पूर्वप्रधानमन्त्री को कहाँ ?

काठमाण्डु टुडे २०७० असोज ६ गते ५:२६ मा प्रकाशित

नेत्र पन्थी/नयाँ पत्रिका
काठमाडौं, ५ असोज

 

अघिल्लो संविधानसभा अवधिमा प्रधानमन्त्री भएका चार पार्टीका शीर्ष नेताले पुरानै क्षेत्रमा चुनाव लड्ने तयारी गरेका छन् । डा. बाबुराम भट्टराई भने पुरानो क्षेत्र छाडेर नयाँ ठाउँबाट चुनाव लड्ने भएका छन् ।

 

विगतको चुनावमा रोल्पा र काठमाडौंबाट उठेका एकीकृत माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं १० र धनुषा ६ बाट चुनाव लड्ने निश्चित भएको छ । गत संविधानसभा निर्वाचनमा धनुषा–६ मा माओवादीकै रामकुमारी यादवले चुनाव जितेकी थिइन् ।

 

पहिलो संविधानसभाको निर्वाचनपछि प्रधानमन्त्री भएका प्रचण्डले गत संविधानसभामा काठमाडौं १० र रोल्पा २ बाट चुनाव जितेका थिए । प्रचण्डले रोल्पा २ मा ३४ हजार दुई सय २० मत र काठमाडौं १० बाट २३ हजार दुई सय ७७ मत ल्याएका थिए ।

 

प्रचण्डपछि प्रधानमन्त्री बनेका माधवकुमार नेपाललाई एमालेले यसपटक काठमाडौं २ र रौतहट १ बाट चुनाव लडाउने गरी सिफारिस गरेको छ । अघिल्लो संविधानसभामा उनले काठमाडौं २ र रौतहट ६ मा चुनाव हारेका थिए । काठमाडौं २ मा उनलाई माओवादीका झक्कु सुवेदी र रौतहटमा माओवादीकै देवेन्द्र पटेलले हराएका थिए । काठमाडौं २ बाट उनी चुनाव लड्ने निश्चित भइसकेको छ ।

 

काठमाडौं २ मा सुवेदीको १३ हजार आठ सय ५८ मत र नेपालको १२ हजार तीन सय २५ मत आएको थियो । रौतहट ६ मा पटेलले १० हजार एक सय ३१ र नेपालले आठ हजार नौ सय ८६ मत पाएका थिए । उनी अहिले सिफारिस भएको रौतहट १ मा गत संविधानसभामा बबन सिंहले चुनाव जितेका थिए । उनले नौ हजार दुई सय एक मत ल्याएका थिए । एमाले भने चौथो स्थानमा थियो । एमालेका रेवन्त झाले चार हजार पाँच सय २९ मत पाएका थिए ।

 

यसैगरी, एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम १ बाट चुनाव लड्दै छन् । खनाल विघटित संविधानसभाको तेस्रो प्रधानमन्त्री थिए । अघिल्लो संविधानसभामा उनले १७ हजार ६ सय ५७ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता बेनुपराज प्रसाईंले १३ हजार सात सय ४४ मत पाएका थिए । खनाललाई एमालेले काठमाडौं ९ बाट समेत सिफारिस गरेको छ । गत संविधानसभामा कांग्रेसका ध्यानगोविन्द रञ्जितले १२ हजार पाँच सय एक मत ल्याएर जितेका थिए । एमालेका कृष्णगोपाल श्रेष्ठले १२ हजार एक सय ९४ मत ल्याएर तेस्रो स्थानमा थिए ।

 

पहिलो संविधानसभाका चौथो प्रधानमन्त्री डा. बाबुराम भट्टराई विगतको गोरखा २ छाडेर नयाँ ठाउँबाट चुनाव लड्दै छन् । उनले गत संविधानसभामा गोरखा २ बाट ४६ हजार दुई सय ७२ मत ल्याएर चुनाव जितेका थिए ।

 

डा. भट्टराईलाई माओवादीले अहिले गोरखा १ र रूपन्देही ४ बाट चुनाव लडाउने भएको छ । गत संविधानसभामा गोरखा १ मा माओवादीकै पार्वती थापा र रूपन्देही ४ मा एमाले नेता विष्णु पौडेलले चुनाव जितेका थिए । गोरखा १ मा थापाले ४० हजार ६ सय ६ मत ल्याएकी थिइन् । रूपन्देही ४ मा पौडेलले १५ हजार आठ सय ८० मत प्राप्त गरेका थिए । दोस्रोमा माओवादीका भक्तिप्रसाद पाण्डेले १३ हजार चार सय २१ मत ल्याएका थिए ।

