प्रचण्डले भने: झलनाथले रुख चढाएर फेदमा बञ्चरो हाने

काठमाण्डु टुडे २०७० भदौ ४ गते १६:२२ मा प्रकाशित

जनकपुर, ४ भदौ -एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानसेनापति प्रकरणमा एमाले अध्यक्ष झलनाथ खनालले आफूलाई रुखमा चढाएर तलबाट बञ्चरो हान्ने काम गरेको आरोप लगाएका छन् ।
prachanda 1एबीसी टेलिभिजनले मगलबार जनकपुरमा गरेको अन्तरक्रियामा उनले एमाले र खास गरी अध्यक्ष खनाल धोकेबाज भएको बताए । एमाले नेतृत्वले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई कारबाही गर्न पहिला सहमति जनाएको र कारबाहीपछि धोका दिएको उनको भनाइ थियो । नागरिक सर्वोच्चतामाथि चुनौती दिएको आरोपमा कटवालमाथि कारबाही हुँदा प्रचण्ड प्रधानमन्त्री थिए । उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा एमाले प्रचण्ड नेतृत्वको सरकारमा थियो ।

दरबारको छत्रछायाँमा हुर्किएका सेनापति कटवालले सरकारको निर्देशन अवज्ञा गरेकाले कारबाही गर्नु जायज भएको उनले बताए । ‘सरकारको निर्देशन नमान्ने सेनापतिमाथि कारबाही गर्नु नाजायज थिएन’, उनले भने, ‘एमालेका अध्यक्ष झलनाथ खनालले पहिला कारबाहीका लागि सहमति जनाए र पछि रुखमा चढाएर फेद ढाल्न खोजे ।’ उनले कटवालमाथि कारबाही गर्नुअघि एमाले अध्यक्ष खनाल, महासचिव ईश्वर पोखरेल, उपप्रधान र गृहमन्त्रीसमेत रहेका बामदेव गौतम र तत्कालीन मन्त्रीसमेत रहेका र हाल आफ्नो पार्टीमा आएका रामचन्द्र झालगायतसँग सहमति कायम गरी कदम चालेको दाबी गरे । उनले पहिला कारबाहीका लागि सहमति जनाउने र पछि राष्ट्रपतिलाई कारबाही उल्ट्याउन आग्रह गरेर लेखिएको पत्रका एक नम्बरमा हस्ताक्षर गरेर खनालले दोहोरो चरित्र देखाएको चर्चा गरे ।
प्रचण्डले जस्तोसुकै अवस्था आए पनि मंसिर ४ गते संविधानसभा निर्वाचन भएरै छाड्ने दाबी गरे । सरकार, निर्वाचन, आयोग, मुख्य दल र जनता निर्वाचनका पक्षमा रहेकाले कसैले चाहँदैमा निर्वाचन नरोकिने बताए । आगामी संविधानसभामा आफ्नो पार्टीलाई बहुमत दिन उनले मतदातालाई अपिलसमेत गरे ।

परिवर्तन पक्षधरको बहुमत आए संविधानसभाबाट सबै वर्ग, जाति, क्षेत्र र लिंगका जनताको अधिकार सुनिश्चित गर्ने सविधान बन्ने दाबी उनको थियो । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सहमतिमा नआए पनि निर्वाचन नरोकिने उनको भनाइ छ । वैद्य समूहसँग निर्वाचन रोक्ने हैसियत नरहेको र रोक्ने खोजे पनि आफूहरुले २०५१ सालको मध्यावधि निर्वाचन रोक्न खोजेजस्तै निश्प्रभावी हुने जिकिर उनले गरे । अर्को एक फरक प्रसंगमा उनले आफू भाग खानका लागि नभई मधेसी जनताको तागत लिएर जनताका पक्षमा लड्न मधेसबाट निर्वाचन उठ्ने घोषणा गरेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us