सेना समायोजन अन्तराष्ट्रिय समुदायमा उदाहरणीय

काठमाण्डु टुडे २०७० भदौ १० गते १४:४८ मा प्रकाशित

खिलराज रेग्मी 

khilrajनेपाली सेनाको अधिकृत क्याडेट समायोजन आधार तालीमको समापन तथा आयुक्त पद प्रदान एवं कवाज प्रदर्शन कार्यक्रममा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । विगत नौ महिनाको निरन्तर प्रयास तथा दृढता र लगनशीलताका साथ अधिकृत क्याडेट समायोजन आधार तालीम सफलतापूर्वक सम्पन्न गरी नेपाली सेनाको अधिकृत पदमा आयुक्त हुनुभएका सैनिक अधिकृतहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । साथै, नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रियता र एकतालाई अक्षुण्ण बनाउँदै नेपाली भूमिको रक्षार्थ क्रियाशील नेपाली सेनाको सङ्गठनमा आफूलाई सुम्पिएको जिम्मेवारीमा उच्च मनोबलका साथ सक्रिय रहन हौसला, प्रोत्साहन र प्रेरणा प्राप्त भइरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
नेपाली समाजमा आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरण गर्ने लक्ष्यसहित नेपाली राजनीतिक घटनाक्रममा भएको विगतको एक दशकभन्दा लामो अवधिको सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणसँगै सुरु भएको शान्ति प्रक्रियाको अभिन्न पक्षका रुपमा रहेको सेना समायोजनको सफल अध्यायका रुपमा आजको यस कार्यक्रम रहेको छ भन्ने मलाई लाग्दछ । द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण गरी शान्ति प्रक्रियासंग जोडिएको सेना समायोजनको महत्वपूर्ण कार्य सफलतापूर्वक सम्पन्न हुनु हामी सबैका लागि सन्तोषको विषय हो । सेना समायोजनको कार्यमा शान्ति प्रक्रियाका अग्रज पूर्व प्रधानमन्त्रीज्यूहरु, राजनैतिक पार्टीका नेतागण, सेना समायोजन विशेष समितिका पदाधिकारीहरु, मानवअधिकारवादी, पत्रकार तथा नागरिक समाजले गरेको सहयोग विशेष सराहनीय रहेको छ । आजको यस अवसरमा, समायोजन प्रक्रियामा सहयोग गर्नुहुने उहाँहरु लगायत सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
तत्कालिन ने.क.पा. माओवादी र नेपाल सरकारबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता तथा नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम गठित सेना समायोजन बिशेष समितिमार्फत समायोजन कार्यको प्रारम्भ भएको हामी सबैलाई स्मरण नै छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४६ बमोजिम गठित बिशेष समितिको सिफारीस र २०६९ साल माघमा भएको नेपाल सरकारको निर्णय बमोजिम नेपाली सेनामा तालीमका लागि प्रवेश गर्नुभएका यहाँहरु आज औपचारिक रुपमा नेपाली सेनामा समाहित हुनुभएको छ । विभिन्न समयमा समायोजनको बिषयमा भएका निर्णयहरुको कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्दै “हामी सबै नेपाली र नेपाली सेना सबै नेपालीको” भन्ने भावनात्मक सम्बन्ध र यथार्थतालाई मूर्तरुप दिँदै द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण गरी नेपाली जनताको शान्तिप्रतिको चाहनालाई साकार तुल्याउन यस समारोहले विशेष महत्व राख्दछ भन्ने मलाई लाग्दछ । नेपाली सेना लोकतन्त्र र सामाजिक परिवर्तनलाई समयसापेक्ष रुपमा अंगिकार गर्दै नागरिकको मौलिक हक, अन्तर्राष्ट्रिय मानवीय कानून, मानवअधिकार, विधिको शासन आदि विषयलाई सम्मान गर्दै राष्ट्रको पहरेदारको रुपमा स्थापित रहँदै आएको सर्वविदितै छ । राष्ट्रिय विपत्ति र राष्ट्रिय संकटका समयमा समयले मागेको आवश्यकता अनुरुप आफूलाई परिचालन गरी राष्ट्रको विकास निर्माणका कार्यहरुमा समेत आफ्नो क्षमता प्रदर्शन गर्दै आइरहेको नेपाली सेना सम्पूर्ण नेपालीहरुको साझा सम्पति हो भन्ने युक्तिलाई चरितार्थ पार्दै हरेक क्षेत्र, वर्ग, जाति, धर्म जातिलाई समाहित गर्दै आएको पनि छ । साथै, यस सङ्गठनलाई अझ परिमार्जन र परिस्कृत पार्दै प्रभावकारी रुपमा सञ्चालन गर्दै अघि बढ्नेछ भन्ने मेरो विश्वास रहेको छ ।
