काठमाण्डु, १५ भदौ – नेपालले शनिबारबाट काठमाण्डुमा शुरु हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको उपाधी जित्ने लक्ष्य राखेको छ । घरेलु मैदान र दर्शकको साथ तथा राम्रो तयारी गरेकोले उपाधी जित्ने नेपालको दावी छ । उदघाटन खेलमा बंगलादेशको सामना गर्न लागेको नेपालले विजयी शुरुवात गर्ने विश्वास लिएको छ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा काठमाण्डुमा पत्रकार सम्मेलन गरी भुटान बाहेकका सबै राष्ट्रका प्रशिक्षकले उपाधी हात पार्ने दावी गरेका छन् । नेपाली टोलीका कप्तान सागर थापाले पनि बंगलादेश विरुद्ध शनिबार हुने उदघाटन खेल जित्ने जिकीर गरे । एएफसी च्यालेन्जकपमा बंगलादेशसँग भने नेपालले २–० ले हार व्यहोरेको थियो ।