राजेश्वरको अगुवाईमा राष्ट्रबादी केन्द्रको घोषणा

काठमाण्डु टुडे २०७० साउन २७ गते १८:१३ मा प्रकाशित

काठमाण्डु २७ साउन:राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता राजेश्वर देबकोटाको अगुवाईमा राष्ट्रबादी केन्द्रको घोषणा गरिएको छ । सबै राष्ट्रबादी शक्तिहरुलाई एकै ठाँउमा ल्याएर राष्ट्रबादी आन्दोलनलाई अघि बढाउने योजनाका साथ केन्द्रको घोषणा गरिएको हो । देबकोटाले राष्ट्रिय झण्डा हल्लाएर केन्द्रको घोषणा गरेका हुन ।
राष्ट्रिय एकतामा विभेद ल्याउने तत्वहरु मुलुकमा बलशाली बनिरहेको भन्दै त्यसलाई पराजित गरी मुलुकलाई अखण्ड राख्न पनि राष्ट्रबादी जागरणको आवश्यकता महसुस गरेर अभियानको सुरुवात गर्नु परेको देवकोटाले बताए । उनका अनुसार देश ब्यापी रुपमा अभियानलाई अघि बढाउँदै राष्ट्रबाद जागरण गर्ने उद्देश्य लिएको केन्द्रले आगामी भदौ १५ गतेदेखि राजधानीमा बृहद राष्ट्रिय सम्मेलन गरेर अभियानलाई तिब्रताकासाथ अघि बढाउने छ । काठमाडौमा आइतवार आयोजित कार्यक्रममा देबकोटाले राष्ट्रबादी धारणा कमजोर हुँदै जाँदा मुलुक संकटग्रस्त हुन पुगेको भन्दै मुलुकलाई पुर्नजागरण गर्न समेत राष्ट्रबादी आन्दोलनको आवश्यकता रहेको औल्याए । उनले राष्ट्रबादी केन्द्रमा आएर राष्ट्रबादी आन्दोलनलाई अघि बढाउन प्रमुख राजनीतिक दलहरुमा रहेका राष्ट्रबादी नेता र कार्यकर्ताहरुले आब्हान गरे ।
केन्द्रले राष्ट्रबाद कमजोर हुँदा नेपालमा बैदेशिक हस्तक्षेप बढेको भन्दै अहिले चुनावको नाममा हस्तक्षेपलाई औपचारिकता दिदै अर्को लेण्डुप दोर्जे जन्माउने षडयन्त्र भएको ठहर गरेको छ । ‘त्यसकालागि दिल्लीमा भएको १२ बुँदे साङलोले बाधेका दलहरुले काम गरेको निष्कर्ष हामीले निकालेका छौ’ उनले भने । त्यस्तै हिन्दु धर्मावलम्बि र बौद्ध धर्मावलम्बिहरुवीच झगडा गरेर नेपालमा परधर्मीहरुले खेलिरहेको निष्कर्स निकाल्दै आफ्नो सस्कृति र परम्परालाई निरन्तरता दिन नसके नेपालको अस्तित्व नै संकटमा पर्ने दावी पनि केन्द्रले गरेको छ ।
संघीयता नेपालीको मौलिक माग नभए पनि समस्या आईसकेकोले ७५ जिल्लालाई नै संघीयताको स्वरुप दिनु पर्ने र पछि कोही मिल्न खोजे त्यस्तो अनुमति दिने ब्यवस्था सहितको संघीयता बनाउनु पर्ने अवधारणा पनि केन्द्रले पत्रकार सम्मेलनमा प्रस्तुत गरेको थियो । त्यस्तै नेपालमा किरातकालदेखि नै गणतन्त्रको अभ्यास भएकोले अहिले प्रस्तुत गरिए जस्तो गणतन्त्र निर्विकल्प नभएको र यो समयसँगै परिवर्तन हुँदै जाने ठहर पनि केन्द्रको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us