भावी मुद्रास्फीतिको भूत

काठमाण्डु टुडे २०७० भदौ २५ गते २:५९ मा प्रकाशित

brijitब्रिजिट ग्रान्भिल

अहिले विश्वको अर्थतन्त्रलाई सताइरहेका समस्यामध्ये मुद्रास्फीति सबभन्दा कम महŒव दिइएको समस्याका रूपमा देखिन्छ । २००८ पछिको आर्थिक सङ्कट बढ्दो सरकारी ऋणग्रस्तताबाट उत्पन्न भएको हो । त्यसको सम्बोधन गर्दा नीतिनिर्माताहरूले ऋणविस्फीति (डेब्ट डिफ्लेशन)को चुनौतीमा दृष्टि दिएका छन् र त्यो सही पनि हो । किनभने यस्तो ऋणविस्फीतिले आर्थिक मन्दी पनि ल्याउन सक्छ । 

तर ‘हिजोको समस्या’ भन्दै मुद्रास्फीतिलाई लत्याइयो भने अहिलेका जल्दाबल्दा मुद्दाहरूलाई सम्बोधन गर्ने केन्द्रीय बैङ्कका प्रयासहरू कमजोर हुन सक्छन् र अन्ततः मुद्रास्फीति फेरि बिउँझन सक्छ । १९६० को अन्त्य र १९८० को शुरूको बीचको महामन्दी कसरी समाधान भयो भन्ने बुझियो भने दीर्घकालीन आर्थिक समस्याको समाधान प्राप्त हुन्छ । हालको हाम्रो समस्या त्यस बेलाको भन्दा निकै फरक भए पनि यस बुझाइले हाम्रा अगाडि आउने खतराको बारेमा राम्रो ज्ञान पनि दिन सक्छ ।

पहिलो उपयोगी पाठ अपेक्षासँग सम्बन्धित छ । दोस्रो विश्वयुद्धपछिका दशकहरूमा मन्दी र रोजगारीका बीच छनोट गर्नुपर्ने अवधारणा आर्थिक चिन्तनमा हाबी थियो । यो विलियम फिलिपले १९५८ मा व्याख्या गरेको सम्बन्धमा आश्रित थियो । तर, धेरै देशले ‘स्ट्याग्फ्लेशन’ (मूल्यवृद्धि र तीव्र बेरोजगारीको अवस्था) भोगिरहेका बेला १९७० का दशकमा फिलिप कर्भको अवधारणा काम नलाग्ने साबित भयो । आर्थिक अभियानबाट

मिल्टर फ्रिडम्यान र एडमण्ड फेल्प्स तथा अन्यले पनि यसको सप्रमाण आलोचना गरे र फिलिप कर्भले छोटो समयावधिको सम्बन्धमात्र देखाउँछ भनी तर्क गरे । यदि जनताले मुद्रास्फीतिको अपेक्षा गरेनन् भने क्रयशक्ति बढेको भ्रमपूर्ण दृष्टिले गर्दा सापेक्षित रूपमा छोटो समयका लागि भए पनि रोजगारी र आर्थिक विकास बढ्न सक्छ । तर, कामदारले वास्तविक ज्यादा वृद्धि नभएको बुझ्न थाल्नेबित्तिकै बेरोजगारी आफै ‘प्राकृतिक’ तहमा फर्कनेछ ।

त्यसको केही पछि रोबर्ट लुकास र थोमस सार्जेण्टजस्ता नव शास्त्रीयतावादी अर्थशास्त्रीले के देखाए भने बजारमा आशा जगाउन मुद्रास्फीतिलाई गलत तरीकाले तोडमोड गरिँदै छ भन्ने बुझ्नेबित्तिकै मौद्रिक अधिकारीका प्रयासहरू असरहीन हुन थाल्छन् । परिणामतः मूल्यवृद्धि हुन्छ र रोजगारी सृजना हुँदैन ।

