म अमेरिकी नागरिक हुन्थें भने चीनलाई सर्वशक्तिमान मुलुक मान्थे

काठमाण्डु टुडे २०७० साउन २१ गते १०:३७ मा प्रकाशित

सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान यू आधुनिक सिंगापुरका निर्माता मानिन्छन् । उनकै समयमा सिंगापुरमा कायापलट भएको थियो । उनले नै सिंगापुरलाई बेलायती उपनिवेशबाट मुक्ति दिलाई एसियाकै विकसित र धनी देश बनाउन ठूलो भुमिका खेलेका थिए । आधुनिक सिंगापुरका निर्माता ली विश्वका प्रमुख दुई अर्थतन्त्रबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिन्छन् । प्रस्तुत छ, अमेरिकी म्यागेजिन दि एट्लान्टिकका लागि दिइएको र कारोवार दैनिकले ७ मार्च २०१३ मा अनुवाद गरी प्रकाशित सान्दर्भिक अन्तर्वार्ताको अंश :

अमेरिका चीनबीचको प्रतिस्पर्धालाई कसरी हेर्नुभएको ?
अमेरिका र चीन विश्वका प्रमुख दुई अर्थतन्त्र हुन् र यी दुईबीचको प्रतिस्पर्धा अकाट्य सत्य हो, तर यसलाई दुई देशबीचको द्वन्द्वका रूपमा हेरियो भने त्यो गलत हुन्छ । यो कुनै शीतयुद्ध पनि होइन । विश्वव्यापी रूपमा अग्रस्थानमा रहन तत्कालीन सोभियत संघले पनि अमेरिकासँग टक्कर नगरेको होइन । चीन पूर्ण रूपमा आफ्नो राष्ट्रिय स्वार्थअनुरूप अगाडि बढेको छ । उसको यो चाहनालाई संसार बदल्ने अभियानका रूपमा हेर्न मिल्दैन ।
तर अर्को सत्य के हो भने दुई देशबीच जुन टकराव देखिएको छ, त्यसको असर अवश्य पनि देखिन्छ । अमेरिका र चीन दुवै देश विश्वमा आफ्नो व्यापार वृद्धिको तीव्र प्रतिस्र्धामा छन्, तर अर्को सत्य के हो भने चीनलाई जहिले पनि अमेरिकी बजार, अमेरिकी प्रविधि आवश्यक पर्छ । चिनियाँ विद्यार्थीहरू यस्ता पक्षको अध्ययन गर्न अमेरिका पनि गइरहेका हुन्छन्, तर चीनलाई अमेरिकी स्तरको आर्थिक विकास अर्को १० देखि ३० वर्षसम्म लाग्न सक्नेछ । यदि दुई देशबीच प्रतिस्पर्धा बढ्दै जाने हो भने यी दुई देश ठूलो शत्रुता पनि बढ्न सक्नेछ । उनीहरूको मुख्य प्रतिस्पर्धा प्रविधि विकासलगायतका क्षेत्रमा हुनेछ । शीतयुद्धताकाको अमेरिका–सोभियत संघको सम्बन्धभन्दा फरक ढंगबाट चीन–अमेरिका सम्बन्ध अगाडि बढेको छ । अघिल्लो युद्ध दुई राजनीतिक दर्शनबीचको युद्ध थियो भने अहिले त्यस्तो अवस्था देखिँदैन । अहिलेको युद्ध दुई दर्शनबीचको भन्दा पनि आर्थिक विकास र समृद्धिकै हो । उनीहरूबीच बजार विस्तारमा प्रस्पिर्धा छ । दुवै देशबीच सहकार्य पनि छ र सँगै प्रतिस्पर्धा पनि । दुई देशको प्रतिस्पर्धा अकाट्य हो न कि द्वन्द्व ।
सोभियत संघको पतनपछि चीन र अमेरिका असल प्रतिस्पर्धीका रूपमा उदाएका हुन् । उनीहरूलाई द्वन्द्वरत दुई पक्षका रूपमा हेर्नु गलत हो । दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध राम्रो बनाउन उनीहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनु जरुरी हुन्छ, तर दुई देशबीचको खतरनाक पक्ष भनेको उनीहरूबीचको सैन्य द्वन्द्व हो । चिनियाँ नेताहरूले के कुरा राम्रोसँग बुझेका छन् भने अबको एक दशकसम्म पनि सैन्य मामिलामा अमेरिका अग्रस्थानमै रहन्छ । उनीहरू अमेरिकालाई चुनौती दिन योग्य भए पनि त्यसो गर्दैनन् । चिनियाँ नेताहरूमाथि आर्थिक विकासको दबाब नै सैन्य विकासभन्दा बलियो भएर आउनेछ ।

चिनियाँ नेताहरू अमेरिकालाई एसिया तथा विश्वकै ठूलो शक्तिशाली देशबाट हटाएर त्यो स्थान आफू लिन चाहन्छन् भनिन्छ, के यो सत्य हो ?
