निर्वाचन आयोगको निर्णयः नेकपा विभाजन हुन सक्दैन

काठमाण्डु टुडे २०७७ माघ ११ गते २१:५८ मा प्रकाशित

काठमाण्डु, ११ माघ– निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन रोकेको छ ।

आयोगले नेकपाको प्रचण्ड–माधव नेपाल र केपी ओली दुवै समूहले पछिल्लोपटक गरेका हेरफेर अमान्य भएको निर्णय गरेको छ । आयोगको आइतबारको बैठकले विवादपछि गरिएका हेरफेर अमान्य हुने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रचण्ड समूहले ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको थियो । यस्तै ओली समूहका करिब सय केन्द्रीय सदस्यले ११ सय बढी संख्यामा केन्द्रीय समिति विस्तारको निर्णय गरेको थियो ।

पहिलो अध्यक्ष र महासचिव आफूसँग रहेकाले थपि गरिएको संख्यालाई वैधता दिनुपर्ने माग ओली समूहको थियो । ‘दुवै समूहको माग दाबी कानूनअनुसार देखिएन’, श्रेष्ठले भने, ‘साविकमा जे थियो त्यसलाई मात्र आयोगले मान्यता दिन सक्छ ।’ श्रेष्ठले निर्णयबारे सोमबार दुवै पक्षलाई लिखित जानकारी गराइने बताए । प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो । प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाइसकेको छ ।

साधारण सदस्यसमेत नरहने गरी हटाउने प्रक्रियाका लागि ओलीसँग स्पष्टीकरण सोकिएको छ । ओली पक्षले भने प्रचण्डलाई अध्यक्षमै राखेर कार्यकारी अधिकार मात्र खोसिएको जानएको छ । यस्तै नारायणकाजी श्रेष्ठको प्रवक्ताको जिम्मेवारी खोसेको छ । आयोगको निर्णयले दुवै नेकपा सामु अन्यौल उत्पन्न भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us