यी विचार र पाउल भोल्करको अध्यक्षतामा अमेरिकाको फेडरल रिजर्भले देखाएजस्तो प्रभावकारी नीतिको अभ्यासलाई समेत हेरेर धेरै देश मुद्रास्फीति बढाउने लक्ष्यतर्फ लागे । यस्तो नीतिमा केन्द्रीय बैङ्कहरूले मूल्यवृद्धिको पूर्वनिर्धारित दर तोकेर त्यसप्रति विश्वसनीय प्रतिबद्धता देखाउँछन् र यसरी मुद्रास्फीतिको अपेक्षालाई स्थिर बनाउँछन् । विकसित अर्थतन्त्रमा १९९० देखि मुद्रास्फीति पुरानो समाचार बन्न थाल्यो र यसैलाई छिटै धेरै विकासोन्मुख देशले पनि अनुसरण गर्न थाले ।

अहिले फेरि फेडले त्यस्तै अपेक्षाको खेल खेलिरहेको छ । तर, मुद्राविस्फीति र मन्दीको चुनौती हटाउन फेडले कम बेरोजगारी दरको (साढे ६ प्रतिशतको) लक्ष्य राखेको छ । त्यो लक्ष्यतर्फ प्रगति हुँदै गएपछि फेडका अध्यक्ष बेन बर्नाङ्कीले मेको अन्त्यमा के घोषणा गरे भने फेडले ‘क्वाण्टिटेटिभ इजिङ’ भन्ने नाम दिइएको दीर्घकालीन सम्पत्ति किन्ने कार्यक्रमलाई घटाउनेछ । त्यो सम्भावनाले वित्तीय बजारको अस्थिरतालाई पुनः चर्कायो । त्यसैले बेरोजगारीसम्बन्धी लक्ष्यमा प्राप्त अपर्याप्त सफलता र घट्दो मुद्रास्फीतिका बीच जुलाइमा बर्नाङ्कीले लगानीकर्तालाई शान्त पार्न खोज्दै के भने भने फेडले मौद्रिक प्रोत्साहनको कार्यक्रमलाई चाँडै छाड्नेछैन ।

यसले फेडको दोहोरो कार्यादेश प्रतिविम्बित गर्छ, जसअनुसार मौद्रिक नीतिले मूल्य स्थिरताको लक्ष्यसँग मिल्ने खालको हदसम्म अत्यधिक रोजगारी भएको अवस्था प्राप्त गर्नुपर्छ । तर, अपेक्षालाई स्थिर गर्न चाहिने विश्वसनीयता ल्याउन भने कठिन छ । एकैपटक यी दुइटा लक्ष्य पूरा गर्न खोज्नु भनेको असम्भव काम गर्न खोज्नु हो । यसका फलस्वरूप उत्पन्न अनिश्चितताले अझ बढी अस्थिरता (खासगरी ऋणपत्र बजारमा) बढाउन सक्छ । यसले आर्थिक सुधारमा अवरोध ल्याउन सक्छ । उदाहरणका लागि लामो अवधिको धितोमा दिइने ऋणको ब्याजदर बढ्छ अथवा भावी मुद्रास्फीतिको जोखीम बढ्छ ।

यसको विपरीत मुद्रास्फीति मात्र लक्षित गर्दा भने विश्वसनीयता स्वतः कायम हुन्छ । यसरी फेड र अरू केन्द्रीय बैङ्कका लागि मुद्रास्फीतिलाई मात्र एकल लक्ष्य बनाउनु बढी सुरक्षित र धेरै प्रभावकारी हुन्छ । र, त्यसरी प्राप्त विश्वसनीयतालाई आर्थिक सुधारमा सहयोग गर्न प्रयोग गर्नुपर्छ ।

उदाहरणका लागि, कुनै केन्द्रीय बैङ्कले के घोषणा गर्न सक्छ भने आगामी २ वर्षको अवधिबारे विचार गर्दा मुद्रास्फीतिको लक्ष्य सामान्य अवस्थामा भन्दा दोब्बर हुनुपर्ने आवश्यकता छ । यसो गर्दा ऋणविस्फीतिको जोखीम घट्न सक्छ र मुद्रास्फीतिको अपेक्षाको सीमा निर्धारित हुन्छ । तथा, आर्थिक स्थिति बलियो हुँदै जाँदा हुने भावी मूल्यवृद्धिको हानिकारक प्रभाव कम हुन्छ ।