अवश्य पनि । चिनियाँहरूले गरिब समाजलाई चमत्कारिक परिवर्तन गरेर देखाइदिएका छन् । उनीहरूको ठूलो मेहनतले नै आज चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रूपमा स्थापित हुन सकेको हो । सबैलाई थाहा भएकै कुरा के हो भने चीनले एक दिन अवश्य पनि अमेरिकालाई उछिन्नेछ । चिनियाँहरू अमेरिकाले विश्वको प्रमुख अर्थतन्त्र बन्दा छोडेका विभिन्न रिक्तता पुर्दै अघि बढेका छन् । सवा अर्बभन्दा धेरै जनसंख्या भएको मुलुकमा ४ हजार वर्षभन्दा पुराना रीतिरिवाज कार्यान्वयनमा छन् । चीनमा धेरै प्रतिभाशाली मानिसहरू पर्दाबाहिर आएका छन् । यो पक्ष त्यो देशको आर्थिक विकासमा निकै सहयोगी र बलियो पक्षका रूपमा उदाएको छ । त्यसैले पनि के भन्न सकिन्छ भने चीन एसिया र विश्वमै अमेरिकालाई उछिन्दै पहिलो बन्न चाहन्छ ।
आजको परिस्थितिमा चीनको वृद्धिदर आगामी ५० वर्षसम्म अकल्पनीय रूपमा अघि बढेको देखिन्छ । चीनको आर्थिक वृद्धि नाटकीय ढंगबाट पनि अगाडि बढेको हो । समयसँगै चिनियाँ नागरिकहरूमा अपेक्षा तथा चाहनाहरू पनि वृद्धि हुँदै गएको देखिन्छ । चीनका हरेक नागरिकमा धनी र सामाजिक रूपमा बलियो हैसियत बनाउने महत्वाकांक्षा पनि बढ्दै गएको छ । उनीहरू प्राविधिक विकासमा पनि अमेरिका तथा युरोपजस्तै बलियो बन्न चाहन्छन् । चिनियाँहरू हरेक कुरामा अमेरिकाबराबरको हैसियत चाहन्छन् र उनीहरूको परिश्रम हेर्दा उनीहरू त्यसका लागि हकदार पनि हुन् ।

अमेरिकी नीति तथा कार्यक्रमले उदाउँदो चीनलाई कसरी सम्बोधन गर्ने देख्नुहुन्छ ?
