बालबालिका र किशोरकिशोरीका विषयलाई प्राथमिकता

काठमाण्डु टुडे २०७० भदौ २९ गते १४:११ मा प्रकाशित

                                                                खिलराज रेग्मी 
khilrajबालबालिकाप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिई नेपालले बालअधिकार सम्बन्धी थुप्रै अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुको पक्ष बन्दै आफ्नो क्रियाशीलता कायम राखेको छ । बालअधिकार सम्बन्धी महासन्धि, १९८९, सशस्त्र द्वन्द्वकालको प्रयोग तथा बालबालिकाको बेचबिखन, देहव्यापार र अश्लिल चित्रणविरुद्ध बालअधिकार महासन्धिका दुई ऐच्छिक आलेखहरु, निकृष्ट प्रकारको बालश्रम उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं १९८ लगायत सहश्राब्दी विकास लक्ष्यहरुलाई आत्मसात गर्दै बालबालिकाको हित संरक्षणको लागि नेपाल सरकार क्रियाशील रहँदै आएको छ ।
बालअधिकार सम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको आज २३ वर्ष पूरा भई २४ औं बर्षमा प्रवेश गरेको छ । उक्त महासन्धिलाई अनुमोदन गरेको दिन अर्थात् भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवसले बालअधिकारप्रतिको हाम्रो दायित्वलाई बृद्धि गरेको छ । बालअधिकार सम्बन्धी महासन्धि लागू भएको यसबीचको अवधिमा देशमा बालबालिकाको पक्षमा थुप्रै सकारात्मक परिवर्तनहरु भएका छन् । बालबालिकाहरुका विविध पक्षलाई सम्बोधन गर्ने कानूनी तथा नीतिगत पक्षमा नेपालले आशातीत् सफलता प्राप्त गरेको पनि छ । बालबालिका सम्बन्धी ऐन, २०४८, बालश्रम (निषेध र नियमित) गर्ने ऐन, २०५६ लगायत बालबालिका केन्द्रित कानूनी व्यवस्थाहरु नेपालमा लागू भइरहेको वर्तमान समयमा बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०६९ समेत कार्यान्वयनमा आइसकेको छ । यसका अतिरिक्त बालबालिका सम्बन्धी दश वर्षीय राष्ट्रिय कार्ययोजना निर्माण भई बालबालिका सम्बन्धी अन्य विषयगत राष्ट्रिय कार्ययोजनाहरु पनि कार्यान्वयनमा रहेका छन् । घरपरिवारदेखि विद्यालय, समाज, गाँउ, सहर, जिल्लालाई बालमैत्री बनाउने, विद्यालयलाई शान्तिक्षेत्र बनाउने सम्बन्धी कार्यविधि तथा निर्देशिकाहरु जारी भएको अवस्था पनि हामीसँग रहेको छ । साथै, सबै बालबालिकालाई विद्यालयमा समावेश गराउने र गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यक्रमहरु पनि सञ्चालनमा रहेका छन् । यी सबै विषयहरु बालबालिकाको हित संरक्षणका निमित्त सकारात्मक गतिविधिका रुपमा रहेका छन् । यसप्रकारका गतिविधिबाट के भन्न सकिन्छ भने – बालन्याय र बालस्वास्थ्यको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । साथै, बालअधिकारको विषयमा सचेतना स्तर क्रमिक रुपमा बढीरहेको पनि मान्न सकिन्छ । सरकारी तथा गैरसरकारी क्षेत्रको सहकार्यमा थुप्रै विषयगत उपलब्धिहरु हुनु तथा चालू त्रि¬–वर्षीय तेह्रौ योजनामा बालबालिका र किशोरकिशोरीहरुका विषयलाई प्राथमिकताका साथ समेटिनु यस क्षेत्रमा सक्रिय सबैका लागि सन्तोषको विषय हो ।
