तिलाई बाहिर राखेर र जनआकांक्षा कुल्चिएर गर्न लागिएको चुनावले मुलुकलाई केही दिन्छ ? चार दलले जसरी जानाजान द्वन्द्वको बिउ रोप्ने काम गरिरहेका छन्, इतिहासमा यो क्षम्य हुँदैन । के उनीहरु यसको औचित्य पुष्टि गर्न सक्छन ?
सेना सरकारको प्रमुख सुरक्षा निकाय हो । राज्यले कानुन मिचेर चुनाव बिथोल्नेलाई बल प्रयोग गर्न सेना मैदानमा उतारिसक्यो । तपाईं चाहिं हामी सेनासँग भिड्दैनौं, सेनाले पनि केही गर्दैन भनिरहनुभएको छ ?
दुनियाँको इतिहासमा यस्ता घटना पनि भएका छन् । सन् १९३६ मा चीनमा क्रान्ति हुँदै गर्दा सरकार प्रमुख रहेका च्याङकाई सेकलाई उनकै जनरलहरुले समातेर जनयुद्धको नेतृत्व गरिरहेका माओसमक्ष बुझाइदिए । माओले जापानी उपनिवेशविरुद्ध लड्छस भने हामी छाडिदिन्छौं, होइन जापानी औपनिवेशका पक्षमा उभिन्छस् भने बन्दी बनाएर राख्छौं  भनेपछि च्याङकाई सेक जापानी औपनिवेशवादका विरुद्ध उभिन तयार भएको थियो । सैनिक जनरलहरु त्यस्ता पनि हुन्छन्, जसले देशभक्तिको झण्डा उठाउँदा देशभक्तहरुलाई साथ दिन्छ । हामीले त्यसका लागि खुला गरिराखेका छौं ।

ए त्यसो भए आफू २ सय ४० वर्षसम्म जुनसंस्थाप्रति बफादार रह्यो, त्यही शक्तिले गद्धी त्याग गरेको टुलुटुलु हेरेर बस्ने सेनाले तपाईंहरुलाई सत्तामा ल्याएर राखिदिन्छ ?
मैलै सेनाले सत्ता हामीलाई जिम्मा लगाइदिन्छ भनेको छु र ? खाली यत्ति हो कि हामीले उठाएका मुद्दा जायज र सही हुन् कि होइनन् ? न्यायोचित कुराका पक्षमा त जो कोही उभिन्छ नि ।
के त्यसबारेमा सैनिक नेतृत्वसँग पनि कुरा भएको छ ?
अहिलेसम्म कुरा भएको छैन । भविष्यमा कुरा हुन पनि सक्ला । तर हामीले सार्वजनिक रुपमा बारम्बार अपिल गर्दै आएका छौं कि सेनाले हाम्रो राष्ट्रिय स्वाभिमान रक्षाको आन्दोलनमा साथ दिनुपर्छ भनेर । सेनाको मुख्य दायित्व नै राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु हो । हामी कुनै विदेशीको दलाल र चाटुकार होइनौं, नत हामी यो देश बेच्ने पक्षमा छौं । अनि सेना, प्रहरी र कर्मचारीले हामीलाई किन साथ नदिने ?
माउ पार्टी एमाओवादी संसदीय भाषमा फस्यो भनेर अलग हुनुभयो । अहिले निर्वाचनमा आउन दिइएन भनेर किन रोइकराई गरिरहनुभएको छ ? चुनावमा आउने बाटो बन्द गरिदिएकामा त चार दल र सरकारलाई धन्यवाद पो दिनुपर्ने होइन र ? किनकी चुनाव त तपाईंहरुको एजेण्डै होइन नि ?