अमेरिकीहरूले के बुझेका छन् भने अहिलेको अवस्थामा विश्व व्यापारिकरणमा निकै ठूलो प्रतिस्पर्धा छ र उनीहरूको प्रमुख प्रतिस्पर्धी भनेको चीन नै हो । तत्कालै उनीहरूमा पहिलो स्थानबाट हट्ने चिन्ता नभए पनि कालान्तरमा यो पनि चिन्ताको विषय हुन सक्छ । त्यसका लागि उनीहरू अहिलेबाटै चनाखो हुनुपर्नेछ । अहिले सबैको चिन्ता भ्रष्टाचार नै हो । दुवै देशसामु भ्रष्टाचार नियन्त्रणको चिन्ता पनि छ । यस्तै बेला बखत देखिने अर्थतन्त्रमाथिको कालो बादलले पनि दुवै देशलाई प्रभावित पार्ने देखिन्छ । यसले चीनलाई भन्दा धेरै अमेरिकालाई अप्ठेरोमा पार्ने उदाहरणहरू हामी सामु नै छ । अमेरिकीहरूमा आफ्नो विचार नै सर्वोच्च हो र उनीहरू आफ्नो विचार नै विश्वव्यापी हो भन्ठान्छन् । यसले उनीहरूलाई अप्ठेरोमा पार्न सक्छ । उनीहरूले के बुझ्नुपर्छ भने उनीहरूको विचार कहिले पनि विश्वव्यापी र सर्वोच्च हुन सक्दैन ।
अमेरिकाले चीनको वृद्धिलाई रोक्न सक्दैन । चीनले अहिले नै अमेरिकालाई उछिन्न सक्ने देखिँदैन, तर अबको २० देखि ३० वर्षपछि भने ऊ त्यो स्थानका लागि योग्य हुनेछ । अमेरिकाले चीनको भूमिकालाई नजरन्दाज गर्न मिल्दैन । अमेरिकाले चीनलाई एक सहयात्रीका रूपमा लिनुपर्छ ।
अमेरिकी कंग्रेस कुनै नयाँ व्यापार सन्धिको विपक्षमा देखिन्छ । यदि उनीहरूले त्यही बाटो अवलम्बन गरे भने उनीहरूले महत्वपूर्ण अवसर गुमाउनेछन् । कंग्रेसले चीनलाई महत्वपूर्ण व्यापारिक साझेदारका रूपमा स्वीकार गरी प्रतिस्पर्धात्मक व्यापारलाई स्वीकार गर्नुपर्छ । दुई देशबीच स्वस्थ एवं प्रतिस्पर्धात्मक व्यापार विस्तारमा जोड दिनुपर्छ । अमेरिकाले यदि यो विषय सन्तुलित रूपमा अगाडि बढाउन नसक्ने हो भने कालान्तरमा ऊ आफैं अप्ठेरोमा पर्नेछ । तथ्यांकहरूले पनि के देखाएका छन् भने चीनले हरेक वर्ष विदेश व्यापारको दर बढाउँदै लगेको छ । स्वतन्त्र व्यापार सन्धिबिना पनि चीनको छिमेकी देशहरूसँगको व्यापार बढ्दो क्रममा छ । चीनको यो वृद्धिलाई कसैले पनि नजरन्दाज गर्न सक्दैन ।
चिनियाँ मुद्दाका विषयमा अमेरिकाले कस्तो नीति एक्सन अवलम्बन गर्छ जस्तो लाग्छ ?
चीनलाई अमेरिकाले शत्रुका रूपमा हेर्नु हुँदैन । एसिया–प्रशान्तमा आफ्नो उपस्थिति देखाउनका लागि अमेरिकाले उपयोग गर्न सक्ने देखिन्छ । यद्यपि यसलाई अमेरिकी रणनीतिका रूपमा हेर्न सकिन्छ । यथार्थमा भन्दा यो अमेरिका र चीनबीचको सर्वोच्च मुलुक बन्ने भन्नेमै केन्द्रित रहेको देखिन्छ, तर यस विषयलाई लिएर दुई मुलुकबीच युद्धको स्थिति निम्तिएमा विश्व नै खतरामा पर्ने देखिन्छ । अमेरिकी चाहना भने कि आफैं सर्वशक्तिमान बन्ने नभए आफूअनुकूलको देशलाई अगाडि सार्ने देखिन्छ । अमेरिकी मानवअधिकारवादीहरूको एक समूहले केही समयअघि चीनको विविध संस्कृति, मूल्यमान्यता र इतिहास तथा चिनियाँ सार्वभौमिकताका बारेमा आफ्नो असन्तुष्टि रहेको सार्वजनिक गरेको थियो । यसले पनि चीन र अमेरिकाबीचको सम्बन्धमा केही खलल पु¥याएको बुझ्न अप्ठ्यारो पर्दैन । चीनसँगको सम्बन्धलाई अमेरिकाले मूल्य एजेन्डाका रूपमा लिएको छ । चिनियाँहरूले भने उक्त विषयले दूरगामी प्रभावको मुद्दाका रूपमा हेरिरहेको प्रस्टै बुझ्न सकिन्छ । अमेरिकाले चीनको सांस्कृतिक यथार्थतालाई ठूलै चुनौतीका रूपमा हेरिरहेको अनुमान गर्न सकिन्छ । चीन पश्चिमा मुलुकहरूको प्रतिनिधि पात्रका रूपमा नभई ‘चीन चीनका रूपमा’ रहन चाहेकाले यस्तो स्थिति उत्पन्न भएको हो । अहिलेसम्मको वस्तुस्थितिको विश्लेषण गर्दा चीन कुनै पनि हालतमा पश्चिमाहरूसँग झुक्ने मनस्थितिमा रहेको देखिँदैन ।
सोभियत युनियनको विगठनपश्चात् अमेरिका–चीन आमखतराबाहेकका विषयमा मतैक्यता हुन सकेको देखिँदैन । चीन विश्वको शक्तिराष्ट्र बन्ने सम्भावना बढ्दै गइरहेको छ । यस विषयले पनि अमेरिका थप चिडिएको हुन सक्ने मेरो बुझाइ हो । अमेरिकी चाहना भने विश्व शक्ति अहिलेकै अवस्थामा रहोस् भन्ने रहेको छ । अबको ३० वर्षपछि अमेरिकाको यो चाहनालाई चिनियाँ विकासले निस्तेज पारिदिनेछ । चीनविरुद्धको अमेरिकी नीति समयको अन्तरालसँगै असान्दर्भिक हुँदै जाने देखिन्छ । अमेरिका मुख्य गरी चीनमा देखिएको मानवअधिकार, प्रजातन्त्र, आफूइतरका देशहरूसँगको सम्बन्ध लगायतमा असन्तुष्ट रहँदै आएको छ । चीन भने आफ्नो नीति तत्काल परिवर्तन गर्ने मनस्थितिमा रहेको देखिँदैन । पछिल्लो समस दलाई लामा र स्वतन्त्र तिब्बतको विषयलाई लिएर चीन–अमेरिका सम्बन्धमा थप चिसोपना देखिएको छ । ताइवानलाई संयुक्त राष्ट्रसँगमा स्वतन्त्र मुलुकका रूपमा राख्नुपर्नेमा अमेरिकाले विषेश जोड दिँदै आएको छ । चीनले भने ताइवानलाई आफ्नो स्वसासित क्षेत्रमा नै कायम राख्न चाहन्छ । यस विषयलाई स्वतन्त्र रूपमा छाड्ने हो भने देशको सार्वभौमिकता र एकतामा खतरा उत्पन्न हुने चीनको बुझाइ छ । विगत एक दशकयता चीनको आर्थिक वृद्धि उच्च गतिमा भइरहेकाले अबको केही वर्षमा चीनलाई केही गर्न सकिएन भने विश्वमा उसैको राज चल्ने अमेरिकी बुझाइ छ । यस्तो बुझाइले पनि समस्या उत्पन्न गराएको मेरो अनुमान छ ।
उच्च दरको आर्थिक वृद्धिले चीनलाई विश्वसामु उदीयमान मुलुकका रूपमा प्रस्तुत गरेको हो । यदि अमेरिकी नीति नरम हुने हो भने चीनमा लगानीको वतावरण व्यापक रूपमा विस्तार हुने देखिन्छ । अहिले नै विश्व व्यापारमा चीन करिब १२ प्रतिशतको हाराहारीमा रहेको अवस्था छ । आगामी दशकम्ममा यो दर दोब्बरभन्दा बढी हुने निश्चित छ । अमेरिका तत्काल विश्वमा देखिएको सुरक्षा र स्थायित्वका बारेमा चीनसँग सम्बन्ध विच्छेद गर्ने मनस्थितिमा रहेको देखिँदैन ।
अमेरिकाको नीति तथा कार्यक्रमले चीनको आगामी बाटोलाई प्रभाव पार्ने देख्नुहुन्छ ?
