विहारका पूर्वमुख्यमन्त्री लालु यादव भ्रष्टाचारी ठहर

काठमाण्डु टुडे २०७० असोज १४ गते ८:१५ मा प्रकाशित

Lalu-Yadavकाठमाण्डु, १४ असोज । भारतको विहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला काण्डमा अदालतले भ्रष्टाचारी ठहर गरेको छ । राँचीस्थित सीबीआईको अदालतले सोमबार लालुसहित उनका ४४ जना सहयोगीलाई दोषी ठहर गरेको हो ।

अदालतको फैसलासँगै लालुको सांसद पद पनि खोसिएको छ । राष्ट्रिय जनता दलका प्रमुख समेत रहेका ६६ बर्षीय लालुलाई विहीबार जेल पठाइने भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । सिबीआईका अदालतका वकील अरविन्द सिंहले राँचीमा पत्रकारसँग कुरा गर्दै लालु यादव र सोही प्रकरणमा दोषी ठहर विहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रलाई चार बर्षसम्म जेल सजाय हुनसक्ने बताए ।

अदालतको फैसलालाई अन्य दलका नेताहरुले स्वागत पनि गरेका छन् । भारतीय जनता पार्टीका प्रवक्ता राजीव प्रताप रुडीले ढिलै भए पनि अदालतले सही फैसला गरेको प्रतिकृया दिएका छन् । यसैगरी जनता दल युनाइटेडका नेता साबिर अलीले अदालतको यस फैसलाबाट नेतालाई सजाय हुँदैन भन्ठान्ने सर्बसाधारणको न्यायपालिकाप्रति थप आस्था बढेको बताए ।

१७ बर्ष अघि विहारको मुख्यमन्त्री रहेकाबेला लालुले ३७ करोड भारतीय रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेको थियो । पटना उच्च न्यायालयले सन् १९९६ को मार्च ११ मा ९ अर्ब ५० करोड भारतीय रुपैयाँको चारा घोटाला मुद्दामा जाँचका लागि सीबीआईलाई सुम्पन आदेश दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us