काठमाण्डु, १२ भदौ-पूर्वअर्थसचिव रामेश्वर खनाल नेपाली काँग्रेसमा प्रवेश गरेको बिषयमा पूर्वअर्थमन्त्रीद्वय डा बाबुराम भट्टराई र डा रामशरण महतबीच जुहारी चलेको छ । काँग्रेसमा ४१९९५२ नम्बरको सदस्यता लिएका खनाललाई भट्टराईले आफू प्रधानमन्त्री भएका बेला आर्थिक सल्लाहकार नियुक्त गरेका थिए ।
भट्टराईले ट्वीटमा लेखेका छन्,‘मेरो मनपर्ने प्रशासक रामेश्वर खनाल पूरानो,दृष्टिकोणविहीन पार्टी नेपाली काँग्रेसमा प्रवेश गर्नुभएकोमा मलाई दुःख लागेको छ । जे भए पनि उहाँलाई मेरो व्यक्तिगत शुभकामना छ ।’ भट्टराईको ट्वीटबाट आक्रोशित हुदै काँग्रेस नेता महतले ट्वीटमार्फत नै जवाफ दिएका छन् । उनले ट्वीटमा लेखेका छन ‘अति भो लालध्वज जी ! दीर्घकालीन जनयुद्ध,सर्वहारावर्गको अधिनायकत्वदेखि आफैंबाट अस्वीकृत भइसकेको बहुलवादसम्म ।’
खनालले तीन वर्षअघि तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग नक्कली भ्याट बिल प्रकरण र कर्मचारी सरुवा बढुवामा असन्तुष्टि व्यक्त गर्दै अर्थसचिवबाट राजीनामा दिएका थिए । आफूलाई राजनीतिबाट टाढा राखेर समाजसेवामा लाग्ने बताएको तीन वर्ष नबित्दै खनाल काँग्रेसमा प्रवेश गरेका छन । उनले आगामी संविधानसभा निर्वाचनमा पाल्पा १ बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्ने तयारी गरेका छन ।