श्यामसुन्दरको खानाले दुई प्रहरी आइसियूमा

काठमाण्डु टुडे २०७० असोज १० गते ४:१३ मा प्रकाशित

नवराज मैनाली/नयाँ पत्रिका
काठमाडौं, ९ असोज

अपहरण अभियोगमा डिल्लीबजार कारागारमा रहँदै आएका नेता श्यामसुन्दर गुप्ताले दिएको खाना खाँदा चार प्रहरी बिरामी परेका छन् । चारमध्ये दुईजनाको आइसियूमा उपचार भइरहेको छ ।

गुप्ताको सुरक्षाका लागि खटिएका प्रहरी हवल्दार पदम नेपाली तथा जवानहरू तेजबहादुर कठायत, राधेश्याम बर्मा र लीलाधर नेपाली गम्भीर बिरामी परेका हुन् । उनीहरूमध्ये लीलाधर र बर्माको आइसियूमा उपचार भइरहेको छ ।

रक्तचाप बढेपछि गुप्ता मंगलबार दिउँसो ३ बजे कमलपोखरीस्थित हिमाल अस्पतालमा भर्ना भएका थिए । कैदी/बन्दी अस्पताल भर्ना हँुदा उनीहरूको सुरक्षार्थ प्रहरीसमेत खटाइने गरिन्छ । जेल प्रशासनले उनको सुरक्षाका लागि चार प्रहरी खटाएको थियो । उनीहरूले मंगलबार बेलुका गुप्ताका छोराले ल्याएको कोल्डड्रिंक्स र खाना खाएका थिए । खाना खाएलगत्तै उनीहरू बिरामी भएका हुन् । जसमध्ये दुईजनाको अवस्था उपचारपछि सामान्य छ भने दुईजना अझै गम्भीर रहेको प्रहरी स्रोतले बताएको छ । नेता गुप्ताका छोरा पनि खाना खाएपछि बिरामी परेका थिए ।

खानामा विषादी मिसाएर प्रहरीलाई बेहोस बनाई गुप्ताले भाग्ने योजना बनाएको हुनसक्ने आंशका गरिए पनि उनका छोरासमेत बिरामी भएकाले त्यस्तो सम्भावना कम रहेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पाल बताउँछन् । ‘घटना गम्भीर हो, छानबिन समिति बनाएर हामी अनुसन्धान गर्छाैँ,’ उनले भने । खाना परीक्षण गर्न ल्याबमा पठाइएको उनले बताए ।

गुप्तासँगै अस्पतालको अर्काे बेडमा डिल्लीबजार कारागारकै अर्का कैदी पनि थिए । उनको सुरक्षाका लागि पनि प्रहरी थिए । त्यसकारण चारैजना प्रहरी बेहोस भए पनि उनी भाग्ने सम्भावना थिएन ।

खानामा अखाद्य पदार्थ मिसावट भएको हुन सक्ने आशंका गरिएको छ । उनीहरूले पिएको कोल्डड्रिंक्सका कारण पनि त्यस्तो भएको हुन सक्ने आशंका गरिएको छ । आफूहरूले पिएको कोल्डड्रिंक्स गनाएको एक प्रहरीले बताएका छन् ।

व्यापारी पवन संघाईको अपहरण अभियोगमा सद्भावना पार्टी (आनन्ददेवी)का नेता गुप्ता ०६८ माघको पहिलो साता पक्राउ परेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई सिद्धार्थनगरबाट पक्राउ गरेको थियो । अपहरण मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सो मुद्दाको फैसला भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us