गोलमेच सम्मेलनको सहमति भंग

काठमाण्डु टुडे २०७० भदौ ६ गते २:२६ मा प्रकाशित

Round Table 2काठमाण्डु, ८ भदौ– उच्चस्तरिय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच गोलमेच सम्मेलन गर्न दुई दिन अघि भएको सहमति भंग भएको छ । मोर्चाका सबै माग गोलमेच सम्मेलनमा छलफल गर्ने यसअघि नै सहमति भए पनि मोर्चाले थप पाँच बुँदे सर्त राखेपछि गोलमेच सम्मेलनको सहमति भंग भएको हो ।

गत विहीबार उच्चस्तरीय समिति र मोर्चाबीच गोलमेच सम्मेलन गर्ने र असन्तुष्ट दलका सबै माग त्यसमै छलफल गर्ने औपचारिक सहमति भएको थियो । त्यसको दुई दिनपछि शनिबार फेरि मोर्चाले पाँच बुँदे सर्त अघि सारेको हो । उसले अधिकार सम्पन्न गोलमेच सम्मेलन, निर्वाचनको मिति परिवर्तन, वर्तमान सरकार विघटन, दलिय सरकार गठन, संविधानका अन्तरवस्तुमा पहिले नै सहमति लगायत सर्त पेश गरेको थियो ।

 

सहमति भंग हुनुको दोष एकअर्का माथि

समितिको सचिवालय नयाँबानेश्वरमा भएको वार्तापछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली जनताको चाहना विपरित चुनाव विथोल्ने गरी मोर्चाले सर्त राखेकाले त्यसलाई अस्वीकार गरेको बताए । ‘मोर्चाका प्रस्ताव राष्ट्रिय सहमति र निर्वाचनको भावना विपरित छ,’ अध्यक्ष खनालले भने, ‘त्यसलाई स्वीकार्न कदापी सकिदैन ।’

नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मोर्चाको प्रस्तावमा चुनावमा जाने आशय नै नदेखिएकाले सहमति हुन नसकेको बताए । उनले चुनावमा जाने आसयका साथ फेरी वार्तामा आए ढोका सँधै खुल्ला रहेको स्पष्ट पारे । ‘मोर्चा वार्तामा आउँछ भने ढोका खुल्ला रहन्छ, आउँदैन भने चुनावकालागि पर्खिन सकिदैन,’ महतले भने ।

मोर्चाले भने आफूहरु लचिलो भएर प्रस्तुत हुदाँ समेत उच्चस्तरीय समितिले वार्ता भाँड्ने काम गरेको आरोप लगाएको छ । वार्तामा सहभागि नेकपा–माओवादीका सचिव देव गुरुङले भने, ‘आफूहरुको प्रस्ताव अस्वीकार गरेर पाँच राजनीतिक शक्तिले ईतिहासमै अर्को ठूलो गल्ती गरेका छन् ।’ वार्ता असफल भएकाले अब आन्दोलनमा जाने उनले प्रतिकृया दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us