बेल्जियममा अन्तराष्ट्रिय व्यापार मेलाको उदघाटन

काठमाण्डु टुडे २०७० भदौ ३० गते १०:११ मा प्रकाशित

Opening of the ACCENTA International Trade Fairब्रसेल्स ३० भदौ–बेल्जियमको गेन्ट शहरमा आयोजित फलान्दर्स अन्तराष्ट्रिय व्यापार मेलाको उदघाटन भएको छ । उदघाटन समारोहमा बेल्जियमका राजाका प्रतिनिधि, बेल्जियमका उपप्रधानमन्त्री पिटर डे क्रिम,पूर्वी फलान्दर्स प्रान्तका उपप्रमुख,ब्रसेल्सस्थित बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेल र गेन्ट शहरका मेयरसहित करिव सात सय विशिष्ट व्यक्ति सहभागी थिए । 
उदघाटन समारोहमा यस वर्षको कन्ट्री गेष्ट अफ अनरको रुपमा नेपालको तर्फबाट अर्थ, उद्योग र वाणिज्य तथा आपूर्ति मन्त्री कोइरालाले विशेष सम्बोधन गरेका छन । यस्ता व्यापार मेलाले द्धिपक्षीय व्यापार,निजी क्षेत्र वीचको सम्वन्ध र लगानीका अवसरमा विशेष सहयोग मिल्ने विषय मन्त्री कोइरालाले बताए ।
उद्घाटनपछि मन्त्री कोइराला तथा बेल्जियमका उपप्रधानमन्त्रीले संयुक्त रुपमा पानसमा बत्ती बाली नेपाल पेभेलियनको उदघाटन गरेका छन । मन्त्री कोइरालासहित विशिष्ट अतिथिहरुले कन्ट्री अफ अनरको रुपमा नेपाललाई निशुल्क प्राप्त एक हजार ४८ वर्ग मिटरमा फैलिएको नेपाल पेभेलियनमा रहेका नेपाली स्टलहरुको निरीक्षण गरेका छन । उदघाटन समारोहमा विशिष्ट अतिथिहरुलाई नेपाली स्वागत नृत्य तथा नेपाली झाँकी प्रस्तुत गरिएको थियो ।
सेप्टेम्बर २२ सम्म सञ्चालन हुने सो मेलामा नेपालका ३३ स्टलहरु छन । नेपाल र बेल्जियमबीच दौत्यसम्वन्ध कायम भएको यो वर्ष पचासौ वर्ष भएकोले पनि यो मेलाको विशेष महत्व रहेको मन्त्री कोइरालाको नीजि सचिवालयले जनाएको छ ।
मेलामा उद्योग वाणिज्य महासँघका पूर्व अध्यक्ष कुश कुमार जोशीले नेपालको सहभागिताको व्यवस्थापन गरेका छन । नेपाल उद्योग वाणिज्य महासँघको तर्फबाट बेल्जियमका अर्जुन कुमार श्रेष्ठले सँयोजन गरेको नेपालको सहभागितामा बेल्जियमस्थित नेपाली समुदायको उल्लेख्य सहयोग छ । बेल्जियमस्थित युरो नेपाल कलाकार सँघले व्यापार मेला अवधिभर नेपाली कला र सँस्कृति झल्कने नृत्य तथा झाँकीहरु देखाउने व्यवस्था गरेको छ । यस्तो मेला उपभोक्तालाई लक्षित गरी वार्षिक रुपमा आयोजना गर्ने गरिएको छ । मेला अवधिमा वेल्जियमका राष्ट्रिय टेलिभिजनमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने कार्यक्रम प्रसारण हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us