यो विषय निकै महत्वपूर्ण छ । पक्कै पनि प्रभाव पार्ने देखिन्छ । यदि अमेरिकाले चीनलाई ‘बाइपास’ गरेर गएमा त्यो अमेरिकाका निम्तिसमेत घातक सावित हुनेछ । यसले दुवै देशले नचाहँदा–नचाहँदै शत्रुता बढ्नेछ । अमेरिकाले चीनको विकासलाई स्वीकार गरेर सहकार्यका रूपमा अगाडि बढेमा दुबै मुलुकलाई फाइदा पुग्ने र दुवैले जितेको  महसुस गर्ने मेरो बुझाइ छ । अमेरिकाले चीनको उज्ज्वल भविष्यलाई सहर्ष ग्रहणको विकल्प देख्दिनँ । यदि म अमेरिकी नागरिक हुन्थें भने मे चीनको पक्षमा बोल्थें र चीनलाई सर्वशक्तिमान मुलुक मान्थे । चीनले हासिल गरेको उपलब्धिलाई सम्मान गर्थें र अरूलाई पनि सम्मान गर्ने आग्रह गर्थे । मेरो आग्रह के हो भने सबै शक्ति मुलुकहरू मिलेर सहकार्य गर्नुपर्छ । अमेरिकाले चिनियाँ गतिविधिका बारेमा किन अनावश्यक चासो राख्दै आएको छ ? स्वतन्त्र रूपमा आफ्नो मुलुकको विकास गरिरहेको अवस्थामा चीनलाई किन शत्रुका रूपमा हेरिरहेको छ अमेरिका ? यो आवश्यक छैन । अमेरिकाले यो भन्न आवश्यक छ, अन्ततः ‘हामी दुई समान छौं, मभन्दा तिमी अन्तत ठूलो हुनेछौं, तर हामीबीच सहकार्यको आवश्यकता छ । विश्वमा देखिएको समस्या समाधानमा दुवै लागिपर्नुपर्छ ।’ अमेरिकाको अन्तिम लक्ष्य भने चीनलाई एक्ल्याउनु नै रहेको देखिन्छ । अमेरिकाको यो भनाइमा विश्व शक्तिको धङधङ लुकेको देखिन्छ । अमेरिकासँग यी दुवै बाटोमा अघि बढ्न ठूलो चुनौती उपस्थित हुनेछ । अमेरिकाले आफ्नो धङधङ देखाउन नहुने र चीनलाई एक्ल्याउँछु भन्न नहुने मेरो धारणा छ । अमेरिकाले चीनबाट आफ्नो देशमा पढ्न आउने हजारौं विद्यार्थीहरूलाई आफ्नो नीतिद्वारा प्रभावित पार्ने गरेको छ । यस्तोमा केही बुद्धिजीवी र वैज्ञानिकहरू पनि छन् । यो विषयले भने चीनलाई चुनौती थपेको मेरो बुझाइ छ ।
चीनले अमेरिकासँगको सहकार्य सुमधुर सम्बन्ध स्थापित गर्न कस्तो नीति अख्तियार गर्नुपर्ला ?
१९४५ देखि १९९१ सम्म चीनले दुई देशबीच कुनै पनि सुमधुर सम्बन्ध स्थापित भएन । उनीहरूबीच युद्धकै मानसिकता थियो । एउटा सत्य के हो भने नयाँ पुस्ता शान्तिपूर्ण विकासको पक्षमा छन् । चिनियाँहरूलाई छुट्टै वैचारिक बन्धनले बाँधेको थियो । केही अघिसम्म उनीहरू नयाँ ढंगबाट सोच्ने अवस्थामा थिएनन्, तर चीनले सधैं विश्वका प्रमुख अर्थतन्त्रहरूसँगको द्विपक्षीय व्यापार वृद्धिमा जोड दिइरह्यो, जुन अहिले पनि कायमै छ । चीनले पूर्वी एसियाका प्रमुख अर्थतन्त्रहरू तथा विश्वका अन्य अर्थतन्त्रहरूसँगको आफ्नो व्यापार बढाइरहेको छ । यस क्षेत्रमा चीन सबै कुरामा अरूभन्दा अग्रस्थानमा भए पनि उसको सन्तुलित व्यापारले सबैलाई फाइदा पु¥याएको छ । चीनको उक्त व्यवहारले कसैले पनि कुनै पनि भयको महसुस गर्नुपरेको छैन । विश्वका अधिकांश देशमा चीनको कुनै न कुनै रूपमा उपस्थिति देखिइसकेको छ र ऊ अझै शक्तिशाली बन्न चाहन्छ । चिनियाँ उत्पादनले विश्व बजारमा जमाएको हैसियतले पनि यो पुष्टि गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us