अफगानिस्तान र मालदिभ्स सेमिफाइनलमा

काठमाण्डु टुडे २०७० भदौ २० गते ०:३७ मा प्रकाशित

Saff-Championship-2013काठमाण्डु, १९ भदौ – अफगानिस्तान र मालदिभ्स काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रबेश गरेका छन् । अफगानिस्तानले श्रीलंकालाई ३–१ ले तथा मालदिभ्सले भुटानलाई ८–२ ले हराउँदै समूह ‘बी’बाट सेमिफाइनलमा पुगेका हुन् ।

सशस्त्र प्रहरी बलको हलचोक मैदानमा बुधबार भएको खेलमा अफगानिस्तानले श्रीलंकालाई तीन–एक गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बन्यो । लगातार दोस्रो हारसँगै श्रीलंका भने प्रतियोगिताबाट बाहिरीएको छ ।

श्रीलंकाले खेलको ३६ औं मिनेटमा मोहम्मद फैजलको गोलबाट अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । अफगानिस्तानका मोहम्मद रफिले ६२ औं मिनेटमा गोल गर्र्दै खेल बराबरीमा गरे । ७७ औं मिनेटमा हारुन फारुद्धिनले गोल गर्दै आफ्नो टोलीलाई दुई–एकको अग्रता दिलाएका थिए । ८६ औं मिनेटमा हस्तमुल्लाहले गोल गरेपछि अफगानिस्तान तीन–एक गोलले विजयी भयो ।

यसैबीच दशरथ रंगशालामा बुधबारै भएको दोस्रो खेलमा मालदिभ्सले भुटानलाई ८– २ गोल अन्तरले हराएको छ । पहिलो हाफसम्म उत्कृष्ट प्रदर्शन गरे पनि दोस्रो हाफपछि भुटानले लगातार गोल खाएको थियो । गोलरक्षक रातो कार्ड खाँदै बाहिरिएपछि भुटान दवावमा परेको थियो ।

यस्तै नेपालले समुह चरणको अन्तिम खेलमा विहीबार भारतको सामना गर्नेछ । नेपाललाई बराबरी गरे मात्रै पनि सेमिफाइनलमा पुग्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us