
काठमाण्डु, १ असोज– नेकपा एमालेले मंगलबारबाट उम्मेदवार छनौट प्रकृया शुरु गर्दै छ । देशभरबाट सिफारिस भएर आएका नामावलीमध्येबाट प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार छनौट गर्ने एमालेले जनाएको छ ।
उम्मेदवार छनौटलगायत विषयमा छलफल गर्न मंगलबार केन्द्रीय कार्यालय बल्खुमा स्थायी कमिटीको बैठक बस्दैछ । सोमबारको बैठकले देशभरबाट आएका नामावली स्वीकृत गरेको थियो । ‘स्वीकृत नामावलीमध्येबाट उम्मेदवार छनौट शुरु हुन्छ,’ सचिव शंकर पोख्रेलले भने । एमालेले पहिलो चरणमा प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने स्रोतले जनाएको छ ।
क्षेत्र, जिल्ला र अञ्चल कमिटी हुँदै करिब साढे ७ सय उम्मेदवारको नामावली केन्द्रमा आएका छन् । समानुपातिक तर्फ भने करिब ४ हजार सम्भावित उम्मेदवारको नाम आएको छ ।
बैठकमा नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँगको सहमति प्रयासबारे पनि छलफल हुने नेता अमृतकुमार बोहोराले जानकारी दिए । एमालेले मंसिर महिनामै निर्वाचन हुनुपर्नेमा जोड दिएको छ ।