सेल्फ क्वारेन्टाइनमा रोनाल्डो

काठमाण्डु टुडे २०७६ फागुन ३० गते १८:२३ मा प्रकाशित

एजेन्सी–विश्वविख्यात फुटबलर रोनाल्डो अहिले कोरोनाको डरले क्वारेन्टाइनमा बसिरहेका छन् । आफ्नो टिमका एक साथीलाई कोभिड १९ पुष्टि भएपछि उनी पनि डराएर क्वारेन्टाइनमा बसेका हुन् ।

रोनाल्डोले आइतबार जुभेन्टसका लागि खेलेका थिए । कोरोना भाइरसले इटली आक्रान्त बनिरहँदा खाली रंगशालामा सो म्याच भएको थियो ।

बुधबार जुभेन्टसका खेलाडी डेनिल रोगानीलाई कोरोना सक्रमण पुष्टि भयो । त्यसअघि उनले टिमका साथीहरुसँग सामुहिक फोटो खिचाएका थिए, जसमा रोनाल्डो सर्टलेस देखिएका छन् ।

डेनिललाई संक्रमण भएको सार्वजनिक हुँदा रोनाल्डो आफ्नी बिरामी आमालाई भेट्न पोर्चुगल पुगेका थिए । त्यहाँ उक्त खबर सुनेपछि रोनाल्डोले आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका हुन् । आफू पूर्णरुपमा खतरामुक्त भएपछि मात्रै इटली फर्किने उनले बताएका छन् ।

जुभेन्टसले आफ्नो वेवसाइटमा रोगानीलाई संक्रमण भएको बुधबार जानकारी दिएको छ । उसको विज्ञप्तिमा भनिएको छ, ‘जुभेन्टस क्लवले कानून बमोजिम आवश्यक सबै प्रक्रियाहरु अबलम्बन गरेर उनलाई आइसोलेसनमा राखिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
जुभेन्टसले नियमित ट्रेनिङ जारी राखे पनि पछिल्ला दुई दिन रोगानी त्यसमा सहभागी छैनन् । इटलीमा अहिले कोरोनाको प्रकोपले गर्दा सिंगै देशलाई ‘लकडाउन’ गरिएको छ । सबै फुटबल प्रतियोगिताहरु स्थगित गरिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us