उपत्यकामा माओवादीका १२ नयाँ अनुहार

काठमाण्डु टुडे २०७० असोज ३ गते ३:५० मा प्रकाशित

मनोज घर्तीमगर/नयाँ पत्रिका
काठमाडौं, 3 असोज

एकीकृत माओवादीले संविधानसभा निर्वाचनमा उपत्यकामा अधिकांश नयाँ उम्मेदवार उठाउने भएको छ । नेवा: राज्य समितिले बुधबार उपत्यकाका १५ निर्वाचन क्षेत्रमा तीन पुराना र १२ नयाँ अनुहारसहित १५ जना उम्मेदवारको नाम उम्मेदवार छनोट सिफारिस समितिलाई बुझाएको छ ।

काठमाडौं क्षेत्र नं. १० बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्नेछन् । उनीसहित काठमाडौं ७ बाट हिसिला यमी र क्षेत्र नं. २ बाट झक्कुप्रसाद सुवेदी दोहोरिनेछन् । सुवेदी तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई पराजित गरेर चर्चित भएका थिए ।

‘उपत्यकामा अधिकांश नयाँ अनुहार ल्याउने निर्णय गरिएको छ, त्यहीअनुसार नाम सिफारिस गरिएको छ,’ नेवा: राज्यमा कार्यरत माओवादीका एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने, ‘केन्द्रीय समितिलाई उम्मेदवारको नाम हेरफेर गर्ने अधिकार भए पनि सम्भवत: आज पठाएको नाम नै अन्तिम हुनेछ ।’

बाँकी १२ क्षेत्रमा नयाँ अनुहार अघि सारिएको छ । काठमाडौं–१ बाट रेणु दाहाल, ३ बाट गणेश रेग्मी र ४ बाट नन्दकिशोर पुन ‘पासाङ’को नाम सिफारिस भएको छ । प्रचण्डपुत्री रेणु यसअघि समानुपातिकबाट सभासद् थिइन् । उनी अहिले माओवादीको नेवा: राज्य समितिकी सदस्य पनि हुन् । उनको प्रतिस्पर्धा कांग्रेस महामन्त्री प्रकाशमान सिंहसँग हुने निश्चित छ, एमालेले उम्मेदवार निक्र्योल गरेको छैन ।

मजदुर नेता रेग्मी अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव हुन् । त्यस्तै पासाङ पूर्वजनमुक्ति सेनाका कमान्डर हुन् । पासाङसँग कांग्रेस नेता गगन थापाले प्रतिस्पर्धा गर्ने सम्भावना छ ।

काठमाडौं ५ बाट महेन्द्र श्रेष्ठ, ६ बाट हिमाल शर्मा, ८ बाट मुक्ति प्रधान र ९ बाट देवेन्द्र पौडेल सुनीलको नाम सिफारिस भएको छ । श्रेष्ठ माओवादीका काठमाडौं जिल्ला संयोजक हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष हिमालले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिबाट केही समयअघि राजीनामा दिएका छन् । प्रधान डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए । त्यस्तै, माओवादीका केन्द्रीय नेता तत्कालीन प्रधानमन्त्री डा. भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए । उनी अहिले नेवा: राज्य इन्चार्ज छन् । काठमाडौंको १० मध्ये अघिल्लो संविधानसभा निर्वाचनमा माओवादीले चार स्थान जितेको थियो ।

त्यसैगरी, ललितपुर क्षेत्र नं. १ बाट हरि दाहाल, २ बाट दिनेश महर्जन र ३ बाट सरोज डंगोलको नाम सिफारिस भएको छ । अघिल्लो निर्वाचनमा माओवादीले ललितपुरको तीनवटै क्षेत्रबाट जितेको थियो । ललितपुरबाट उम्मेदवारी दिन लागेका दाहाल केन्द्रीय सदस्य तथा जिल्ला संयोजक, महर्जन पूर्व जिल्ला सेक्रेटरी र डंगोल जिल्लास्तरीय कार्यकर्ता हुन् ।

भक्तपुर १ मा सानु सिलवाल र २ बाट देवीप्रसाद (डिपी) ढकालको नाम सिफारिस भएको छ । अघिल्लो निर्वाचनमा दुवै स्थानमा माओवादी पराजित भएको थियो । सिलवाल नेवा: राज्य सदस्य र ढकाल क्षेत्रीय संयोजक हुन् ।

उम्मेदवार छनोट सिफारिस समितिले यसअघि प्रत्येक क्षेत्रबाट पाँच/पाँचजनाको नाम मागेको थियो । तर, पछि समितिले एक/एकजनाको मात्र नाम पठाउन भनेपछि नेवा: राज्यले एक क्षेत्रबाट एकजनाको नाम पठाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us