समस्या उत्पन्नै हुन नदिने खालका यस्ता उपायहरू महामन्दीको दोस्रो सान्दर्भिक पाठका दृष्टिले महत्वपूर्ण छन् । त्यो दोस्रो पाठ के हो भने मूल्य स्थिरताका लागि मौद्रिक अनुशासन अत्यावश्यक हुन्छ । धेरै वर्षसम्म उच्च बजेट घाटा धान्ने हो भने कर्जाको आकार बढेर जान्छ र त्यो धान्नै सकिँदैन । त्यसलाई मुद्रास्फीतिको उपायले चुक्ता गर्नुपर्छ वा कर्जा पुनःसंरचना गर्नुपर्छ । अहिले के देखिन्छ भने अर्थतन्त्र तीव्र गतिमा वृद्धि भइरहेको, बेरोजगारी घटिरहेको र सरकारी तथा पारिवारिक आय पनि बढिरहेको हालको अवस्थामा अमेरिका र शायद बेलायत पनि ‘क्वाण्टिटेटिभ इजिङ’ को कार्यक्रमलाई बिस्तारै परित्याग गर्दै छन् । तर, सरकारी ऋणको पहाडलाई थेग्ने गरी कर राजस्वको पनि तीव्र वृद्धि होला र ?

सार्वजनिक ऋण विगतकै जस्तो तीव्र गतिमा नभए पनि अहिले विद्यमान ठूलो परिमाणको ऋण त तिर्नैपर्छ । यस समस्याको सर्वोत्तम उपचार भने नियन्त्रित तर उच्च मुद्रास्फीति हुन सक्छ । यो भनेको माथि उल्लेख गरेको मुद्रास्फीतिको लक्षित दरबारे अस्थायी वृद्धि हो । यसो गर्दा सार्वजनिक ऋणको वास्तविक मूल्य घट्छ र पछि गएर हठात् मुद्रास्फीति भएर उत्पन्न हुन सक्ने अझ विनाशकारी जोखीमबाट जोगिन यसले सहयोग गर्छ ।

तर, यस्तो तरीका अमेरिकामा काम लाग्ने भए पनि यूरोपेली केन्द्रीय बैङ्क (इसीबी)ले भने मुद्रास्फीतिको लक्ष्य बढाउनै नपाउने संस्थागत व्यवस्था छ । हुन त गत अगष्टमा यसले अल्पकालीन सरकारी ऋणपत्र असीमित परिणाममा किन्ने घोषणा गरेपछि बजार शान्त भयो । तर, वास्तविकता के छ भने ‘आउटराइट मोनेटरी ट्रान्स्याक्सन’ भनिने इसीबीको कार्यक्रमलाई सक्रिय गर्ने हो भने सरकारी खर्च कटौती पनि गर्दै जानुपर्छ । त्यसो गर्दा यूरोजोनका सङ्कटग्रस्त अर्थतन्त्रहरूमा वृद्धि हुन सक्तैन ।

यस अवस्थामा यूरोजोनका सबैभन्दा बढी ऋणमा डुबेका देशहरूले आफ्ना साहूहरूलाई ऋणको पुनःसंरचना स्वीकार गर्न दबाब दिनुपर्छ । यसको विकल्पमा आर्थिक वृद्धि बढाउने खालको अवमूल्यन हुन सक्छ र त्यो भनेको यूरोजोनको विखण्डन हो । तर, यस्तो अवमूल्यन धेरै दिनसम्म चल्न सक्छ र त्यसो भएमा कर्जाको पुनःसंरचना त तैपनि गर्नैपर्ने हुन सक्छ । आगामी वर्षहरूमा यूरोप मन्दीको तावाबाट उफ्रेर अत्यधिक मुद्रास्फीतिको भुङ्ग्रोमा पर्न सक्ने देखिन्छ । त्यस्तो भएमा महामन्दीका पाठहरू अकस्मात् सान्दर्भिक हुनेछन् ।

ब्रिजिट ग्रान्भिल क्वीन म्यारी, युनिभर्सिटी अफ लण्डन, स्कूल अफ बिजनेश एण्ड म्यानेजमेण्टमा अन्तरराष्ट्रिय अर्थशास्त्र र आर्थिक नीति विषयकी प्राध्यापक हुन् र रिमेम्बरिङ इन्फ्लेशनकी लेखिका हुन् । आर्थिक अभियानबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us