नेपालका ३ बडिबिल्डर भियतनाम प्रस्थान

काठमाण्डु टुडे २०७० भदौ १० गते ७:५५ मा प्रकाशित

काठमाण्डु, १० भदौ– सत्चालिऔँ एसियाली शारीरिक सुगठन (बडी विल्डिङ) प्रतियोगितामा भाग लिन ३ नेपाली राष्ट्रिय खेलाडी सोमबार भियतनामको होचिमिन्ह प्रस्थान गरेका छन् । रामबहादुर दाहाल, सञ्जीवकुमार श्रेष्ठ र रामेश्वर महर्जन भियतनाम गएका हुन् ।

यही भदौ ११ देखि १७ गतेसम्म हुने प्रतियोगितामा दाहालले ६० केजी तथा श्रेष्ठ र महर्जनले ६५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीमा व्यवस्थापक तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका सदस्य मोहनकृष्ण श्रेष्ठ र संघका प्रथम उपाध्यक्ष एवम् अन्तर्राष्ट्रिय निर्णायक विजयलाल कायस्थ पनि टोलीमा सहभागी छन् ।

मिस्टर हिमालयको उपाधिसमेत हासिल गरेका दाहालले पञ्जावमा भएको दक्षिण एसियाली बडी विल्डिङ च्याम्पियनसिपको ६५ केजी तौल समूहमा रजत र हङकङमा भएको हङकङ बडी विल्डिङ च्याम्पियनसिपमा रजत प्राप्त गरेका थिए । अर्का खेलाडी श्रेष्ठले भुटानमा सम्पन्न दक्षिण एसियाली बडी विल्डिङको ७० केजीमा कास्य जितेका थिए ।

यसअघि भएको ४६ औँ एसियाली शारीरिक सुगठनको ५५ केजीमा सुजन लामाले नेपाललाई कास्य पदक दिलाएका थिए । लामाले जितेको पदकनै नेपालले एसियाली च्याम्पियनसिपमा हात पारेको अहिलेसम्मकै ठूलो उपलब्धि हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us