चुनाव हाम्रो एजेण्डा नै होइन भन्ने कुरा सही होइन । चुनावसम्बन्धी कम्युनिष्ट पार्टीलाई बुझ्ने सवालमा गलत परम्परा छ । जनताबाट चुनिने र जनप्रतिनिधिमुलक संस्थालाई अस्वीकार गर्ने काम कम्युनिष्ट पार्टीले कहिल्यै पनि गर्दैन । मुख्य सवाल चुनावको उद्देश्य को भन्ने हो । एउटा स्वाभिमानी नेपालीले दिनदहाडै आफ्नो देशको अस्मिता लुटिएको र विदेशीहरुले शासन प्रणाली सञ्चालन गरेको कुरा टुलुटुलु हेरेर बस्न सक्दैन ।

यो कुनै राजनीतिक पार्टीको जित वा हार को कुरा होइन । को ठूलो हुन्छ र को सानो हुन्छ भन्ने कुरा पनि होइन । इतिहासले पुष्टि गरेको छ कि सानो ठूलो हुन्छ, ठूलो सानो हुन्छ । त्यसैले यो जुंगाको लडाईं होइन । यो मुद्धामा आधारित कुरा हो । एमाओवादी, काँग्रेस, एमाले सबै दलका नेता एउटै कुरा गरिरहेका छन् । हामी बाध्यतामा फस्यौं भनेर । कुनचाहिं शक्तिले उनीहरुलाई त्यो बाध्यतामा धकेल्यो ? उनीहरु राष्ट्रिय सहमति कायम गर्न किन चुके ? संविधानका अन्तरवस्तुमा सहमति नगरी गठन भएको संविधानसभाबाट संविधान बन्दैन भन्ने कुरा दुनियाँलाई थाहा छ । एक छिनका लागि हामी बाहिरै चुपचाप बसौंला रे ? के जो चुनावमा सहमत छन् उनीहरुका बीचमा संविधानका अन्तरवस्तुमा सहमति सम्भव छ ? त्यसको त कुनै छाँटकाँट छैन ।

उनीहरु आफ्नै बीचमा पनि त मुद्धाका आधरमा झडप भइरहेको छ । हामी चुनाव बहिस्कारवादी र चुनाववादीका बीचमा मात्र झडप भएको हो र ? चुनाववादीहरुकै बीचमा पनि त कुरा मिलिरहेको छैन । उनीहरुका बीचमा निर्वाचनपछि सरकार बनाउने बेलामा फेरि अर्को झगडा हुनावाला छ । विगतमा जस्तो सत्ता गिराउने र बनाउने रमिता जनताले फेरि हेर्न पाउनेवाला छ । देशलाई लामो समयसम्म एकैठाउँमा कति दिनसम्म राखिराख्ने ? हामीले देशलाई राष्ट्रिय सहमतिमार्फत नयाँ ठाउँमा लैजाऔं भनिरहेका छौं । एउटै टेवलमा बसेर विगतको समीक्षा गरौं, निकासको बिन्दु पहिल्याऔं । यसमा नमान्नुपर्ने कारण के नै छ र ? गोलमेच सम्मेलनमा सैद्धान्तिक सहमति भएर निकासको नजिक पुगेका बेला सहमति भाँड्ने काम भएको हो । त्यही बिन्दुबाट अर्को सहमतिको खोजी गरौं । गोलमेच सम्मेलन किन र कसले भाँड्यो ?
गोलमेच सम्मेलन त तपाईंकै पार्टी सचिव नेत्रविक्रम चन्दले भाँडेको भनिन्छ । पार्टीलाई निर्वाचनमा आउन नदिने पनि त उनी नै हुन् ?
एउटा व्यक्तिले सिंगै प्रक्रिया र प्रणाली भाँड्न र बनाउन सक्दैन । यो सही कुरा होइन ।
पार्टी नै उनैले चलाइरहेको आम बुझाई छ बाहिर ?
पार्टी चलाउने त नेताले नै हो नि । यो के नयाँ कुरा भो र ?
तपाईंहरुले चुनाव बहिस्कार घोषणा गर्दा ठूला पार्टीका नेता जुनजुन जिल्ला जान्छन् त्यही जिल्ला बन्द गर्ने घोषणा गर्नुभएको थियो । सुशील कोइराला चितवनमा छन्, झलथान खनाल इलाममा छन्, त्यहाँ बन्द गर्नु नपर्ने ? प्रचण्ड जहाजहाँ जान्छन् त्यहाँ चाहिं रुख ढालिहाल्नुपर्ने ?
हाम्रो घोषित नीति निर्वाचन प्रक्रियाको अगुवाई गरिरहेका मुख्य चार दलका नेता गएका स्थानमा अवरोध गर्ने हो । तर कार्यान्वयनमा जाँदा जहाँजहाँ पायक परेको छ, स्थानीय पार्टी कमिटीले त्यहीअनुसार कार्यक्रम गरेको होला ।
प्रचण्ड जहाँ जान्छन् त्यहाँ शक्ति केन्द्रित गर्ने नीति छ भन्ने पनि सुनियो ?
