माओवादी बढाउनेहरू टिकट पाएर मख्ख

काठमाण्डु टुडे २०७० असोज ११ गते ३:१३ मा प्रकाशित

काठमाण्डु – द्वन्द्वकालको मुख्य घटना मानिने मेलगैरी हत्याकाण्डका मुख्य योजनाकार गोपालजीजंग शाहलाई नेपाली काँग्रेस रुकुमले आगामी चुनावको लायि उम्मेदवार सिफारिस गरेको छ ।

क्षेत्र नम्बर २ बाट सूचीमा परेका गोपालजीजंग शाह, प्रेमप्रकाश ओली र तिलक भण्डारीले विगतमा जनतालाई दिएको लातले उनीहरूको मत औंलामा गन्न सुरु भएको छ । ओली र भण्डारीले चुनावी क्षेत्र चौरजहारीमा सहकारीको नाममा गरिब जनताको लाखौं रकम हिनामिना गरेका छन् । ओलीले खोलेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेयरकर्ता र रकम बचतकर्तालाई थाहै नदिई बन्द भएको छ । यस सहकारीमा लगानी गरेका गरिबहरूको करिब १२ लाख ओलीले फिर्ता गरेका छैनन् भने भण्डारीले खोलेको शैक्षिक समाज बचत तथा ऋण सहकारी संस्था सहकारी डिभिजन कार्यालय दाङले खारेज नै गरिदिएको छ । उनले पनि जनतालाई रकम फिर्ता गरेका छैनन् ।

उता, द्वन्द्वकालको मुख्य घटना मानिएको मेलगैरी गोलीकाण्डका मुख्य योजनाकार गोपालजीजंग शाह रहेको विवरण प्राप्त भएको छ । जनयुद्ध सुरु भएकै साल ०५२ को फागुन १५ गते पिपल गाविस-५, मेलगैरीमा ६ जना सर्वसाधारणको हत्या तत्कालीन उद्योग सहायकमन्त्रीसमेत शाहको प्रत्यक्ष निर्देशनमा भएको थियो । तत्कालीन प्रहरी प्रमुख पुस्करनाथ योगीलाई शाहले गोली हान्न आदेश दिएका थिए । कतिलाई कुटीकुटी मारिएको थियो भने कतिलाई गोली हानी हत्या गरिएको थियो । उनै पुष्करनाथ रेग्मी योगी हाल एआइजी पदमा कार्यरत छन् ।

माओवादीले कांग्रेसका स्थानीय कार्यकर्ता नरजित बस्नेतको हात काटिदिएपछि घटनाको सुरुवात भएको थियो । फागुन १ गतेबाट जनयुद्व शुरु भएपछि पहिलो घटना गोरखामा भयो, जहाँ प्रहरीले ८ बर्षीय दिलबहादुर रम्तेललाई हत्या गरेको थियो भने दोस्रो ठूलो घटना रुकुम पिपल मेलगैरीमा घटेको थियो । ०५२ को फागुन १३ गते नरजित बस्नेतको हात काटिएपछि उनीहरूलाई मार्ने नाममा गाउँ नै आतंकित बनाइएको थियो ।
मेलगैरी गोलीकाण्डमा के भयो ?
नरजितको हात काटिएपछि १४ गते नेपाली कांग्रेस समर्थकले नरजितलाई ३ सय बढी माओवादीले घेराउ गरी उपचार गर्न ल्याउन नदिएको कुरा प्रहरीसमक्ष राखे । त्यस अवस्थामा गोपालजीजंग शाह पनि सदरमुकाममै भएकाले गाउँलेले गोलीगठ्ठासहितको प्रहरी बल माग गरे । यही जाहेरीका आधारमा घटनास्थलतर्फ गएको टोलीलाई स्थानीय कांग्रेस समर्थकले जनमोर्चा नेताहरू सेतु जैसीको घरमा छन् भनी सुराक दिएका थिए । त्यसपछि पिपल गाविस-३ का सेतुको घरमा प्रहरी पुगेर नरजितको हात काट्ने मानिस देखाइदिन कर गर्‍यो । यसरी सेतुलाई बलजफ्ती गर्दा पनि सेतुले जानकारी दिन सकेनन् । यातना अत्याधिक भएपछि उनको अर्को घर देखाउन मेलगैरी गए ।