 

गत संविधानसभा निर्वाचनमा डडेलधुराबाट २० हजार पाँच सय २९ मत ल्याएर जितेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि त्यही क्षेत्रमा चुनाव लड्दै छन् । त्यहाँबाहेक देउवा अहिले कैलाली ६ बाट पनि चुनाव लड्दै छन् । सो क्षेत्रमा गत संविधानसभा चुनावमा माओवादी उम्मेदवार लीलाकुमारी भण्डारीले १४ हजार आठ सय २६ मत ल्याएर चुनाव जितेकी थिइन् । कांग्रेसका उम्मेदवार टेकबहादुर चोखाल ११ हजार दुई सय ८४ मत ल्याएर पराजित भएका थिए ।

 

अघिल्लोपटक देउवा कञ्चनपुर ४ बाट १२ हजार आठ सय २४ मत पाएर विजय बनेका थिए । माओवादी उम्मेदवार हरिश ठकुल्लाले ११ हजार सात सय ९५ मत पाएका थिए । त्यहाँ भएको उपचुनावमा भने ठकुल्ला नै विजय भएका थिए ।

 

अघिल्लो संविधानसभा निर्वाचनमा धनुकटा २ बाट चुनाव हारेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले यसपटक त्यस क्षेत्रमा छोरा सुनिल थापालाई उठाउँदै छन् । सो क्षेत्रमा गत संविधानसभामा माओवादी नेता हरिराज लिम्बू १२ हजार दुई सय ९९ मत ल्याएर विजयी भएका थिए । थापा तेस्रो स्थानमा आएका थिए । थापा यसपटक समानुपातिकमा जाने तयारीमा छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भिक चरणमा सिफारिस गरेको छैन । उनी पनि समानुपातिकमा आउने सम्भावना छ ।

 

यस्ता छन् उपत्यकामा कांग्रेसका उम्मेदवार

रमेश सापकोटा/नयाँ पत्रिका
काठमाडौं, ५ असोज

 

कांग्रेसले उपत्यकामा अघिल्लो संविधानसभा निर्वाचनमा जितेका नेतालाई नै यसपटक पनि प्राथमिकता दिने तयारी गरेको छ । काठमाडौंबाट ६ सिट ल्याएको कांग्रेसले भक्तपुर र ललितपुरका कुनै क्षेत्रमा पनि जितेको थिएन ।

 

उपत्यकाका १५ वटै क्षेत्रका उम्मेदवारको सूची कांग्रेस केन्द्रीय कार्यालयमा आइसकेको छ । केही क्षेत्रमा विवाद भएपछि आएका उजुरीका आधारमा जिल्ला समितिले सम्भावित उम्मेदवारको सूची केन्द्रीय कार्यालयमा पठाएका छन् ।

 

उपत्यकामा अघिल्लोपटक जितेका नेताले यसपटक पनि निरन्तरता पाउने भएका छन् । १५ वटै क्षेत्रबाट सर्वसम्मत उम्मेदवारको चयन नभए पनि जितेकालाई निरन्तरता दिने तयारी रहेको कांग्रेसका एक नेताले बताए । ‘काठमाडौं पहिले पनि कांग्रेसका लागि महत्त्वपूर्ण क्षेत्र थियो । हामीले पनि ६ क्षेत्र जितेका थियौँ,’ ती नेताले भने, ‘यसपटक पनि जितेकालाई नै उठाउने हाम्रो तयारी छ ।’ तर, उम्मेदवारको अन्तिम टुंगो लगाउने कांग्रेसको संसदीय समिति भने बन्न सकेको छैन ।

 

उपत्यकाका १५ वटा क्षेत्रमध्ये कांग्रेस उम्मेदवार काठमाडौं १ बाट प्रकाशमान सिंह, ३ बाट चक्रबहादुर ठकुरी, ४ बाट सुप्रभा घिमिरे, ५ बाट नरहरि आचार्य, ८ बाट नवीन्द्रराज जोशी र ९ बाट ध्यानगोविन्द रञ्जितले चुनाव जितेका थिए । घिमिरेबाहेक सबैको प्रत्यक्षमा क्षेत्रबाट सिफारिस भएको छ । समानुपातिकमा बस्न चाहे मात्र उनीहरूको प्रत्यक्षमा उम्मेदवारी नहुने कांग्रेस स्रोतले बतायो ।

 

