रासायनिक अस्त्र नष्ट गर्न सिरिया तयार

काठमाण्डु टुडे २०७० असोज ३ गते ३:३० मा प्रकाशित

asadकाठमाण्डु ३ असोज-सिरियाका राष्ट्रपति बशर अल असदले उनको सरकार देशको रासायनिक अस्त्र नष्ट गर्ने बारे भएको सहमति पालना गर्न तयार रहेको बताएका छन्। अमेरिकाको फक्स न्युज समाचार च्यानलसंगको एक घण्टा लामो उक्त अन्तर्वार्तामा राष्ट्रपति असदले आफू देशको रासायनिक अस्त्र नष्ट गर्न तयार रहेको तर त्यो प्रकृया सम्पन्न गर्न एक बर्षको समय लाग्ने र एक अर्ब डलर खर्च हुने बताए।

“ त्यसका लागि धेरै पैसा चाहिन्छ, झण्डै एक अर्ब डलरको आवश्यकता पर्छ। यो कार्य फेरि वातावरणका लागि पनि जोखिमपूर्ण हुन्छ ‘ सिरियाली राष्ट्रपति बशर अल असदले भने “यदि अमेरिकी प्रशासन त्यो पैसा तिर्न तयार छ र ति विषालु पदार्थ अमेरिका ल्याउने जीम्मेवारी लिन चाहन्छ भने तिनीहरुले त्यसो गरे हुन्छ ।’ राष्ट्रपतिले असदले दुई हप्ता भन्दा कम समय भित्र अमेरिकी समाचार च्यानलहरुलाई दिएको यो दोस्रो अन्तर्वार्ता थियो। जुन आफ्नो देशमा जारी द्वन्द्वकाबारे अमेरिकी जनतालाई आफ्नो धारणा बताउने उनको नौलो तरिका हो।

 

यसअघि जस्तै उनले आफ्ना सैनिकहरु गत महिना भएको रासायनिक हमलाका लागि जिम्मेवार नरहेकामा दोहोर्याएर जोड दिएका छन्। उनले गत सोमबार प्रकाशित राष्ट्र संघीय प्रतिवेदनले पनि आफूहरुलाई दोष दिन नसकेको बताएका छन्। “भिडियो र फोटोहरुको विश्वसनीयतालाई कसैले पुष्टि गरेको छैन। रासायनिक हमलाका सम्बन्धमा पुष्टि भएका कुरा भनेको राष्ट्र संघीय टोलीले लिएको रगत, माटो लगायतका नमूना मात्र हुन्। “अपुष्ट भिडियोहरुको आधारमा कसैले पनि विश्वसनीय प्रतिवेदन तयार पार्न सक्दैन”, राष्ट्रपति असदको भनाई थियो। उनले, रुसीहरुको प्रयास भन्दा भिन्न अमेरिकाले सिरियाको नेतृत्व र राज्य संचालनमा नै संलग्न हुन खोजेको भन्दै यदि दुई पक्षबीच आपसी सम्मानको वातावरण बनेमा कुनै समस्या उत्पन्न नहुनेमा जोड पनि दिएका छन्।

 

सिरियामा लडाईं जारी रहंदा, अल कायदासंग सम्बन्ध भएको उग्रवादी इस्लामी विद्रोहीहरुले पश्चिमा मुलुकको समर्थनप्राप्त अर्को विद्रोही समूह, फ्री सिरियन आर्मी,संगको भिडन्त पछि टर्कीको सीमा नजिकको एक नगरलाई आफ्नो नियन्त्रणमा लिएको बताइएको छ। सरकार विरुद्धका विद्रोहीहरुबीच आपसी भिडन्तका घटनामा पछिल्लो संघर्ष सबैभन्दा चर्को रहेको बताइन्छ । कार्यकर्ताहरुका अनुसार अजाज नामको उक्त नगरमा विद्रोही पक्षहरुबीच भएको आपसी लडाईं हालसम्मकै चर्को रहेको थियो।

 

