
काठमाण्डु, १५ भदौ –नेपालले राजधानीमा सुरु आठौँ साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।
दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा बंगलादेशलाई २–० ले हराउँदै सुखद् सुरुआत गरेको हो । नेपालका लागि अनिल गुरुङले पहिलो हाफको १७ औँ र भरत खवासले ३१ औं मिनेटमा गोल गरे । यसअघि गत चैतमा राजधानीर्म भएको एएफसी च्यालेन्ज कपको छनौट चरणमा बंगलादेशबाट नेपाल २–० ले पराजित भएको थियो ।
उपाधिमा दाबी गर्दै आएको नेपालका लागि घरेलु दर्शकका भरपुर साथ मिलेको थियो । बंगलादेशका तीन खेलाडी घाइते भएसँगै नेपालले खेलभर बंगलादेशी खेलाडीलाई दबाबमा राख्यो ।नेपाली सेनाको तालिममा व्यस्त रहेर पनि आफ्नो टिमको जितमा महत्वपूर्ण योगदान दिएका भरत खवास म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले सोमबार पाकिस्तानसँग भेट्ने छ । भारत, बंगलादेश र पाकिस्तानसँगै ग्रुप अफ डेथमा परेको नेपालले समूह चरणका सबै खेल जितेर उपाधिमा कब्जा जमाउने दाबी गर्दै आएको छ ।