तेस्रो खेलमा पराजयसागै नेपाल बाहिरियो

काठमाण्डु टुडे २०७० भदौ ५ गते १४:५७ मा प्रकाशित

काठमाण्डु, ५ भदौ । सिंगापुरमा जारी एसीसी इमर्जिङ टिम्स् कपमा लगातार तेस्रो खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
सिंगापुरको पदाङमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानको २३ वर्ष मुनिको राष्ट्रिय टिमबाट ९ विकेटको फराकिलो अन्तरले पराजित भएपछि नेपाल समूह चरणबाटै घर फर्किन बाध्य भएको हो । यसअघि समूह चरणको पहिलो खेलमा जित नजिक पुगरे पनि अफगानिस्तानबाट ३ रन पराजित भएको नेपाल दोस्रो खेलमा भारतबाट ८४ रनले पराजित भएको थियो ।
टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै १० विकेटको क्षतिमा १ सय ५६ रन जोड्यो । नेपालका लागि ओपनर सुवास खकुरेलले ७८ रनको महत्वपूर्ण योगदान गरे । ४० ओभरसम्म पिचमा टिकेका सुवासले १ सय २७ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे । अन्त्यसम्म पिचमा टिकेका वसन्त रेग्मी १६ रनमा अविजित रहे । वसन्तले सुवासलाई गतिलो साथ दिएपछि नेपालको आशा पलाएको थियो । तर सुवास मोहमद नावजको बलमा क्याचआउटको शिकार भएपछि नेपाली इनिङ सम्हाल्ने कोही भएनन् ।
सुवासबाहेक अन्य ब्याट्सम्यानले टेस्ट, वान डे र ट्वान्टी–ट्वान्टी क्रिकेट खेलिसकेका अनुभवी पाकिस्तानी बलरसँग खुलेर खेल्न सकेनन् । अर्का ओपनर अनिल मन्डल ५ रनमा आउट भए । यस्तै कप्तान पारस खड्का १ रनको झिनो स्कोरमा पेभिलियन फर्किए भने उपकप्तान ज्ञानेन्द्र मल्लले पनि १० रनभन्दा बढी जोड्न सकेनन् । विनोद भण्डारीले १६ रन जोड्दा शरद भेषवाकर ८ रनमा रन आउट भए ।
अघिल्लो खेलमा भारतविरुद्ध अर्धशतक प्रहार गरेका सागर पुन ५ बल खेल्दै ५ रनको झिनो स्कोरमा पेभिलियन फर्के । शक्ति गौचन २ र चन्द्र साउद १ रनमा आउट भए । बलिङतर्फ पाकिस्तानका राजा हसनले ३ विकेट लिए भने उस्मान क्वादिरले २ नेपाली ब्याट्सम्यानलाई आफ्नो सिकार बनाए ।

१ सय ५७ रनको झिनो लक्ष्य पाकिस्तानले ३३ ओभर १ बल खेल्दै १ विकेटको क्षतिमा पार गर्‍यो । पाकिस्तानको जितमा ओपनर बाबा अजमले शतक प्रहार गरे । एक सन बनाउन क्रममा १ सय १८ बल खेलका अजमले ११ चौका हिर्काए । अर्का ओपनर अजिम गुम्नाम १५ रनमा आउट हुँदा हमाम अजामले पनि नटआउट ४४ रन जोडे । बलिङतर्फ नेपालका वसन्त रेग्मीले एक विकेट लिए ।

यता बुधबार नै भएको समूह ‘बी’ को अर्काे खेलमा श्रीलंकाको यू–२३ टिमले लगातार तेस्रो खेलमा जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको छ । श्रीलंकाले समूह चरणको तेस्रो खेलमा घरेलु टिम सिंगापुरलाई १३ रनले पराजित गर्‍यो । हारपछि सिंगापुर प्रतियोगिताको समूह चरणबाटै बाहिरियो ।
सिंगापुरको कलाङ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकन युवा टिम ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआउट भयो ।

श्रीलंकाको लागि ओपनर उदीरा जयसुन्दीराले सबैभन्दा बढी ७२ रन जोड्दा निरोशन डिक्वालाले ३४ रनको योगदान गरे । बलिङमा सिंगापुरका मोहमेद सोएबीवले ४ विकेट लिए भने चमीन्द्रा कुमारंग्नेले ३ विकेट लिए ।
१ सय ९२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७८ रन मात्र जोड्न सक्यो । सिंगापुरका लागि अनिश परामले नटआउट ६२ रन जोडे । यस्तै रुवानले ३३ रन बनाए । सिंगापुरको इनिङलाई कमजोर योगफलमा रोक्ने क्रममा श्रीलंकाका अमिला अपन्सोले १ विकेट लिए । उनले १० ओभर बलिङ गर्दा २ मेडन ओभर फ्याक्दै २४ रन मात्र दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us