हात्ती आक्रमणमा दुईको मृत्यु

काठमाण्डु टुडे २०७० साउन २० गते ५:४४ मा प्रकाशित

सर्लाही, २० साउन ।  सर्लाहीमा जंगली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ ।
आक्रमणमा अर्का एक गम्भीर घाइते भएका छन् । जंगलबाट बस्ती पसेको हात्तीले खेतमा पानी लगाउन गएका हरिपुर गाविस १ जुटपानीका ३० वर्षीय उपेन्द्र महतो र घरमा सुतेकी अढाई वर्षकी हिरिया महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
खेतमा पानी लगाउन गएका महतो बाटोको छेउमा सुतिरहेका बेला हात्तीले घिसारेर मारेको स्थानीयले जनाएका छन् । यस्तै घरको आगनमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा हिरिया महतोको मृत्यु भएको हो । हिरियाकी बहिनी गिरियाको खुट्टा भाचिएको प्रहरीले जनाएको छ । परिवारका सबै जना आगनमा सुतिरहेका बेला हात्ती आएपछि अरु भागेको र बालिकामाथि हात्तीले आक्रमण गरेको बताइएको छ ।
यसअघि पनि गत असार १५ गते सर्लाही  लालबन्दी–७  का ४० वर्षीया मधुमाया योञ्जन र साउन १७ गते ढुंग्रेखोला–८ की ३८ वर्षीया पूर्णिमा मोक्तानको हात्ती आक्रमणमा ज्यान गएको थियो । जंगली हात्तीको आक्रमणमा परी पटकपटक मानिसको ज्यान गएपछि हात्ती नियन्त्रणका लागि सरकारी तवरबाट कदम नचालिएकामा स्थानीय आक्रोशित बनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us