चुनाव रोक्न कसैले सक्दैन : शीर्ष नेता

काठमाण्डु टुडे २०७० भदौ २१ गते १०:५० मा प्रकाशित

वीरगन्ज, २१ भदौ – मुख्य दलका शीर्ष नेताहरुले आगामी मंसिर चार गते हुने संविधानसभा निर्बाचन कसैले रोक्न नसक्ने बताएका छन् । पर्साको वीरगन्जमा शुक्रबार भएको छुट्टा छुट्टै कार्यक्रमलाई सम्वोधन गर्दै उनीहरुले नेकपा–माओवादीलाई आन्दोलन छाडेर चुनावमा सहभागी हुन आग्रह गरेका छन् ।

prachanda–jhalanath_20110513033100क्रान्तिकारी पत्रकार स‌घले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गतेको संविधानसभा निर्वाचनलाई सफल तुल्याउनु नै अहिले राष्ट्रिय राजनीतिको मुख्य एजेन्डा भएको बताए । जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने उपयुक्त विधि र प्रक्रिया नै संविधानसभा निर्वाचन भएकाले ऐतिहासिक अवसरलाई सदुपयोग गर्न उनले वैद्य माओवादीलाई सुझाव दिए ।

‘मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि सम्पूर्ण प्रक्रिया सुरु भइसकेकाले निर्वाचन हुने सुनिश्चित भइसकेको छ, त्यसैले अब सबैले निर्वाचनलाई नै केन्द्रबिन्दु बनाएर आफ्ना कार्यक्रमहरू अगाडि बढाउनुपर्दछ,’ उनले भने ।

यसैगरी प्रेस चौतारी नेपाल पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष झलनाथ खनालले मंसिर ४ गतेका लागि घोषित संविधानसभाको निर्वाचन कसैले रोक्न नसक्ने जिकीर गरे । ‘जनताले अहिले विकास, स्वतन्त्रता र स्वाभिमान चाहेका तथा उनीहरूको यो चाहना निर्वाचनले मात्र पूरा गर्न सक्ने भएकाले निर्वाचनलाई कसैले चाहेर पनि रोक्न सक्दैन,’ उनले भने ।

अध्यक्ष खनालले घोषित निर्वाचनको मिति सार्ने र सरकार परिवर्तनबाहेक अरू विषयमा नेकपा–माओवादीलगायत असहमत दलहरूसँग लचिलो हुन सकिने स्पष्ट पारेका छन् ।
यस्तै शुक्रबार वीरगन्जमा आयोजित कार्यकर्ता भेटघाटमा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीभित्रको मतमतान्तरलाई थाती राखी आगामी मंसिर ४ गतेको संविधानसभा निर्वाचनमा होमिन सबै कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । देउवाले पार्टीभित्र केही विवाद हुने भए पनि त्यसलाई ठूलो विषय नबनाउन र निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us