राष्ट्रिय खेलकुद परिषद्को स्वर्ण महोत्सव मनाइने

काठमाण्डु टुडे २०७० भदौ ११ गते १३:३२ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्थापना भएको ५० वर्ष पूरा भएको उपलक्ष्यमा स्वर्ण वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । Parisadसाताव्यापी कार्यक्रमका लागि कर्मचारी संघले संघकै वरिष्ठ उपाध्यक्ष गंगाराम महर्जनको संयोजकत्वमा २९ सदस्यीय ‘स्वर्ण वार्षिकोत्सव’ आयोजक समिति गठन गरेको छ । साथै ७ सदस्यीय सल्लाहकार समिति र विभिन्न ११ उपसमिति पनि गठन गरिएको छ ।
भदौ १३ देखि १९ गतेसम्म प्रतियोगिता, रक्तदान, प्रभातफेरि, सरसफाई, कर्मचारी सम्मानलगायत कार्यक्रम गरी स्वर्ण उत्सव मनाइने मंगलबार आयोजित पत्रकार सम्मेलनमा राखेप कर्मचारी संघका उपमहासचिव कुमार बस्नेतले बताए ।  भदौ १३ गते पुरुष÷महिलाको ३ किलोमिटर दौड प्रतियोगिता, प्रभातफेरि, तानडोरी प्रतियोगिता र साँझ दीपावली कार्यक्रम हुनेछ । दौड र तानडोरीमा परिषद्का कर्मचारीहरुले मात्र सहभागिता जनाउन पाउनेछन् । भदौं १४ गते हुने रक्तदान कार्यक्रममा कर्मचारीलगायत अन्य इच्छुक सबैले भाग लिन पाउने छन् ।
कार्यक्रमको अन्तिम दिन भदौ १९ मा कर्मचारीलाई सम्मान गरिनेछ । राखेपको कर्मचारी सेवा सर्त नियमावली– २०६८ बमोजिम छनोट भई सर्वोत्कृष्ट हुने दुई कर्मचारीलाई नगद पुरस्कार २५ हजारका दरले सम्मान गरिनेछ । उत्कृष्ट हुने दुई कर्मचारीलाई नगद पुरस्कार १५ हजारका दरले सम्मान गरिनेछ । परिषद् सेवा पुरस्कारका रुपमा दुई  कर्मचारीलाई पनि नगद पुरस्कार १० हजारका दरले सम्मान गरिनेछ । त्यस्तै परिषद्मा २० देखि २४ वर्ष सेवा अवधि पूरा गरेका ३६ जना कर्मचारीहरुलाई ‘परिषद् सेवा सम्मान’ स्वरुप कदरपत्रद्वारा सम्मान गरिनेछ ।

२५ वर्षदेखि माथि सेवा अवधि पूरा गरेका ५१ जना कर्मचारीलाई ‘परिषद् दीर्घ सेवा’ स्वरुप कदरपत्रद्वारा सम्मानित गरिनेछ । केन्द्र, पाँच विकास क्षेत्र र ७५ जिल्लामा समेत गरी कार्यक्रम सञ्चालन गर्न राखेपले १४ लाख ८० हजार रुपैयाँ बजेट उपलब्ध गराएको संयोजक महर्जनले बताए । उनले तयारी अन्तिम चरणमा पुगेको पनि जानकारी गराए ।
स्वास्थ्य तथा खेलकुद परिषद्को गठन २०१५ सालमा भएतापनि २०२१ साल भदौं १३ गते खेलकुद विकास ऐन लागू भइ औपचारिक रुपमा राष्ट्रिय खेलकुद परिषद्को स्थापना भएको थियो । स्थापनाको अवधिमा यसअघि दुईपटक मात्र राखेपले आफ्नो वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको आयोजकले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us