नेपाली सेनाले शान्ति प्रक्रियामा प्रत्यक्ष सरोकार राख्ने सेना समायोजन र समायोजित लडाकुलाई तालीम प्रदान गरी कर्मठ, योग्य, अनुशासित र व्यावसायिक सैनिक सदस्यको रुपमा प्रवेश गराउन सफल भएको छ । नेपालको शान्ति प्रक्रिया तथा सेना समायोजन नेपालीहरु आफैले रोजेको र चाहेको एक प्रकारको विशिष्ट अवसर भएकाले नेपालको सेना समायोजन सम्पूर्ण अन्तराष्ट्रिय समुदायमा उदाहरणीय कार्यका रुपमा परिचित पनि छ । वास्तवमा यस प्रक्रियाप्रति सकारात्मक हुँदै आशा, उत्साह र लगनका साथ परिश्रम गरेको प्रतिफलस्वरुप आज नवआयुक्त अधिकृतको रुपमा नेपाली सेनाको सहकर्मी र सहयात्रीका रुपमा यहाँहरुले पद ग्रहण गर्नुभएको छ । अधिकृतको रुपमा समायोजन प्रक्रियामा सहभागी हुनुभएका यहाँहरुलाई नेपाली सेनाको योग्य, क्षमतावान् र व्यावसायिक अधिकृतको रुपमा स्थापित गर्न आज सम्पन्न भएको तालीम महत्वपूर्ण हुनेछ भन्ने आशा एवं विश्वास लिएको छु ।
शान्ति प्रक्रियाको महत्वपूर्ण चरणका रुपमा सेना समायोजनको कार्य सम्पन्न भइसकेको वर्तमान अवस्थामा शान्ति प्रक्रियाको मौलिक पक्षका रुपमा रहेको संविधान निर्माणको कार्य अहिले हाम्रो सबैभन्दा प्राथमिकता बनेको छ । वास्तवमा वर्तमान सरकार संविधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा अधिकाधिक जनसहभागितासहित सम्पन्न गराउने योजनार्थ निर्माण भएको हो भन्ने मैले सँधै भन्दै आएको छु । तसर्थ, शान्ति प्रक्रियाको अर्को अध्यायका रुपमा रहेको संविधान निर्माणलाई साकार तुल्याउन संविधानसभाको गठन आवश्यक भएकाले आगामी मंसिर ४ गतेका लागि निर्धारित संविधानसभा निर्वाचन सफल तुल्याउन अत्यावश्यक छ । आजको यस अवसरमा, निर्वाचनलाई सफल तुल्याउन आ–आफ्नो रचनात्मक भूमिका जारी राख्न म सबैसँग अनुरोध गर्दछु ।
अन्त्यमा, यस तालीमका क्रममा यहाँहरुले सिकेका र जानेका विषयहरुलाई राष्ट्र र जनताको सेवा र सुरक्षामा सदैव केन्द्रित गर्दै क्रियाशील रहन सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु । साथै, शान्ति सम्झौतालाई परिणाममुखी बनाउन तथा राष्ट्रप्रतिको गहन जिम्मेवारीलाई साकार तुल्याई सकारात्मक सोच, निष्पक्षता र व्यावसायिक मर्यादा कायम गर्दै समायोजन प्रकृया सम्पन्न भएको यस अवसरमा यस कार्यमा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाली सेनामा प्रवेश गरी देश र जनताको सुरक्षा तथा मातृभूमिको सेवामा आफ्नो सीप, क्षमता र लगाव समर्पण गर्न तयार रहने यहाँहरुलाई देशमा विद्यमान परिस्थितिमा समायोजन प्रकृयामा समाहित हुन अभिप्रेरित गर्ने अभिभावक, ईष्टमित्र तथा नातेदारहरु सबैप्रति धन्यवाद व्यक्त गर्दछु । नेपाली सैनिक प्रतिष्ठानको आदर्श वाक्य “ज्ञान सेवा नेतृत्व” अनुरुप प्रशिक्षण दिई नेपाली सेनाको सुयोग्य एवं अनुशासित अधिकृतहरु उत्पादन गर्नुभएकोमा नेपाली सेनाका प्रधानसेनापति लगायत सम्पूर्ण नेपाली सेना तथा समायोजन समन्वय कार्यालयका पदाधिकारीहरु र यस तालीममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने नेपाली सैनिक प्रतिष्ठानका कमाण्डाण्ट, शिक्षकवर्ग तथा बौद्धिक ज्ञान अभिवृद्धि गर्दै अध्यापनतर्फ निरन्तर रुपमा योगदान गर्ने डिन, प्रोफेसरहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आजको यस समारोह सफल तुल्याउन यहाँ उपस्थित हुनुभएका आमन्त्रित सबै पाहुनाहरुलाई हार्दिक धन्यवाद दिँदै बिदा हुन चाहन्छु । धन्यवाद ।
२०७० भाद्र १० गते, सोमबार
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपाली सेनाद्वारा आयोजित अधिकृत क्याडेट समायोजन आधार तालीमका अवसरमा गरेको सम्बोधन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us