चार दल र उपेन्द्रको मोर्चाबीच ६ बुँदे सहमति

काठमाण्डु टुडे २०७० साउन ३२ गते ०:४८ मा प्रकाशित

काठमाण्डु, ३२ साउन– उच्चस्तरीय राजनीतिक समिति र उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच ६ बुँदे सहमति भएको छ ।
सहमतिसँगै यादवको मधेसी जनअधिकार फोरम, नेपालसहित मोर्चा आवद्ध साना आठ दल पनि ४ मसिरको निर्वाचनमा सहभागी हुन राजी भएका छन् । बिहीबार राति अबेर upendra-yadav_20110506084356सकिएको वार्तामा संविधानसभा सदस्य संख्या ५ सय ८५ पुर्‍याउने सहमति भएको छ । प्रत्यक्षमा २ सय ४० कामय राखी समानुपातिकमा ३ सय ३५ र १० जना मन्त्रिपरिषद्बाट मनोनीत गर्ने सहमति भएको काँग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

उच्चस्तरीय राजनीतिक समिति विस्तार गरी मोर्चाको नेतृत्वकर्ता फोरम अध्यक्ष यादवलाई सदस्यमा थप गर्ने सहमति पनि दलहरुबीच भएको छ । सहमति पत्रमा निर्वाचन प्रक्रियाको विरोधमा रहेका अन्य दललाई पनि सहमतिमा आउन भनिएको छ । ‘अन्य सम्पूर्ण राजनीतिक पार्टी र जनसमुदायलाई घोषित संविधानसभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सफलतापूर्वक सम्पन्न गर्ने दिशामा एकताबद्ध ढंगले अघि बढ्न हार्दिक अपिल गर्दछ’, सहमतिमा भनिए छ ।

यस्तै सहमतिमा निर्वाचन कार्यतालिका प्रभावित नहुने गरी निर्वाचन आयोगलाई फोटोसहितको मतदाता नामावली संकलनको म्याद दुई साताका लागि थप्न आग्रह गर्ने सहमति पनि भएको छ । आयोगले बिहीबार मात्र एक साताका लागि म्याद बढाउने बताएको थियो । सहमति पत्रमा एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मोर्चाका तर्फबाट परशुराम तामाङले हस्ताक्षर गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us