वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणबाट ६०० भन्दा बढीको निधन

काठमाण्डु टुडे २०७७ मंसिर ५ गते १६:३९ मा प्रकाशित

वाग्मती, ५ मङ्सिर- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौँडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ ।

वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा पुरुषोत्तम सेढाईंका अनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उनको भनाइ छ ।

प्रवक्ता डा सेढाईंका अनुसार मुलुकको कूल कोरोना सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा ५० प्रतिशत रहेको छ । कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको विषयलाई पालना गर्नुपर्ने उनको भनाइ छ ।

यसैबीच हेटौँडा उपमहानगरपालिका–५ का ६४ वर्षीया एक महिलाको कोरोना सङ्क्रमणबाट आज आफ्नै घरमा मृत्यु भएको बताइएको छ । उनलाई कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो । शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ ।-रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us