अमुक पार्टीको अमुक नेताको पक्ष र अमुक पार्टीको अमुक नेताको विपक्षमा हाम्रो बस्किार आन्दोलन होइन । हाम्रो बहिस्कार अभियान भनेको प्रणालीको विपक्षमा हो ।
तपाईंले मुखले जेजे भने पनि परिणामले त त्यही देखाइरहेको छ, अरु दलका शीर्ष नेता गएको अर्को कुनै एउटा मात्र जिल्ला बन्द भएको देखाउनुस् न ?
मैले अघि पनि भनिसकें, हाम्रो अभियान कुनै व्यक्तिका विरुद्ध लक्षित नभई संविधानसभा निर्वाचन प्रक्रियाको विरुद्ध हो । राजनीतिक पार्टीका नेता जसले यो प्रक्रियाको अगुवाई गरेका छन्, उनीहरुका कार्यक्रम ‘डिस्ट्रव’ गर्ने भन्ने नीति हो । देशभर एकै प्रकारको निर्देशन पठाइएको छ ।
त्यसको पनि त केन्द्रमा त प्रचण्ड नै छन् नि होइन र ?
त्यसरी पनि बुझ्न सकिन्छ । त्यो पनि प्रष्टै देखिएको कुरा हो ।
कम्युनिष्टहरुको खानदानी चरित्र  भनेको सँगै बस्दा मिलेर लड्ने अनि छुट्टिएपछि आफैं भिडेर सकिने । माले–एमाले विभाजनपछि तत्कालीन मालेले एमालेका विरुद्ध जे–जे गरेको थियो । तपाईंहरु अहिले त्यही गरिरहनु भएको छ होइन ? जसलाई सामन्त र जमिन्दारको पार्टी भन्नुहुन्छ, उसलाई केही गर्नुहुन्न । आफूसंगै लडेकाहरुमाथि आक्रमण केन्द्रित किन ?
कम्युनिष्ट आन्दोलनमा सच्याउनुपर्ने र पुनर्विचार गर्नुपर्ने धेरै कुरा छन्, त्यसमा मेरो कुनै असहमति छैन । नेपाली जनताले कम्युनिष्ट नाम गरेका पार्टीहरूलाई विश्वास गरेर पटकपटक जनमत दिए त्यसको सदुपयोग हुन नसक्नुमा जनता र कार्यकर्ता दोषी छैनन् । आफूलाई प्राप्त भएका अवसरलाई सदुपयोग गर्नुका साटो दुरुपयोग गर्नाले कम्युनिष्ट आन्दोलन उद्देश्यबाट च्युत हुनु र कम्युनिष्ट आन्दोलन छिन्नभिन्न हुनुमा सम्पूर्ण रुपले नेतृत्व नै जिम्मेवार छ । जे नहुनुपर्ने हो त्यही दुर्भाग्य भइरहेको छ । कम्युनिष्टहरु जिम्मेवारीपूर्वक एकताबद्ध भएर आफ्नो उद्देश्यप्रति समर्पित भइदिएको भए मुलुकलाई नयाँ ठाउँमा पुर्‍याउन र जनताको सपना पूरा गर्न सकिन्थ्यो होला । तर त्यसो हुन सकेन । त्यसको मुख्य कारण विचार र राजनीतिप्रतिको विचलन हो । नाममा कम्युनिष्ट र काममा पुँजीवादी भएपछि चाहेर पनि एकता वा आपसी सहकार्य हुन सक्दैन ।
हामी अहिले काठमाण्डुको मध्य भागमा बसेर कुरा गरिरहेका छौं, तपाईं अहिले खुला कि अर्धभूमिगत ? ram-dip-3
पूर्ण रुपमा खुला ।
तपाईंका कतिपय शीर्ष नेता राज्यले उपलब्ध गराएको पिएसओ छाडेर र टेलिफोन नम्बर नै परिवर्तन गरेर अर्धभूमिगत भए भन्ने कुरा आइरहेको छ नि ?
पिएसओ भनेको सुरक्षाका लागि हो । उबाट सुरक्षित महसुस गरेको भए नेताहरुले राख्थे । असुरक्षित महसुस गरे फिर्ता गरिदिए । के अनौठो कुरा भयो र ?
राज्यले दिएको सुरक्षाकर्मीमाथि नै विश्वास भएन होइन ?
राज्य नै हाम्रोविरुद्ध आउँछ, राज्यले नै जासुसी गर्न मान्छे खटाउँछ र दमनयन्त्र प्रयोग गर्छ भने उसप्रति हामीले कसरी विश्वास गर्ने ?