कांग्रेसको तयारीअनुसार काठमाडौंको क्षेत्र नम्बर १ बाट महामन्त्री सिंह, ३ बाट ठकुरी, ५ बाट आचार्य, ८ बाट जोशी र ९ बाट रञ्जित उम्मेदवार हुने लगभग पक्का भएका छन् । क्षेत्र नम्बर ४ बाट युवा नेता गगन थापा उठ्ने पनि निश्चित छ । उनी अघिल्लोपटक समानुपातिकबाट सभासद् बनेका थिए ।

 

गत निर्वाचनमा कांग्रेसकी महिला नेतृ सुप्रभा घिमिरेले क्षेत्र नम्बर ४ बाट जितेकी थिइन् । घिमिरेले १३ हजार चार सय ५१ मत ल्याएकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमाले नेतृ विद्या भण्डारीले नौ हजार आठ सय ४२ मत प्राप्त गरेकी थिइन् । माओवादीका पवनमान श्रेष्ठले नौ हजार दुई २५ मत प्राप्त गरेका थिए । माओवादीले पनि नेता पासाङलाई यही क्षेत्रबाट चुनाव लडाउँदै छ ।

 

गत निर्वाचनमा पनि काठमाडौं १ बाट कांग्रेस महामन्त्री सिंहले १४ हजार तीन सय १८ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नेता प्रदीप नेपालले ६ हजार सात सय ९९ मत ल्याएका थिए । यो क्षेत्रमा सिंहलाई सर्वसम्मत बनाउने प्रयास भए पनि मनमोहन भट्टराई र विनोद भट्टराईको समेत नाम जिल्लाले केन्द्रमा पठाएको छ ।

 

क्षेत्र नम्बर २ बाट लोकेश ढकाल, दीपक कुइँकेल र उपेन्द्र कार्की चर्चामा छन् । अघिल्लोपटक कांग्रेसले हारेको यो क्षेत्रमा ढकाल या कुइँकेल उम्मेदवार बन्ने सम्भावना छ । यो क्षेत्रमा अघिल्लोपटक माओवादी नेता झक्कुप्रसाद सुवेदीले एमालेका नेता माधवकुमार नेपाललाई पराजित गरेका थिए । कुइँकेलले तेस्रो स्थान प्राप्त गरेका थिए ।

 

३ बाट अघिल्लोपटक ठकुरीले एमालेका रामेश्वर फुँयाललाई पराजित गरेका थिए । ठकुरीले १२ हजार ६ सय ६६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी फुँयालले नौ हजार पाँच सय ४९ मत प्राप्त गरेका थिए । माओवादीका मनु हुमागाईंको पक्षमा सात हजार तीन सय ७१ मत खसेको थियो ।

 

क्षेत्र नम्बर ५ बाट आचार्यले अघिल्लो निर्वाचनमा एमालेका ईश्वर पोखरेललाई पराजित गरेका थिए । आचार्यले १३ हजार दुई सय ४५ मत र पोखरेलले नौ हजार एक सय २० मत प्राप्त गरेका थिए । तेस्रोमा माओवादीका दीपेन्द्रप्रकाश महर्जनले आठ हजार ८९ मत ल्याएका थिए ।

 

६ नम्बरमा कांग्रेस काठमाडौंका सभापति भीमसेनदास प्रधानको नाम यसपटक पनि अगाडि छ । अघिल्लोपटक यो क्षेत्रमा माओवादीका हितमान शाक्यले जितेका थिए । शाक्यले १० हजार सात सय ६८ मत ल्याउँदा प्रधानले १० हजार ५८ मत ल्याएका थिए ।

 

७ मा कांग्रेसका तर्फबाट नौजनाको नाम सिफारिस भएको छ । विजय माली, धर्मराज अर्याल, सुदर्शन आचार्यमध्ये एकजना उम्मेदवार हुने छन् । यो क्षेत्रमा अघिल्लोपटक माओवादी नेतृ हिसिला यमीले जितेकी थिइन् ।

 

८ मा सर्वसम्मत हुन नसके पनि अघिल्लोपटक जितेको क्षेत्र भएकाले जोशी नै उम्मेदवार बन्ने लगभग पक्का छ । गत निर्वाचनमा जोशीले ११ हजार पाँच मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी अष्टलक्ष्मी शाक्यले ६ हजार आठ सय ७८ मत प्राप्त गरेकी थिइन् भने माओवादीका सर्वोत्तमप्रसाद डंगोलले ६ हजार पाँच सय ७३ मत ल्याएका थिए ।

 

९ मा यसपटक पनि रञ्जित नै उम्मेवारको सूचीमा अघि छन् । उनले गत निर्वाचनमा माओवादीका माइला लामालाई पराजित गरेका थिए । रञ्जितले १२ हजार पाँच सय एक मत ल्याई विजयी हुँदा लामाले १२ हजार दुई सय ९२ मत ल्याएका थिए । तेस्रो भएका एमालेका कृष्णगोपाल श्रेष्ठले पनि १२ हजार एक सय ९४ मत प्राप्त गरेका थिए ।

