काँग्रेसले वीपीको जन्मजयन्ती मनाउदै

काठमाण्डु टुडे २०७० भदौ २४ गते ४:५९ मा प्रकाशित

bp_koiralaकाठमाण्डु, २४ भदौ – प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको सोमबार एक सयौं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विक्रम सम्वत १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मिएका कोइरालाले २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरेका थिए ।

राणाशासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बनेका थिए । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले एकतन्त्रीय राणाशासन र पञ्चायत विरोधी आन्दोलनको नेतृत्व गरेका थिए । २०१७ साल पुस १ गते कोइराला प्रधानमन्त्रित्वको सरकारलाई अपदस्त गरी तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था लागु गरेपछि वीपीले ८ बर्ष जेल जीवन बिताउनु परेको थियो । त्यसलगत्तै २०२५ सालमा भारत निर्वासनमा गएका वीपी विदेशीका कारण नेपालको आन्तरिक राष्ट्रियतामा आघात पुगेको निष्कर्षसहित राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्किएका थिए ।

उनलाई क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनीको उपमा पनि दिने गरिन्छ । प्रजातान्त्रिक समाजवादका पक्षधर वीपी सधै ग्रामिण अर्थतन्त्रमुखी विकासका चिन्तक थिए । नेपाली राजनीतिमा अग्रणी नेता वीपी नेपाली साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी मानिन्छन् ।

कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित छन् । कोइरालाका आत्मकथा, जेल जर्नल, दोषी चस्मा, हिटलर र यहुदी, सुम्निमा, मोदीआइन, स्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाई, बाबु आमा र छोरालगायतका थुप्रै कृति प्रकाशित छन् ।

नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएका कोइरालाको घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us