फागुन १५ गते बिहानै सेतुको घरमा त्यसबेला नरजित घटनामा प्रहरीले पक्राउ गर्न सक्ने डरले भागेका जनमोर्चा समर्थक सामान्य युवक, केही माओवादी कार्यकर्ता र सेतुकी श्रीमति गरी जम्मा १८ जना मानिस थिए । श्रीमती सुशीला जैसी भैंसी रेखदेख गर्न लेक बसेकी थिइन् । सो घरमा पुगेर प्रहरीले सिटी बजायो । घरको पश्चिम-दक्षिणमा रहेको झ्याल खोलेर युवकहरू भाग्ने प्रयास गरे । तर प्रहरीले झ्यालैमा गोली प्रहार गरेपछि खैलाबैला भयो । झ्यालमा हानेको गोली भागीराम केसीको हातमा र बुद्धि केसीको पीठमा  लग्यो । गोली लागेपछि उनीहरू ज्यानको माया मारेर हामफाले र पश्चिमतर्फ भागे । प्रहरीले उनीहरू भागेतिर फेरि गोली चलायो तर लागेन । उनीहरू तत्काल भागेर कहाँ गए प्रहरीले पत्तो लगाउन सकेन । घरभित्र रहेका मानिस अत्तालिइसकेका थिए । यसैबीच, घरको धुरी उधारेर बुद्धि केसी र नरेन्द्र केसी भागे । यतिबेलासम्म प्रहरीले मूलढोका खोलेर भित्र पसेपछि एक्कासि गोली चलाउन थाले ।गोली लागेर पिपल ६ का २४ बर्षीय पशुपति केसी, २५ बर्षीय नरबहादुर केसी र पिपल-३ का २५ बर्षीय दलबहादुर केसीको तत्काल मृत्यु भयो । सोही अवस्थामा पिपल-६ का २५ बर्षीय कलबहादुर केसी, पिपल-३ का २५ बर्षीय मनबहादुर केसी, पिपल- ६ का १५ बर्षीय खड्गबहादुर केसीलाई प्रहरीले समाती घरबाहिर आँगनमा ल्याए । उनीहरूलाई प्रहरीले लठ्ठीले कठोर ढंगले पिटे । मनबहादुर केसी र कलबहादुरलाई मरणासन्न हुनेगरी कुटपिट गर्दै गरेको अवस्थामा नरजितका भतिजाले काका काट्ने यिनै हुन् भन्ने कुरा व्यक्त गरे । यसपछि प्रहरीले उनीहरूलाई पनि आँगनमै गोली प्रहार गर्‍यो ।

नेपाली कांग्रेसका ५० बढी समर्थक घटनास्थल पुगेका थिए । प्रहरीले गोली चलाउनुपूर्व चेतावनी दिने, आत्मसमर्पण गर्न चेतावनी दिई लाठ्ठी चार्ज गर्ने, हवाइफायर गर्नेजस्ता काम गरेन । जानकारीअनुसार माओवादी कार्यकर्ताले प्रहरीमाथि भरुवा बन्दुकको एक गोली चलाएका थिए । तर, गोली पड्किएन ।

महिला, पुरुष गरी १८ जनामध्ये मारिएका ६ र भागेका ४ चार जनाबाहेक अन्य मानिसलाई दिनभर नजिकको घरमा राखियो । महिला र पुरुषलाई घाँसले छेकेर तल्लो तलामा राखिएको थियो । दिउँसो भएपछि केही प्रहरी लास कुर्न बसे भने केही उनीहरूको पहरा गर्न थाले । प्रहरीले पक्राउ परेका महिलालाई लुगा खोलेर नांगो हुन लगाए । तीन जनालाई पशुवत्  दुव्र्यवहार गरे । सदरमुकाम ल्याएपछि लासजाँच गर्न अस्पताल लगियो र पक्राउ परेका मानिसलाई हिरासतमा लिइयो । ६ जना मृतकको लासजाँच स्थानीय अस्पतालमा गराइयो । त्यसपछि लास सदगद गर्न हकवालाहरूलाई नदिई कुनै सूचनासम्म नगरी नजिकैको पहरे खाडलमा हालियो । मृतकका नातेदार हकवालालाई मृत्युको जनाउसम्म दिइएन ।

यसरी घटाइएको घटनाका योजनाकार नेपाली कांग्रेस रुकुमको क्षेत्र नं. २ का उम्मेदवारको प्रथम सिफारिसमा छन् भने गरिब जनतालाई सहकारीको नाममा ठगी गर्ने प्रेमप्रकाश र तिलक क्रमशः दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका छन् । – जनआस्था साप्ताहिकबाट

Melgairi-Hatya-Kanda

०५२ साल फागुन १५ गते घटना भएको केही दिन पछि फागुन अन्तिम हप्ता देखि चैत्र दोश्रो हप्ता सम्म मावन अधिकारीबादीहरुको टोलीले गरेको स्थलगत भ्रमण र सोधपुछ पछि सार्वजनिक गरिएको प्रतिवेदनको एक अंश फोटोमा ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us