ए पिएसओहरुले जासुसी गरेको हुनाले फिर्ता गरेको ?
हामी जनताका मान्छे हौं । जनताले नै हाम्रो सुरक्षा गर्ने भएकाले जनतामा गएको हो । राज्यले निगरानी बढाउने, नजरबन्द गर्न खोज्ने, हिरासतमा राख्न गोदाम खाली गर्ने अनि राज्यबाटै सुरक्षा अनुभूति कसरी गर्ने ? हामी हिजो पनि जनताकै बीचमा थियौं, अहिले पनि जनताकै बीचमा रहन चाहान्छौं ।
जनताकै लागि लडेको छु, सारा जनता मेरै पक्षमा छन् भन्नेले किन रातारात सेल्टेर फेर्ने ? किन टेलिफोन नम्बर परिवर्तन गर्ने ? किन सहर छाडेर गाउँ पस्ने ?
हामी किन सहर छाड्ने । म पार्टीको केन्द्रीय सदस्य हुँ । हामी अहिले सहरको मध्ये भागमा छौं । म यहाँ आउँदा प्रहरीकै अगाडिबाट हिंडेर आएको हुँ । किन भाग्ने, किन छाड्ने सहर ?
तपाईं पो हुनुहुन्छ, तर तपाईंका पार्टीका धेरै नेता सहरबाहिर भएको आधिकारिक सूचना हामीसँग छ, के त्यो झुठो हो भन्न सक्नुहुन्छ ?
सहरबाहिर जानु त पर्‍यो नि । बाहिर कार्यक्रम गर्न, संगठन गर्न, प्रशिक्षण गर्न, जनता कार्यकर्तासँग भेटघाट गर्न जानु परेन ? अश्र सबै राजनीतिक दलका नेता देश दौडाहामा जाने अनि हामी मात्र काठमाण्डु नछाड्ने भन्ने कुरा त हुनसक्दैन ।
त्यो त मान्न सकिएला तर केही नेता त पिएसओ र गाडी नै छाडेर बस चढेर गएछन् ?
मैले अघि नै भनिसकें पिएसओ भनेको सुरक्षाका लागि राख्ने हो । थप असुरक्षा हुन्छ भने किन राखिरहने ? यो त सीधा कुरा हो ।
अघि त सेना–प्रहरीले हामीलाई केही गर्दैनन्, उनीहरु हाम्रै पक्षमा छन् भन्नुहुन्थ्यो । फेरि किन यत्रो आशंकाको कुरा नि ?
सेना–प्रहरीले सिध्याई हालेको छैन पनि त छैन नि । नत सुरक्षा नै दिएको छ ।
४ मंसिरसम्म अब जतनाले भिडन्त दुख्नुपर्ने भो होइन ?
भिडन्त गर्ने र देशलाई कुरुक्षेत्र वा युद्धमैदान बनाउने हाम्रो कुनै मनसाय छैन । हाम्रो भनाइ यत्ति मात्रै हो कि यो चुनावले देशलाई सिक्कीमीकरण गर्छ । त्यसैले हामीले भनेका छौं । ४ मंसिरको निर्वाचन स्थगित गरौं र राष्ट्रिय सहमति गरेर अगाडि जाऔं । अन्यथा चुनावविरोधी आन्दोलन त तीव्र बनेर जान्छ ।
त्यसो भए मान्ने मर्ने नै भए चुनावमा ?
मान्छे मर्दैन , मान्छे किन मर्ने ?
दुई पक्षबीचमा भिडन्त हुने, हानाहान हुने अनि कसैलाई पनि काँडाले कोर्दैन भनेर कसले पत्याउने ?
हामीले शान्तिपूर्ण बहिस्कार भनेका छौं । हामी त त्यसलाई सफल पर्ने हो । मान्छे किन मार्ने र किन मर्ने ? यहाँ कसले मान्ने मार्ने र मर्ने कुरा गरेको छ र ?
सरकार जसरी पनि निर्वाचन गराएरै छाड्ने, तपाईंहरु जसरी पनि भाँडेरै छाड्ने, सेना मैदानमा उत्रने अनि भिडन्त नभएर के हुन्छ ?
शान्तिपूर्ण ढंगले प्रचार गर्ने र आफ्ना एजेण्डा राख्ने छुट हामीलाई छ । हामीले अहिलेसम्म शान्तिपूर्ण ढंगले नै चुनाव बहिस्कार अभियान चलाइरहेका छौं नि । त्यसका निम्ति किन भिडन्त गर्नुपर्‍यो ? किन मान्छे मर्नुपर्‍यो ?
