युवा विदेशिएपछि ‘खोल्साको सुन टिप्ने’खेतला अभाव

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ११:५० मा प्रकाशित

ताप्लेजुङ, ८ कात्तिक ८–खोल्साको सुनको नामले परिचित अलैँची टिप्न हिजोआज किसानलाई भ्याइनभ्याइ छ । टिपेपछि थुँगा छोडाउन र भट्टी लगाउन उत्तिकै मेहनत लाग्छ । गाउँमा प्रसस्त खेतला नपाउनाले अझै किसानलाई चटारो परेको हो । अझ महिला मात्रले त झनै समस्या हुने दोखु–१ की कृषक निर्मला गुरुङ बताउछिन । दुई वर्ष अघि मूल घरबाट छुट्टिएकी गुरुङको श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा अफगानिस्तानमा छन ।
गाउँका युवा विदेशिनाले खेतला पाउन मुस्किल छ । अर्कोतिर अलैँची टिप्न सीपयुक्त व्यक्तिको आवश्यकता पर्छ । एक पाला जथाभावी टिपेमा अर्को साल राम्रो नफल्ने अलैँची हाङदेवा–२ का मानबहादुर लिम्बू बताउछन । अलैँची टिप्ने राम्रो सीप भएको यो समयमा राम्रो आम्दानी हुने नाल्बुका धनकुमार केदेम बताउछन । यसपालि अलैँची टिप्नेको खाना खाजा दिएर ४०० रुपैया ज्याला छ ।
नाल्बु गाविसमा अघिल्लो वर्ष ३०० रुपैया थियो । यसरी खेतला अभावका कारण बर्सेनि ज्यालामा पनि वृद्धि हुँदै गएको किसानको भनाइ छ । केदेमले अलैँची टिपेर नै यसपालिको दसैँ, तिहार खर्च जुटाए । यो सिजनमा मात्र रु १३ हजार बढी आम्दानी गरेको उनले बताए ।
तल्लो भेगमा असोजको पहिलो हप्तामा पाक्ने अलैँची ओसिलो तथा माथिल्लो भेगमा असोजको अन्तिम सातामा मात्र टिप्न योग्य हुन्छ । यो वर्ष असोज अन्तिम साता दसैँ परेका कारण अहिलेसम्म पनि किसान अलैँची टिप्न व्यस्त छन् । अलैँची टिप्न ढिलाइ गरे बोट र फल दुवै बिग्रने भएकाले ज्याला धेरै दिएर भए पनि टिप्न लगाउनुपर्ने बाध्यता छ ।
अलैँची प्रतिमन (४० किलो) को ५० हजार रुपैयाको दरले किनबेच भइरहेको छ । गत वर्ष यसै समयमा प्रतिमन ३८ हजार रुपैया थियो । यद्यपि अलैँचीको भाउ घटबढ भइरहने हुँदा मूल्यको टुङ्गो नहुने अलैँची व्यवसायी सङ्घका अध्यक्ष खड्गबहादुर मोक्तानले बताए ।
यहाँका किसानको मुख्य आयस्रोत अलैँची हो । ओलाङचुङगोलावाहेक जिल्लाका ४९ गाविसमा अलैँचीखेती गरिन्छ । कतिपयले अलैँची बेचबिखन गरेर लाखौँ कमाउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us