 

अघिल्लोपटक माओवादी अध्यक्ष प्रचण्ड जितेको १० नम्बरमा कांग्रेसको तर्फबाट राजकुमार नकर्मी, राजनकुमार केसी, घनश्याम गिरी सम्भावित उम्मेदवारको रूपमा अगाडि छन् ।

 

ललितपुर र भक्तपुरमा कांग्रेसले अघिल्लोपटक चुनाव जितेन । ललितपुरमा अघिल्लोपटक वर्षमान पुनसँग हारेका उदयशमशेर राणा नै १ नम्बर क्षेत्रबाट कांग्रेसका सम्भावित उम्मेदवार हुन् । ललितपुर २ मा चन्द्र महर्जन, जगतराम शाक्य र रामकृष्ण ताम्राकार चर्चामा छन् । यो क्षेत्रमा ताम्राकारको सम्भावना बढी छ । अघिल्लोपटक चन्द्र महर्जन माओवादीका राजकाजी महर्जनसँग यो क्षेत्रमा हारेका थिए । माओवादीकी पम्फा भुसालले जितेको ३ नम्बरमा कांग्रेस ललितपुरका अध्यक्ष मदन अमात्य मुख्य दाबेदार छन् ।
भक्तपुरका दुई क्षेत्रमा अघिल्लोपटक नेपाल मजदुर किसान पार्टीले जितेको थियो । यसपटक १ बाट जिल्ला अध्यक्ष गणेशमान चक्रधर चर्चामा छन् भने २ बाट १२ जना भन्दा बढीको नाम सिफारिस भएको छ ।

 

क्षेत्र नम्बर ४ मा विवाद नभएको दाबी
काठमाडौं क्षेत्र नम्बर ४ ले उम्मेदवार चयन गर्दा विधिसम्मत प्रक्रियाले गरिएको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ । अघिल्लोपटक जितेकी नेतृ सुप्रभा घिमिरेले आफूलाई थाहा नै नदिई प्रत्यक्षबाट आफ्नो नाम हटाएको बताएपछि क्षेत्रीय समितिले विधिसम्मत निर्णय गरेको जनाएको हो । एकलौटी उम्मेदवार चयन गरिएको भन्दै घिमिरेले पार्टी कार्यालयमा समेत उजुरी हालेकी छिन् भने सभापति कोइरालासहित शीर्ष नेताको ध्यानाकर्षणसमेत गराउँदै आएकी छिन् ।

 

क्षेत्रीय समितिले भने शनिबार विज्ञप्ति जारी गरी उम्मेदवार सिफारिसमा घिमिरेले प्रायोजित विवाद झिकेको आरोप लगाएको छ । साथै, उम्मेदवार निर्णय प्रक्रियामा ८३ मध्ये ७४ जनाको समर्थन रहेको भन्दै केन्द्रीय सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको ध्यानाकर्षणसमेत गराएको छ । प्रक्रियासम्मत निर्णय भएको भन्दै क्षेत्रले गरेको सिफारिसमा स्पष्ट हुन आग्रह गरेको छ । क्षेत्रले बुझाएको ज्ञापनपत्रमा अनौपचारिक छलफलपछि कुनै सहमति नबनेपछि विधानबमोजिम नै उम्मेदवार सिफारिस गरिएको जनाइएको छ ।

 

कोइरालालाई काठमाडौंबाट उठ्न आग्रह

एकीकृत माओवादी र एमालेले शीर्ष नेतालाई काठमाडौंबाट उम्मेदवार बनाएपछि कांग्रेसमा पनि सभापति सुशील कोइरालालाई काठमाडौंबाट उम्मेदवार बन्न दबाब परेको छ । कोइरालाको नाम काठमाडौंका कुनै पनि क्षेत्रबाट प्रस्तावित नभए पनि काठमाडौंं कांग्रेसले उनलाई जुनसुकै क्षेत्र रोजेर भए पनि चुनाव लड्न आग्रह गरेको छ ।

 

‘सभापतिको नाम नै प्रस्ताव भएको त छैन, तर काठमाडौंका १० मध्ये कुनै एक निर्वाचन क्षेत्र रोजेर चुनाव लड्न आग्रह गरेका छौँ,’ काठमाडौंं कांग्रेस जिल्ला अध्यक्ष भीमसेनदास प्रधानले नयाँ पत्रिकासँग भने, ‘सभापति उठ्नुभयो भने हामी उहाँलाई जिताउन तयार छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us