बेरुतमा रहेका बीबीसीका एकजना सम्बाददाता भन्छन् अलकायदासंग सम्बन्ध भएको भनिएको विद्रोही इस्लामी समूहले अजाज नगरस्थित एउटा अस्पतालमा कार्यरत एकजना युरोपेली चिकित्सकलाई अपहरण गर्ने प्रयास गरेपछि प्रतिस्पर्धी विद्रोही समूहहरुबीच भिडन्त शूरु भएको थियो। त्यसपछि चर्केको लडाईंको अन्त्य उक्त नगरमा इस्लामी समूहको नियन्त्रण कायम भएपछि भएको थियो। राष्ट्रपति बशर अल असदको सरकार विरुद्ध विद्रोहमा उत्रिएका ति दुई समूहबीच हालैका महिनाहरुमा तनावमा वृद्धि हुंदै गैरहेको बताइएको छ।

 

‘राष्ट्रसंघको प्रतिवेदन एकतर्फी र राजनीतिक प्रेरित’

सिरियामा रासायनिक हतियार प्रयोग भएको सम्बन्धी संयुक्त राष्ट्रसंघका निरीक्षकले बुझाएको प्रतिवेदन एक तर्फी र राजनीति प्रेरित रहेको भन्दै पाँच सदस्यीय स्थायी समिति राष्ट्र वीच बहस भएको छ । 

सिरियामा रासायनिक हतियार प्रयोग भएको सम्बन्धमा राष्ट्रसंघ स्थायी समितिका सदस्य मुलुकहरु चीन र रुस एकातिर छन भने अमेरिका,वेलायत र फ्रान्स अर्कोतिर छन । सिरिया मामिला स्थायी समितिमा मंगलवारदेखि नै छलफल हुदै आएको छ । 
प्रतिवेदन विवादित भएपछि राष्ट्रसंघले आफना निरीक्षकहरुलाई केहि साता भित्रै पुन सिरिया पठाउने बताएको छ । राष्ट्रसंघले सो प्रतिवेदन अक्टुबरमा सार्वजनिक गर्न लागेको छ ।
रुसी बिदेशमन्त्री सर्जेइ रयाकबोभले सिरियामा रासायनिक हतियार प्रयोग सम्बन्धी राष्ट्रसंघका निरीक्षकहरुले बुझाएको प्रतिवेदन एक तर्फी र राजनीति प्रेरित रहेको बताए । उनका अनुसार निरीक्षकले गौटा भन्ने ठाउँमा २१ अगस्तमा भएको आक्रमणको मात्र अनुसन्धान गरेको तर त्यसअघि भएका तीन घटनाहरुको वारेमा केहि जाँच बुझ नगरेको पाइएको छ ।
मन्त्री सर्जेइले बीबीसीसँग भने‘कडा शब्द प्रयोग नगरी बोल्ने हो भने राष्ट्रसंघ सचिवालय र हतियार निरीक्षकहरुले जुन शैलीमा काम गरे त्यसबाट हामी असन्तुष्ट छौ किनभने अपूर्ण र आफूले चाहेको तरिकाले त्यो प्रतिवेदन तयार पारेका छन ।’ राष्ट्रसंघीय निरीक्षकले गौटामा घातक ग्याँस सारिन प्रयोग भएको आफनो प्रतिवेदनमा उल्लेख गरेका छन तर उनीहरुको प्रतिवेदनमा त्यो रासायनिक हतियार आक्रमण कसले गरेको थियो भन्ने खुलाइएको छैन ।
पश्चिमा सरकारहरुले त्यो हतियारको प्रयोग राष्ट्रपति बशरअल असदको सरकारको सैन्यबलले प्रयोग गरेको आरोप लगाउँदै आएको छ भने राष्ट्रपति बशरले त्यो हतियार बिद्रोहीले प्रयोग गरेको बताउँदै आएका छन । सिरियाका विद्रोहीहरुले अगस्त २१ मा दमास्कसको बाहिरी क्षेत्रमा रासायनिक हतियार प्रयोग गरेका नयाँ प्रमाण सिरियाली सरकारले उपलब्ध गराएको बताए ।
बीबीसी र अन्य अन्तराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us