यसप्रकारका सकारात्मक प्रयासका अतिरिक्त अझै पनि हामीले सबै बालबालिकाको बाल्यकाललाई पूर्णतः सुरक्षित गर्न थुप्रै प्रयासहरु जारी राख्नुपर्ने अवस्था रहेको छ । शिक्षाको उज्यालो घामबाट कुनैपनि बालबालिका वञ्चित हुनु नपरोस् भन्ने आजभन्दा धेरै वर्षअघिदेखि सुनिँदै आएको नाराले आजसम्म पनि व्यवहारतः साकार रुप धारण गर्न सकेको देखिँदैन । शिक्षा आर्जन गर्न कापी कलम समात्नुपर्ने कलिला हातहरु अझै पनि कतिपय अवस्थामा जबर्जस्ती श्रम, हिंसा र दुव्र्यवहारका शिकार बनिरहेका तथ्यहरु सार्वजनिक भएको दुःखद अवस्था रहेको छ । घरपरिवारबाट परित्याग गरिएका, गुणस्तरीय शिक्षाको अभावमा अनुत्पादक काममा समय खेर फालिरहेका, वयस्क व्यक्तिको स्वार्थका निम्ति बालबालिकाको प्रयोग भइरहेका लगायत अपांगता भएका र अन्य जोखिम परिस्थितिमा रहेका बालबालिकाहरुको संरक्षण र पुर्नस्थापनका निमित्त गर्नुपर्ने सुधारका कार्यहरु रहेका छन् । यस्तो अवस्थामा एकातिर बालबालिका सम्बन्धी राज्यका नीति तथा योजनाहरुको व्यावहारिक कार्यान्वयनका लागि पर्याप्त साधनश्रोतको लगानी र वितरणमा चुनौतीहरु रहेका छन् भने अर्कातर्फ बालबालिकाको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी साधनश्रोतको उद्धेश्यमुलक ढंगले सदुपयोग भएको, नभएको कुरा पनि विश्लेषण गर्नुपर्ने अवस्था रहेको छ । तसर्थ, बालअधिकारको प्रत्याभूति गर्न र बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन वर्तमान कार्यशैली र तरिकालाई रुपान्तरण गर्न आवश्यक छ भन्ने मलाई लाग्दछ । यस कार्यमा बालबालिकाको अधिकार तथा हित विपरित हुने कुनैपनि प्रकारका अस्वीकार्य व्यवहार निराकरणको प्रयासमा सरकारी निकायका अतिरिक्त विभिन्न दातृ निकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरु, नागरिक समाज, संचारमाध्यम र सरोकारवाला निकायहरुले आ–आफ्ना कार्यक्षेत्रबाट सकारात्मक परिवर्तनका लागि प्रयासरत रहेका छन् भन्ने मेरो विश्वास रहेको छ । बालअधिकारको संरक्षण र प्रबद्र्धन गर्ने अभियानमा बालबालिकाप्रति हुने सबै प्रकारका दुव्र्यवहार तथा शारीरिक र मानसिक यातना अन्त्य गर्नेतर्फ आवश्यक रणनीति तर्जुमा गर्न सरकारले गम्भीरतापूर्वक कार्य अघि बढाउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु । साथै, यस कार्यमा बालबालिका, अभिभावक, सरोकारवाला सबैले आ–आफ्ना स्तर तथा क्षेत्रबाट सक्दो प्रयास कायम राख्नुहुन विशेष आग्रह पनि गर्दछु ।
अन्त्यमा, ूबालबालिकाको कुरा सुनौः बाल दुव्र्यवहार अन्त्य गरौंू भन्ने यसवर्षको राष्ट्रिय बाल दिवसले दिएको सन्देशले सबैको मनमस्तिष्क र व्यवहारलाई सकारात्मक दिशातर्फ क्रियाशील रहन अभिप्रेरित गरोस् भन्ने कामना गर्न चाहन्छु । राष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण बालबालिकाहरुको सुखद बाल्यकालाको कामना गर्दै उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us