सिरियामा कारबाही योजना स्थगित हुनसक्छ : अमेरिकी राष्ट्रपति

काठमाण्डु टुडे २०७० भदौ २५ गते ३:१२ मा प्रकाशित

अमेरिकी राष्टपति बराक ओबामाले सिरियामा कारबाही गर्ने योजना स्थगित हुनसक्ने बताएका छन । सिरियाले आफ्नो रासायनिक हतियार केन्द्रलाई obamaअन्तर्राष्ट्रिय निकायको नियन्त्रण राख्ने प्रतिवद्धता जनाएमा सैन्य कारबाहीको योजना स्थगित हुनसक्ने ओबामाले बताएका हुन । अमेरिकी संसदलाई सम्बोधन गर्दै ओबामाले सिरियाले यस्तो काम गर्नेमा शंका व्यक्त गरे । अमेरिकी संसदमा यस विषयमा बहस भैरहेको छ । रुसले भने सिरियासामु रासायनिक हतियार नष्ट गर्ने विकल्प पेश गरेको छ । अमेरिकाले सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै आएको छ भने सिरियाले आरोपको खण्डन गरेको छ ।

शान्ति सम्मेलन आयोजना गर्न अमेरिकालाई आग्रह

रुस र सिरियाले संयुक्त राज्य अमेरिकालाई सिरियाली द्वन्द्वको समाधान गर्न सैन्य कारवाहीको सट्टा एउटा शान्ति सम्मेलन आयोजना गर्नेतर्फ ध्यान दिन आग्रह गरेका छन्।

आफ्नो सिरियाली समकक्षीसंगको वार्ता पछि मस्कोमा बोल्दै रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले भने, एउटा राजनीतिक समाधान अँझै संभव छ। उनले अमेरिकाले सिरियामा हमला गरेमा त्यसले आतङ्कवाद विस्तार गर्नसक्ने चेतावनी पनि दिए।सिरियाका विदेश मन्त्री वालिद अल मुआलेमले अमेरिकामाथि आतङ्ककारीहरुलाई समर्थन गरेको आरोप पनि लगाए।

यसैबीच अमेरिकी विदेश मन्त्री जोन केरीले यदि सिरियाले एक साता भित्र आफ्ना रासायनिक अस्त्रहरु बुझाएमा उ विरुद्ध अमेरिकी सैन्य हमला नगरिने जनाएका छन्।तर उनले भने, राष्ट्रपति असदले त्यसो गर्ने वाला छैनन्।

हमला

गत महिना सिरियाली सैन्यले दमस्कस बाहिर सैयौंको ज्यान जानेगरी रासायनिक हमला गरेको भन्दै अमेरिकाले उ विरुद्ध सैन्य कारवाही गर्न आफ्ना सहयोगी मुलुकहरुको समर्थन जुटाउन प्रयास गरिरहेको छ।

लण्डनमा बोल्दै विदेश मन्त्री केरीले भने, अमेरिकी हमला सिरिया विरुद्धको युद्ध चाहिँ होइन। उनले भने, सिरियाली द्वन्द्वको समाधान राजनीतिक हुनुपर्छ, सैनिक होइन। उनले भने, सिरिया विरुद्ध कारवाहीको तुलनामा चुपचाप लागेर बस्दा त्यसको ठूलो मूल्य चुकाउनु पर्नेछ।ब्रिटिश विदेश मन्त्री विलियम हेगले अमेरिकाप्रति ब्रिटेनको पूर्ण कूटनीतिक समर्थन हुने जनाए।

उनले भने, ब्रिटेनले सिरियाली विद्रोहीहरुलाई रासायनिक हमलाबाट बँच्ने उपकरणहरु सहित अन्य सहयोग गरिरहेको छ। यसअघि ब्रिटिश संसदले सिरिया विरुद्धको सैन्य हमलामा अमेरिकालाई नसघाउने पक्षमा मतदान गरेको थियो।

यसअघि सोमबार पेरिसमा अरब लिगका विदेश मन्त्रीहरुलाई भेटेपछि अमेरिकी विदेश मन्त्री जोन केरीले रासायनिक अस्त्र प्रयोग गरेर सिरिया सरकारले, उसकै शब्दमा, एउटा अन्तर्राष्ट्रिय लक्ष्मण रेखा नाघेको भन्ने कुराप्रति सबैको एकमत भएको बताएका थिए। उनले भने, दमास्कसमा गत महिना गरिएको रासायनिक अस्त्र हमलाको जवाफमा सैन्य हमला गर्न समर्थन बढिरहेको छ। तर उनले त्यसको विवरण दिएनन्।

प्रतिवेदन

सिरियामा हमला गर्ने विषयमा फ्रान्सले अमेरिकाको समर्थन गरेको छ, तर अन्य युरोपेली मुलुकहरुजस्तै उसले पनि राष्ट्रसंघीय अस्त्र निरीक्षकहरुको प्रतिवेदन पर्खन चाहेको छ। अमेरिकाले सिरियालाई दण्डित गर्न उ विरुद्ध सैन्य कारवाही गर्नुपर्ने बताउंदै आएको छ भने रुस र चीन त्यस्तो कारवाहीको विपक्षमा छन्। गत मार्च दुईहजार एघारमा राष्ट्रपति असदविरुद्ध जनविद्रोह शुरु भएयता सिरियामा एकलाख भन्दा बढीको ज्यान गैसकेको विश्वास गरिन्छ।  बिबिसी 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us