सरकारले देशलाई समृद्धि र जनतालाई खुसी दिइरहेको छः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०७७ फागुन २१ गते १०:५१ मा प्रकाशित

काठमाण्डु, २१ फागुन– प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारले देशलाई समृद्धि र जनतालाई सुख दिँदै अघि बढेको दाबी गरेका छन् ।

सुखानी स्मृति दिवसका अवसरमा शुक्रबार एक सन्देश जारी गर्दै ओलीलेसमृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियान जारी रहेको बताएका हुन् । शहीदका सपना साकार पार्न सरकार प्रतिबद्ध रहेको ओलीको भनाइ थियो । ओलीले सरकारले जनताले जीवनमा परिवर्तन ल्याउने काम गरिरहेको बताए ।

सरकारका सामु विद्यमान अवरोध छिचोल्दै स्वाधीनता, अखण्डता र स्वाभिमानका लागि सरकारले काम गररहेको दाबी उनले गरेका छन् । ओलीले झापा आन्दोलनको जगमा नेपालमा गणतन्त्र स्थापना भएको उल्लेख गरे । ‘कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालमा सैद्धान्तिक रुपमा राखेको गणतन्त्रको मागलाई जनस्तरमा विस्तार गर्दै विभाजित कम्युनिष्ट आन्दोलनलाई सवल बनाउन झापा आन्दोलन एउटा गौरवपूर्ण प्रस्थान बिन्दु थियो,’ ओलीले भनेका छन् ।

झापाको तत्कालिन खुदुनाबारी गाविस र हालको अर्जुनधारा नगरपालिकास्थित सुखानीमा २०२९ साल फागुन २१ गते झापा आन्दोलनका अगुवालाई प्रहरीले गोली हानेर हत्या गरेको दिनलाई कम्युनिष्टहरुले सुखानी स्मृति दिवसका रुपमा स्मरण गर्दै आएका छन् । त्यस क्रममा पञ्चायती व्यवस्थाले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई हत्या गरेको थियो ।

उनीहरु सबैलाई २०२९ साल कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो । झापाबाट इलाम कारागार सार्ने बहानामा पाँच कम्युनिष्ट नेताको सुखानी जंगलमा गोली हानेर हत्या गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us