मान्छे कुटिरहनु भएको छ, अनि शान्तिपूर्ण बहिस्कार पनि भन्न छाड्नु भएको छैन । जे गर्नुहुन्छ त्यही भन्न के भयो र ?
मान्छे त हाम्रा पनि कुटिएका छन् । हाम्रा साथीहरु पनि गिरफ्तारीमा परेका छन् । संसारमा कुन त्यस्तो आन्दोलन भएको छ जहाँ मान्छे कुटिएको र चोटपटक नलागेको होस ।
मुलुकलाई किन जवर्जस्ती द्वन्द्वतिर धकेल्न चाहिरहनुभएको छ ?
द्वन्द्व निम्त्याउने काम त हामीले बारम्बार भन्दै आएका छौं । संविधानसभा चुनावले मुलुकमा अशान्ति र द्वन्द्व बढाउँछ । भोलि युद्धको वातावरण बनाउँछ । त्यसैले त हामीले त्यसो नगर्रौं भनेका छौं ।
अरु सबै पार्टी चुनावको पक्षमा छन् तपार्इंहरुको कारणले मुलुकलाई कति दिन बन्धक बनाइराख्ने ? मुलुक कर्मचारी नेतृत्वको सरकारका भरमा चलिरहेको छ । यो अवस्था अन्त्यका लागि पनि त जनप्रतिनिधिको सरकार चाहियो । त्यसका लागि निर्वाचनबाहेक अर्को कुनै विकल्प छ र ?
कर्मचारको सरकारलाई आज नै भोलि नै हटाइदिऔं र दलीय सरकार बनाऔं । त्यसपछि निर्वाचनका निम्ति राष्ट्रिय सहमति कायम गरौं । हामीले त एक दिन के एक मिनेट पनि यो सरकार राख्नुपर्छ भनेका छैनौं ।
तपाईंले भनेका कुरा अरुले मान्दा मात्र राष्ट्रिय सहमति हुने, अरुका कुरा चाहिं नमाने पनि हुने ? तपाईंहरुको राष्ट्रिय सहमतिको परिभाषा कस्तो हो ?
त्यसको लागि पहिला त प्रक्रियामा जानुपर्‍यो नि । हामीले हाम्रो पार्टीको केन्द्रीय समितिको निर्णय अरुले मान्नुपर्छ भनेर जवर्जस्ती गरेका त छैनौं । त्यसैका लागि हामीले गोलमेच सम्मेलन गरौं भनेका छौं । त्यो छलफलको एउटा फोरम हुनसक्छ ।  त्यो भनेको त सबैका कुरा सबैले सुनौं र साझा निष्कर्ष पहिल्याऔं भन्ने कुरा हो ।
गोलमेच सम्मेलनको आयोजना र संयोजन कसले गर्ने, त्यसले गरेको निर्णयलाई कसरी वैधता दिने ? कोको सहभागी हुने ? तपाईंहरु यसअघि नामै नसुनिएका ३३ दललाई सहभागी नगराएसम्म हुँदैन भन्नुहुन्छ, एजेण्डा अघि सार्नेले त सबै कुरा प्रष्ट पार्नुपर्‍यो नि अनि कसरी कुरा मिल्छ ?
तपाईंले पनि सुन्नुभएको होला । प्रचण्डले एउटा गठन्धन बनाउनुभएको थियो, संघीय लोकतान्त्रिक गठबन्धन भन्ने । त्यो गठबन्धनमा भएका पार्टीका नाम पनि कसैले सुनेका थिएनन् । उहाँहरुले गर्दा सबै जानिएका सुनिएका हुने, हामीले गर्दा नहुने ? उनले दिनदिनै पार्टी एकता गरिरहेका छन् । कुनचाहिं अन्तर्राष्ट्रिय स्तरको पार्टीसँग एकता गरेका छन् र ? गठबन्धनका नाममा एक सिट भएकालाई बोकेर सरकार बनाउने उनीहरु नै होइन ? उनले चार दल भनेका छन् । गच्छदारको पार्टीसँग कति सिट थियो ? हाम्रो पार्टीसँग सयको हाराहारीमा सभासद् हुँदा राष्ट्रिय शक्ति हुनुनपर्ने । १० टुक्रा भएका पार्टीको तीन–तीनजना सभासद् बोकेर राष्ट्रिय दल हुने यस्तो दोहोरो मापदण्ड पनि लागू गर्न भएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us