
नर्वे । नेपाली जनप्रगतिशिल मंच नर्वेले नेपालको दुर्गम जिल्ला डोटीमा रहेको श्री शहिद स्मृति आवाशीय विद्यालयलाई दुई लाख नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
गत साउन १० गते प्रतिष्ठानको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच मंचका महासचिव गोरख चन्दले शहिद प्रतिष्ठान नेपालका कार्यालय प्रमुख कान्तिराम ढुंगानालाई नगद हस्तान्तरण गर्नु भएको थियो । उक्त सहयोग विद्यालयको कम्पाउन्ड अर्थात काँडेतार–जाली निर्माणकोलागि प्रयोग गरिने भएको छ । सुदूरपश्चिमको दुर्गम जिल्लामा रहेको यो आवाशीय विद्यालय शहिद प्रतिष्ठान नेपालद्वारा संचालित गरिएको विद्यालय हो ।
आर्थिक सहयोगकालागि मञ्चका प्रतिनिधिद्वारा डोटी र दाङका दुईवटा विद्यालयहरुको स्थलगत अवलोकन गरिएको थियो । विद्यालयको दयनिय अवस्था र पिछडिएका, असहाय, टुहुरा तथा बिपन्न बालवालिका भएकोकारण आर्थिक सहयोगकोलागि डोटीको शहीदस्मृति आवाशीय विद्यालयलाई छानिएको हो । आर्थिक अभावका कारण विद्यालयलाई चाहिने अत्यावश्यक भौतिक पूर्वाधार अझैसम्म पूरा हुन सकेको छैन ।
मन्चका अध्यक्ष डा. कृष्ण अर्यालका अनुसार यस्तै प्रकारका सामाजिक कार्यमा सक्दो आर्थिक सहयोग गर्ने मनसाय छ ।
शहिद प्रतिष्ठान अन्तर्गत पूर्वान्चल इटहरीको हासपोसा गाबिसमा, मध्यमाञ्चल दोलखाको जीरीमा, पश्चिमाञ्चलको पोखरामा, मध्यपश्चिमाञ्चलको दाङमा र सुदूरपश्चिमाञ्चलको डोटीमा गरी जम्मा ५ वटा आवाशीय विद्यालयहरु संचालनमा रहेका छन् । यी आवासीय विद्यालयहरुमा युद्धमा बुवा–आमा गुमाएका टुहुरा बालबालिका, स्थानिय अति गरीब, असहाय तथा दलित समुदायका बालबालिकाहरु भएको शहिद प्रतिष्ठानले जनाएको छ ।
फोटो : डोटीमा रहेको श्री शहिद स्मृति आवाशीय विद्यालय भवन