सिरियामा सैन्य कारवाही गर्ने निर्णय अमेरिकाले फिर्ता लिने

काठमाण्डु टुडे २०७० भदौ २९ गते ९:४४ मा प्रकाशित

काठमाण्डु, २९ भदौ–अमेरिकाले सिरियामा गर्ने भनेको हमलाको घोषणा फिर्ता लिने भएको छ । यसअघि अमेरिकाले सिरियाली सरकारले आफ्नै नागरिकमाथि रासायनिक हमला गरेको दाबीपछि सिरियामा सैन्य कारवाही गर्ने घोषणा गरेको थियो ।

रुसले स्वीजरल्याण्डको जेनेभामा जारी अमेरिकासँगको वार्तामा सिरियाविरुद्धको कारवाहीप्रति बारम्बार आपत्ति जनाएपछि अमेरिकाले हमलाको घोषणा फिर्ता लिने भएको हो । सिरियामा रासायनिक हतियार प्रतिबन्ध लगाउनेबारे बिहिबारदेखि सुरु अमेरिका र रुसबीचको छलफलमा अमेरिकाको सो निर्णय आएको हो । जारी वार्तामा दुवै देश सन् २०११ बाट सुरु सिरियाली सरकार र विद्रोहीबीचको युद्धको अन्त्य गर्दै सिरियामा शान्ति स्थापनाका लागि गर्न सहमत भएको बताइएको छ ।

यसअघि, सिरिया आफूसँग रहेका रासायनिक हतियार अन्तर्राष्ट्रिय समुदायको नियन्त्रणमा राख्न सहमत भएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा सैन्य कारवाहीका लागि कंग्रेसमा सुरु गराएकोे मतदान रोकिएको थिए ।

संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले सिरियाली राष्ट्रपति मानवता विरुद्ध अपराधका लागि दोषी रहेको र युद्धविराम अघि उनी जिम्मेवार बन्नुपर्ने तर्क राखेका छन् । महासचिव मुनले आगामी सोमबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई सिरियामा रासायनिक हतियार प्रयोगबारेको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us