राखेपको स्वर्ण महोत्सव सुरु

काठमाण्डु टुडे २०७० भदौ १३ गते ७:४६ मा प्रकाशित

National-Sports-Council-Nepalकाठमाण्डु, १३ भदौ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वर्ण महोत्सव विहीबारबाट सुरु भएको छ । प्रभातफेरीबाट सुरु भएको स्वर्ण महोत्सवको उदघाटन युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले गरेका थिए ।

सो अवसरमा मन्त्री श्रेष्ठले खेलकुद क्षेत्रको अझ विकास गर्नकालागि नेपाल ओलम्पिक कमिटीको विवाद समाधान गर्नुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले नेपालमा हाल राष्ट्रिय मान्यता प्राप्त र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरी दुई ओलम्पिक कमिटी विद्यमान भई अन्तर्राष्ट्रियस्तरमा नेपाली खेल क्षेत्रप्रति नकारात्मक दृष्टि परेकाले समस्या समाधानका लागि प्रतिबद्धता पनि जनाए ।

हाल नेपालमा रुक्मशम्शेर राणा नेतृत्वको राष्ट्रिय मान्यताप्रप्त र ध्रुवबहादुर प्रधान नेतृत्वको अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी अस्तित्वमा छन् । राणा नेतृत्वको कमिटीले सर्वोच्च अदालतबाट राष्ट्रिय मान्यता पाए पनि प्रधान नेतृत्वको कमिटीले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । अन्तराष्ट्रिय मान्यताप्राप्त प्रधान नेतृत्वको ओलम्पिक कमिटीले नै हाल नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि समन्वयकर्ताको काम गर्दै आएको छ ।

राखेप कर्मचारी संघका उपमहासचिव कुमार बस्नेतका अनुसार महोत्सव पाँच वटै विकास क्षेत्र र ७५ वटै जिल्लामा विविध कार्यक्रम गरी मनाइने छ । विक्रम संवत् २०२०  भदौ १३ गते स्थापित राखेपले आफ्नो ५० औं वार्षिकोत्सवका अवसरमा आजदेखि तीन दिनसम्म खेलकुद प्रतियोगिता, सरसफाइ, रक्तदान, दीपावली तथा मेधावी कर्मचारी पुरस्कार वितरणलगायत कार्यक्रम तय गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us