नवीन सम्भावनाको द्वार विद्यार्थीको रचना र आविष्कारबाट

काठमाण्डु टुडे २०७० साउन ३० गते ७:५८ मा प्रकाशित

khilraj regmiप्रत्येक राष्ट्रको समुन्नति र प्रगतिमा त्यस देशले अवलम्बन गरेको शिक्षा प्रणालीको महत्वपूर्ण भूमिका रहन्छ । शिक्षा क्षेत्रको विकासका लागि सरकारको स्पष्ट नीति तथा सो अनुरुपको कार्यक्रमहरुको विशेष अर्थ रहन्छ । यसकारण, शिक्षामा गरिने लगाानी र शिक्षा प्रणालीलाई अन्य क्षेत्रको तुलनामा पृथक महत्वका साथ ग्रहण गरिएको हुन्छ । देशको वर्तमान अवस्थालाई निर्देशित गर्दै भविष्यका लागि आवश्यक दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गरी देशको विकास र निर्माण गर्न तथा सर्वसुलभ सेवामुखी कार्यक्रमहरू सञ्चालन गर्ने सवालमा शिक्षा मात्र एउटा सशक्त माध्यम बन्न पुगेको छ । तसर्थ, विश्वका सफल मानिएका अधिकांश देशहरुको अवस्थालाई दृष्टिगत गर्दा ती देशहरुले उच्च शिक्षामा अपनाएको विधि र माध्यम नै वास्तवमा सफलताको द्योतक सावित भएको मान्न सकिन्छ । यही कारण, आधुनिक शैक्षिक प्रणालीमा नवीन खोज, अनुसन्धान, अन्वेषणजस्ता विषयवस्तुलाई विशेष प्राथमिकताका साथ अपनाउँदै सरकारले शिक्षा, शिक्षक, विश्वविद्यालय र विद्यार्थीलाई प्रोत्साहन र प्रबद्र्धन गर्दै राष्ट्र निर्माणको आधारशीला बनाएका छन् । वर्तमान अवस्थासम्म आइपुग्दा मानवीय व्यवहारहरु समयको द्रुत गति र वैज्ञानिक आविष्कारसँग लम्कँदै अघि बढेका कारण सामाजिक आवश्यकता र महत्वाकांक्षा बृद्धि हुँदै आएको हामीले अनुभव गरेकै कुरा हो । यसकारण आजको विश्वमा शिक्षालाई नियम, नैतिकता र अनुशासन सिकाउने तथा सामाजिक, आर्थिक, राजनीतिक एवं साँस्कृतिक गतिविधिहरूको नियन्त्रण र नियमन गर्ने अश्त्रका रुपमा मात्र परिभाषित गर्न सकिँदैन । एउटा युग थियो–जतिबेला शैक्षिक पाठ्यक्रममा जनजीवनका सामान्य नीति नियम र सामाजिक सभ्यताका विषयहरुलाई मात्र समाहित गर्दै अध्ययन अध्यापन हुने गर्दथ्यो । तर, अहिलेको विश्वमा मानिसले सम्पन्न गर्नुपर्ने र हासिल गर्नुपर्ने यावत् विषयहरु छन्, जसका लागि मानिसलाई जनजीवनका सामान्य नीति नियमको जानकारी भएर मात्र पुग्दैन । मानिसलाई वैज्ञानिक चिन्तन, नवीन खोज र श्रृजनशील विषयहरुका क्षेत्रमा कार्य गर्दै अघि बढ्न सीप, क्षमता र दक्षता आवश्यक पर्दछ । यसै कारण शिक्षा भनेको असल चरित्र निर्माण गर्ने र जनहितको कार्यलाई प्रवद्र्धन गर्ने विषय मात्र हो भन्दै शास्त्रीय र दार्शनिक विषयहरूमा बढी केन्द्रित गर्ने विगतको सोच र अभ्यास समयानुकूल परिवर्तन भएको छ । अहिलेको समयमा शिक्षाले अनुशासन र नियम सिकाउने उद्देश्यसँगै समाजको गतिशीलता र विकासको चाहनालाई मूर्तरूप दिनुपर्ने कुरालाई बोध गर्दै विविध शैक्षिक विधाको विकास हुँदै आएको छ । आधुनिक शिक्षाले विकास र समृद्धिको मानवीय चाहनालाई व्यावहारिक रूपमा सहयोग पु¥याइरहेको छ । अझ साँच्चै भन्नुपर्दा — आज हामीले जति पनि सेवा, सुविधा र विकासको अनुभूति गर्न पाएका छौं, ती सबै कुराको सम्भावना अनुसन्धानमुखी, व्यावहारिक र प्राविधिक शिक्षाबाट सम्भव भएको हो । यस अर्थमा शिक्षा पद्धतिलाई प्रोत्साहन र प्रवद्र्धन गरी सामाजिक आवश्यकता सम्बोधन गर्नसक्ने बनाउनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ । आधुनिक शिक्षा नीतिले विद्यार्थीहरुले अध्ययनका क्रममा आफूले आर्जन गरेको ज्ञानका आधारमा नवीन सोच र श्रृजना गर्दछन् वा गर्ने प्रयत्न गर्दछन् भने त्यस प्रकारका कार्यलाई राज्यले प्रोत्साहन गरी सक्दो सहयोग गर्दै जानुपर्दछ भन्ने मेरो मान्यता रहिआएको छ । विद्यार्थीहरुको रचना र आविष्कारबाट नवीन सम्भावनाको द्वार खुल्दछ । विकास निर्माणको कार्य तथा अन्य सामाजिक वातावरण निर्माणमा पनि प्रविधि र विज्ञानको संयोजनको महत्व रहन्छ । सामाजिक वातावरण शिक्षाको प्रभावका आधारमा निर्धारण हुने विषय पनि हो । यस कारण शिक्षा नीतिको अवलम्बन गर्दा समाजलाई सभ्यता, सँस्कति, सद्भाव, मित्रता आदि विषयहरुको प्रवद्र्धन गरी सामाजिक रुपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्नसक्ने कुरातर्फ संवेदनशील हुन जरुरी छ भन्ने मलाई लाग्दछ । सार्वजनिक महत्वका कतिपय काम कारबाहीहरु नीति नियमको तर्जुमा गरेर मात्र नभई राजनीतिक व्यवस्था, राज्यको सहयोग, जनशक्ति र साधनश्रोतको व्यवस्थापनजस्ता विषयहरुमा प्रत्यक्ष निर्भर गर्दछन् । नेपालको वर्तमान सन्दर्भमा भन्ने हो भने अहिले हामीहरु राजनीतिक स्थायित्वका लागि संवेदनशील हुनुपर्ने आवश्यकता छ । (विश्वविद्यालय अनुदान आयोगद्घारा बुधवार काठमाण्डुमा आयोजित उच्च शिक्षा नीतिसम्बन्धी राष्ट्रिय गोष्ठीमा शिक्षा क्षेत्रका अगुवाहरु समक्ष रेग्मीले व्यक्त गरेका धारणाका सम्पादित अंश )

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us