महिनामा ३० हजार बंगलादेशीलाई मलेसियाको भिसा खुला, नेपालीको रोजगारी गुम्ने खतरा बढ्यो

काठमाण्डु टुडे २०७० भदौ १२ गते १५:३७ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– मलेसियाले बंगलादेशी कामदार लिने प्रक्रिया सुरु गरेपछि नेपालीको रोजगारी गुम्ने खतरा र्सिजना भएको छ ।

gurkha-guardsमलेसिया सरकारले प्रत्येक महिना ३० हजार बंगलादेशी कामदारको लागि भिसा खोलने सहमतिपछि त्यसको असर पर्न लागेको हो । वैदेशिक रोजगार व्यवसायी कुमुद खनालले बंगलादेशसँग नेपालीले प्रतिश्पर्धा गर्न नसक्ने बताए । अवस्था यस्तै रहने हो भने बंगलादेशीले नेपाललाई तुरुन्तै विस्थापित गर्छन उनले भने, आगामी दुई महिनापछि यसको प्रभाव देखिन्छ । बंगलादेशीलाई नियमित मलेसिया कामदारको बाटो खोलिए नेपालीलाई ढोका बन्द हुन्छ, उनले भने ।

मलेसिया नेपाली कामदारको राम्रो गन्तव्य हो, गत वर्ष एकलाख ५६ हजार सातसय ७० नेपाली कामका लागि मलेसिया गएका थिए । मासिकरुपमा १५ हजारभन्दा बढी नेपाली रोजगारीका लागि मलेसिया जाने गरेका छन् । आर्थिक वर्ष २०६८÷६९ मा यो संख्या ९८ हजार तीन सय ६७ थियो ।
बंगलादेशी व्यवसायीले बढी रकम लिएको भन्दै मलेसियाले चार वर्ष अगाडि कामदार लिन बन्द गरेको थियो । तर, बंगलादेश सरकारको पहलमा गत मे २३ मा दुवै देशबीच कामदार लिने समझदारी भएको थियो । यसअघि सन् २०१२ को नोभेम्बरमा बंगलादेशले कम लागतमा कामदार पठाउने विश्वास दिलाएको थियो ।
ढाका ट्रिब्युनका अनुसार, मलेसिया कामदार पठाउदा केवल ३३ हजार टाका (नेपाली रुपैया ४३ हजार) मात्र लाग्ने भए पनि व्यवसायीले दुई लाख टाका (नेपाली रुपैयाँ दुई लाख ६२ हजार)सम्म लिने गरेका थिए । बंगलादेशी कामदार नलिने निर्णयका कारण सन् २०१२ मा केवल एकसय ८२ बंगलादेशी कामदार व्यक्तिगत प्रयासमा मलेसिया पुगेका थिए ।
कम लगानीमा मलेसिया पुग्ने बंगलादेशी कामदारले थोरै तलवमा काम गर्ने भएकोले नेपाली कामदारको माग कम हुने खतरा बढेको छ । नेपालीले मलेसियामा मासिक सरदर २२ हजार कमाउछन् तर, बंगलादेशी कामदारले १५/१६ हजारमै काम गर्छन । सस्तो कामदार भएकोले मलेसियामा बंगलादेशी कामदारको माग बढने निश्चित छ ।
आगामी ६ महिनामा हामीले कम्तिमा ५० हजार कामदार मलेसिया पठाउने छौ, बंगलादेश एसोसिएसन अफ इन्टरनेसनल रिक्रुटिङ्ग एजेन्सिका अध्यक्ष अलि हैदर चौधरीलाई उदृत गर्दै फिनान्सियल एक्प्रेसले लेखेको छ । उनका अनुसार, ३० हजारको सीमा भित्र रहेर बंगलादेशी कामदारको माग आउने छ ।
मलेसियाले सन् २००९ मा बंगलादेशी कामदार लिन बन्द गरेपछि नेपालीको माग बढेको थियो । आर्थिक वर्ष २०६४/६५ मा ३५ हजार ७० नेपाली मलेसिया गएकोमा सो अर्को वर्ष मलेसिया जानेको संख्या एकलाख १३ हजार नौसय ८२ पुगेको थियो । आर्थिक वर्ष २०६७/६८ मा एक लाख पाँंच हजार नौ सय ६ नेपालीलाई मलेसियाले रोजगारी दिएको थियो ।

बिजमाण्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us