एनआरएनसँग सहकार्य गर्ने सरकारी चाहना

काठमाण्डु टुडे २०७० असोज २ गते १७:४४ मा प्रकाशित

NRN Netherlands.ब्रसेल्स, बेल्जियम–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विदेशमा सिकेको सीप र ज्ञान स्वदेशको विकासमा उपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आव्हान गरेका छन । युरोपका विभिन्न देशबाट नेदरल्याण्डको हेगमा भेला भएका गैर आवासीय नेपालीहरुको भेलालाई सम्बोधन गर्दै मन्त्री कोइरालाले गरिवी न्यूनिकरण र आर्थिक समृद्धिको यात्रामा एनआरएनसंग सरकारले सहकार्य चाहेको बताए । 
देश विकासका लागि चाहिने लगानी, प्रविधि र सीप लिएर स्वदेश फर्कन आग्रह गर्दै उद्योग र वाणिज्य मन्त्री समेत रहेका कोइरालाले त्यसका लागि सरकारले उचित वातावरण बनाइदिने आश्वासन दिए ।
आगामी महिना नेपालमा हुने एनआरएनको बिश्व सम्मेलनका लागि सरकारले सहयोग गर्ने बचन दिँदै कोइरालाले भावनात्मक मात्र हैन,भौतिक उपस्थितिकासाथ देश विकासको यज्ञमा होमिन आग्रह गरे ।
कार्यक्रममा गैर आवासीय नेपालीका तर्फबाट एनआरएन नेदरल्याण्डसका अध्यक्ष कृष्णराज अधिकारी,बेल्जियमका अध्यक्ष प्रेम गुरुङ्ग, अष्ट्रेलियाबाट आएका व्यवसायी शेष घलेले नेपालमा लगानीको सुरक्षा मिलाइदिन आग्रह गरेका थिए । उनीहरुले आपूmहरु लगानीका लागि तयार भएपनि राजनीति अस्थिरताका कारण लगानी जोखिममा पर्ने त्रास औल्याए । त्यसको निराकरण गर्न उनीहरुले अर्थमन्त्री कोइरालाको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तोयनारायण ज्ञवाली र उद्योग मन्त्रालयका सहसचिव जित बहादुर थापा पनि सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us