इमर्जिङ टिम्स् कपमा नेपालको लागतार दोस्रो हार

काठमाण्डु टुडे २०७० भदौ ४ गते १६:२६ मा प्रकाशित

काठमाण्डु, ४ भदौ । सिंगापुरमा जारी एसीसी इमर्जिङ टिम्स् कपमा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ ।
9सिंगापुरको पदाङमा भएको खेलमा नेपाली टिमलाई भारतको २३ बर्ष मुनिको राष्ट्रिय टिमले ८४ रनले पराजित गरेको छ । लगातार दुई खेलमा जित हात पारेपछि भारत अन्तिम चारमा पुगेको छ । यता नेपालको अन्तिम चारको यात्रा कठीन बनेको छ । अन्तिम खेलमा नेपालले पाकिस्तानको यू–२३ पराजित गर्दा भारतबाट अफगानिस्तान पनि पराजित भए नेपालले सेमिफाइनलको यात्रा तय गर्न सक्नेछ ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा २ सय ६८ रन जोड्यो । भारतको लागि ओपनहरुले उत्कृष्ट प्रदर्शन गरे । ओपनर लोकेश राहुलले ८८ रनको पारी खेल्दै भारतको इनिङ मजबुत पारे । यस्तै उन्मुक्त चन्दले पनि ६१ रनको अर्धशतकीय  पारी खेले । कप्तान सूर्यकुमार यादवले आक्रमक इनिङ खेल्ने क्रममा ३९ बलमा ६५ रन जोडे । बलिङतर्फ नेपालका बसन्त रेग्मीले ३ विकेट लिए । खर्चिलो बलर सावित भएका स्पिनर वसन्तले १० ओभर बलिङ गर्दा ९० रन खर्चिए । यस्तै शक्ति गौचन र अभिनाश कर्णले १–१ विकेट लिन सफल भए ।
सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ८४ रन मात्र जोड्न सक्यो । नेपालका लागि सागर पुनले सबैभन्दा बढी नटआउट ५२ रनको योगदान गर्दा शक्ति पनि १४ रनमा नटआउट रहे । ४९ रन बनाउदा पहिलो विकेट गुमाएको नेपालले सन्तोषजनक सुरुआत गर्‍यो ।
ओपनर अनिल मन्डल १९ र सुबास खकुरेलले २९ रन जोडे । कप्तान पारस खड्काले १२ र उपकप्तान ज्ञानेन्द्र मल्ल १८ रन भन्दा जोड्न सकेनन् ।  नेपालको इनिङलाई कमजोर योगफलमा समेट्ने क्रममा भारतका अंकीत बानेले ३ विकेट लिए । प्रतियोगिताअन्तर्गत नेपालले बुधबार पाकिस्तानको २३ बर्ष मुनिको टिमविरुद्ध खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us